वेबटिभी खबर
काठमाडौं । छिमेकी मुलुक भारतमा पछिल्लो पाँच दिनयता कोरोना भाइरसबाट संक्रमित करिब ८ लाख नयाँ बिरामी थपिए । भारतमा संक्रमित बढेको केही दिनमै नेपालमा पनि बढ्ने गरेको पहिलो र कोरोनाकाे दोस्रो लहरका बेला प्रमाणित भइसकेको छ । नभन्दै यो पटक पनि भारतमा बढ्न थालेलगत्तै नेपालमा पनि दैनिक संक्रमित दर उकालो लाग्दै गएको छ ।
पाँचदिन अघि भारतमा पहिलो पटक एकैदिन संक्रमितको संख्या एक लाख नाघ्दा नेपालका सरकारी अधिकारीलाई त्यसले खासै छोएको देखिएन । दोस्रो दिन र तेस्रो दिन लगातार भारतमा संक्रमितको संख्या झन्-झन् बढ्दै गएपछि आइतबार मात्र नेपालमा सीसीएमसीको बैठक बसेर सतर्कताका लागि सरकारसमक्ष १३ बुँदे सिफारिस गर्यो । भारतमा विगत दुई सातायता लगातार संक्रमितको संख्या बढ्दै गएको हो । दैनिक संक्रमित ५ हजार आसपास पुगेको भारतमा एकाएक वृद्धि हुँदा नेपालमा भने त्यसको रोकथामका लागि कुनै तयारी गरिएन ।
अहिले नेपालमा पनि केही दिनयता संक्रमितको संख्या त्रासपूर्ण ढंगले उकालो लागेको छ । ‘अब कोरोना बढ्न लाग्यो’ भन्ने संकेत बुझेर त्यसको रोकथामका लागि ‘प्रो एक्टिभ’ भएर लाग्नुपर्ने स्वास्थ्य मन्त्रालय र सरकार विगतमा झै अहिले पनि हतारमा देखिँदैन् । दैनिक संक्रमितको डरलाग्दो संख्या, बिरामीले भरिभराउ अस्पताल, अक्सिजनको अभाव हुन थालेपछि मात्र तात्ने हो भने निकै ठूलो नोक्सान भइसक्छ । कमजोर स्वास्थ्य सेवा उपलब्ध भएको देशले संक्रमण व्यापक हुनु अघि नै रोकथाममा ध्यान दिनु देशवासीको हितमा हुन्छ ।
रात्रिकालिन डिस्को बार, भिडभाड हुने ठूला मलहरू, रेष्टुरेन्ट, खचाखच भरिएका सार्वजनिक सवारी निर्वाध सञ्चालनमा छन् । सोमबार नेपालमा १४ सय ४६ संक्रमित थपिए । यो नतिजा १२ हजारभन्दा कमको नमुना परीक्षण गर्दाको हो । परीक्षण बढाउने हो भने संक्रमितको संख्या बढ्ने निश्चित छ । कोरोनाका संक्रमण भएका बिरामी परीक्षण नगराई घरमै बसेका छन् । परीक्षण गराउने झण्झटिलो प्रक्रियाका कारण धेरैले जँचाउन मान्दैनन् ।
किन फैलिरहेकाे छ काेराेना संक्रमण ? डाक्टरहरू यसाे भन्छन्
अहिले गरिएका परीक्षणको नतिजामध्ये सबैभन्दा बढी काठमाडौंमा कोरोना संक्रमणको त्रास देखिएको छ । सोमबार थपिएका नयाँ संक्रमितमध्ये आधाभन्दा बढी ८७६ जना काठमाडौं उपत्यकाका थिए । भिडभाड हुने काठमाडौंमा जनस्वास्थ्यका मापदण्डको पालनामा खासै कडाइ देखिएको छैन । आम सर्वसाधारणले मास्क लगाए पनि सरकारी तहबाट भिड कम हुने उपायका लागि भने केही काम भएको देखिएको छैन ।
हालै भित्रिएको कोरोनाको ओमिक्रोन भाइरस छिटै सर्ने भएकाले सावधानी अपनाउन विश्व स्वास्थ्य संगठनले निरन्तर आग्रह गर्दै आएको छ । स्वास्थ्य मन्त्रालयले पनि ओमिक्रोनको असरबाट बच्नका लागि अपनाउनु पर्ने स्वास्थ्य सतर्कताबारे सार्वजनिक अपिल गर्दै आएको छ । विगतका अनुभवका आधारमा सरकारले भने कोरोनाको कहरबाट बच्ने उपाय अवलम्बन गर्न ढिलाइ गरेको छ ।
विद्यालय बन्द गर्ने निर्णय भए पनि कोरोना सर्नसक्ने अन्य स्थानमा भने अझै पनि सरकारले कडाई गर्न सकेको छैन् । भिडभाड हुने सबै स्थानमा कडाइ नगरे विद्यालय बन्दले मात्र कोरोनाको बेग रोक्न सम्भव छैन । भिडभाड हुने बजार, सपिङ मलहरूमा पनि जनस्वास्थ्यका मापदण्डको पालनामा कडाइ हुनु जरूरी छ ।
त्यसैगरी ‘पिक आवर’ (बिहान नौ बजेदेखि ११ बजेसम्म र बेलुका चार बजेदेखि साँढे ६ बजेसम्म) सार्वजनिक सवारीमा यात्रू कोचिएर चढेको देखिन्छ । यसरी भिडभाड हुन दिँदा कोरोना रोकथाम गर्ने सरकारी उदेश्य सफल हुन बाधा पर्छ ।
अहिलको जटिल अवस्थासँग जुध्न सरकारले कोरोनाविरूद्धको खोप लगाउने दर ह्वात्तै बढाउने, भिडभाड हुन नदिन आवश्यक आदेशहरू जारी गर्ने, जनजीवनलाई सहज राख्दै अनावश्यक भिड रोक्ने उपायको खोजी गरेर कार्यान्वयन गर्ने, सीमा नाका र अन्तराष्ट्रिय विमानास्थलमा निगरानी बढाउने, आवश्यक ठाउँमा निशुल्क मास्कको व्यवस्था गर्नेलगायतका काम गर्नुपर्ने देखिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij