वेबटिभी खबर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरेर सेवा प्रवाह गर्न निर्देशन दिएको छ ।
केन्द्रीय बैंकले सोमबार सूचना जारी गर्दै कोरोना भाइरस नयाँ स्वरूपमा फैलिदै गएको र सेवा प्रवाह गर्दा यस जोखिमलाई न्यूनीकरण गर्न आवश्यक स्वास्थ्य सतर्कता अपनाउन निर्देशन दिएको हो ।
बैंक तथा वित्तीय संस्थाले सेवा प्रदान गर्दा नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गर्न राष्ट्र बैंकले भनेकाे छ ।
वित्तीय सेवा प्रवाहमा गर्दा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीलाई संक्रमण हुन नदिने गरी आवश्यक उपायहरू अबलम्बन गर्न राष्ट्र बैंकले सुझाएको छ ।
यस्तै राष्ट्र बैंकले सेवाग्राहीकाे भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाउन, बैंक तथा वित्तयि संस्थाद्वारा सञ्चालित एटिएम बुथहरूबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर लगायतका समाग्रीको व्यवस्था गर्न र बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिमजस्ता कार्यक्रमहरूमा भौतिक दूरी सुनिश्चित गर्न वा यस्ता कार्याक्रम सकभर भर्चुअल माध्यमबाट गर्न निर्देशन दिएको छ ।

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij