Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

काेराेना त्रास : भारतीय सीमा क्षेत्रका नाकामा कडाइ 

काेराेना त्रास : भारतीय सीमा क्षेत्रका नाकामा कडाइ 

  • 490
    SHARES
  • काेराेना त्रास : भारतीय सीमा क्षेत्रका नाकामा कडाइ 

    धनुषा । भारतमा कोरोना भाइरस संक्रमण तीव्र गतिमा बढेसँगै त्यसको असर प्रदेश २ का जिल्लामा पनि देखिन थालेको छ । गत मंसिरको अन्तिम सातासम्म प्रदेश २ मा स्थिर देखिएको कोरोना भाइरस संक्रमितको संख्या बिस्तारै बढ्दै जाँदा जोखिम बढेको हो ।

    यस प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २ दिनमा ९९ जनाको स्वाब परीक्षण गर्दा १६ जनाको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालय सपही धनुषाले जनाएको छ ।

    यस क्षेत्रमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेसँगै प्रदेश २ का जिल्लाहरू भारतसँग सीमा जोडिएका नाकामा कडाइ गरिएको छ । छिमेकी राष्ट्र भारतमा दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिएपछि त्यसको असर नेपालमा पर्नसक्ने भन्दै सुरक्षा निकायले सीमानाकामा कडाइ गरेको छ ।

    सशस्त्र प्रहरी बल प्रदेश-२ का प्रमुख गणेश ठाडा मगरले प्रत्येक नाकामा हेल्प डेक्स राखेर एन्टिजेनलगायतका प्रविधिबाट कोरोना पहिचान गर्ने र पोजेटिभ देखिए तत्काल स्वास्थ्य चौकीमा पठाइने गरिएको जानकारी दिए ।

    महोत्तरीको जलेश्वर भिठ्ठामोड, पर्साको वीरगञ्ज, रौतहटको गौर, सिरहाको माडर र औरहीस्थित नाकामा हेल्पडेस्क स्थापना गरी भारतबाट आउनेको स्वास्थ्य परीक्षण गर्न सुरु गरिसकेको छ ।

    प्रहरीकै सक्रियतामा स्थानीय सरकार र प्रमुख जिल्ला अधिकारीको सहजीकरणमा पालिकामा पनि हेल्पडेस्क सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । प्रदेश २ को बारा बाहेकका सबै जिल्लामा भन्सार कार्यालय छन् भने करिब ४६४ किलोमिटरमा भारतसँग खुला सीमा जोडिएको छ ।

    प्रदेश २ का कतिपय स्थानीय तहले सुरक्षा निकायसँग सहजीकरण नगर्दा सुरक्षा अवस्था फितलो रहेको सशस्त्र प्रहरी बलको प्रदेश कार्यालयले जनाएको छ । ओमिक्रोन भाइरसको जोखिम बढ्नुका साथै संक्रमितको संख्यामा दैनिक वृद्धि हुनुले जनकपुरधाम लगायतका प्रदेश २ का अधिकांश नाका कोरोनाको ‘हटस्पट’ बन्न सक्ने चिकित्सकले बताएका छन् ।

    मुलुकको सबैभन्दा धेरै भन्सार कार्यालय र खुला नाका प्रदेश २ मा रहेका छन् । यस प्रदेशको ८ वटा जिल्लामा ३३ वटा भन्सार कार्यालय, ४१४ किमी मुख्य सडक, २२९ किमी मोटर बाटो र करिब ५५७ स्थानका गल्लीबाट नेपाल-भारत आवतजावत हुने गरेको छ । यी स्थानबाट मानिसको सहजै र बाक्लो आवतजावत हुने भएपछि सम्बन्धित निकायबाट कडा निगरानी हुनुपर्ने अवस्था देखिएको छ ।

    प्रदेश २ को प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय झाका अनुसार पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै जानु खतराको सङ्केत भएको बताएका छन् । लापरवाही गरे अवस्था अझै बिग्रन सक्ने झाको भनाइ छ । यता कोरोना संक्रमणको ग्राफ बढ्दै गए पनि प्रदेश २ मा कोभिड-१९ विरूद्धको खोप लगाउनेको संख्या भने बढेको छैन ।

    सरकारले २०७८ पुस मसान्तभित्र ६६ प्रतिशत नागरिकलाई कोभिड-१९ विरूद्धको खोप लगाउने लक्ष्य लिएकामा पुसको अन्तिम साता बित्नै लाग्दा प्रदेश २ मा ३८ प्रतिशतले मात्र खोप लगाएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशक झाले पुस महिना बित्नै लाग्दा यस प्रदेशमा पूर्ण डोज लगाउनेको संख्या ३८ प्रतिशत मात्र भएको बताए ।

    उनका अनुसार एक मात्र डोज खोप लगाउनेको संख्या सर्लाहीमा ६८, बारामा ६४, सिराहा र महोत्तरीमा ६२, धनुषामा ५४, पर्सामा ५१, सप्तरीमा ५० र रौतहटमा ३९ प्रतिशत रहेको छ । पुस महिनाभित्र ६६ प्रतिशतलाई खोप लगाइसक्ने सरकारको लक्ष्य पूरा गर्न दैनिक १ लाख २९ हजार ३४२ जनालाई खोप लगाउनुपर्नेमा अहिले यस प्रदेशमा दैनिक २२ हजार ३४६ जनालाई मात्र खोप लगाइरहेको निर्देशक झाले जानकारी दिए ।

    स्थानीय तहका जनप्रतिनिधिले गम्भीरतापूर्वक नलिएका कारण खोप लगाउनेको संख्या नबढेको निर्देशक झाको भनाइ छ । कोरोना भाइरस संक्रमण सुरु भएयता हालसम्म प्रदेश २ मा १ हजार ४० जनाले ज्यान गुमाइसकेका छन्  भने  यो प्रदेशमा २ लाख २३ हजार २१३ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा ३८ हजार ६७९ जना संक्रमित भएका छन् । त्यसमध्ये ३७ हजार ५६९ निको भएर घर फर्किसकेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    सम्भावित तेस्रो लहरबाट प्रदेशका नागरिकलाई जोगाउने तयारीमा प्रदेश सरकार जुटेको छ । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न खोपलाई प्राथमिकता दिनुपर्ने र कोरोना फैलिन नदिन स्वास्थ्य सतर्कता अपनाउनुपर्ने सोचका साथ प्रदेश सरकार अघि बढेको प्रदेश २ का सामाजिक विकासमन्त्री नवकिशोर साहले बताए ।

    उनका अनुसार त्यस प्रदेशमा खोप लगाउनेको संख्या कम भएकाले  जिल्लाका स्वास्थ्य कार्यालय प्रमुखलाई तत्काल खोप लगाउने कार्यलाई गति दिन निर्देशन दिएको जानकारी दिए ।

    केही दिनअघि मात्र यस प्रदेशका मुख्यमन्त्रीको उपस्थितिमा बसेको प्रदेश सरकारका मन्त्री, आठवटै जिल्लाका प्रजिअ, जिल्ला स्वास्थ्य प्रमुखको बैठकमा पनि तत्काल खोप लगाउने कामलाई अघि बढाउने निर्णयसमेत भएको मन्त्री साहको भनाइ छ ।

    यसबाहेक कोरोनाको तेस्रो लहर आउनसक्ने जोखिमलाई दृष्टिगत गरी आठवटै जिल्लामा स्वास्थ्य सतर्कता बढाइएको बताइएको छ । ‘प्रदेशभरिका सबै अस्पताललाई औषधिसहित अक्सिजनलगायत स्वास्थ्य सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ’, मन्त्री साहले भने, ‘सम्भावित तेस्रो लहर आउन नदिन अपनाउनुपर्ने सतर्कताबारे प्रजिअ र स्थानीय तहका जनप्रतिनिधिसँग नियमित समन्वय भइरहेको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij