काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा आइतबार पाटेबाघको आक्रमणबाट एक माउतेको मृत्यु भएको छ । बाघको आक्रमणमा परी हात्तीसारका कर्मचारी ३१ वर्षीय माहुते पुलिसराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माउते चौधरी आइतबार दिउँसो निकुञ्जभित्रको गैँडा मचान नजिकै गणनामा सहभागी थिए । त्यसपछि हात्तीलाई नुहाउन र घाँस काट्न चाौधरीसहित २ जना निस्किएका थिए । अर्का कर्मचारी हात्तीलाई नुहाउन व्यस्त भएपछि उनी नजिकै जंगलतिर छिरेका थिए । त्यही क्रममा चौधरी बाघको आक्रमणमा परेका हुन् ।
चौधरी चिच्याएको आवाज सुनेपछि अर्का कर्मचारी घटनास्थल पुगी हेर्दा उनलाई बाघले घिसारिरहेको देखेका थिए । त्यसपछि उनले निकुञ्ज तथा सेनाको टोलीलाई खबर गरेका थिए । निकुञ्जको प्राविधिक र सेनाको टोलीले खोजी गर्दा राति ८ बजेपछि मात्रै चौधरीको शव भेट्टाएको थियो ।
उक्त नरभक्षी बाघलाई राति नै डाट गरी नियन्त्रणमा लिइएको जानकारी निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णुप्रसाद श्रेष्ठले दिए । चौधरीको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइने श्रेष्ठले बताए ।
घाइते गणकको उपचारमा मन्त्री आलेद्वारा सहयोग
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले गैँडा गणनाका क्रममा गत चैत २० मा ध्रुवे नामक जङ्गली हात्तीले लखेटेपछि खसेर गम्भीर घाइते भएका राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठको उपचारमा व्यक्तिगत रुपमा १ लाख रुपैयाँ उपचार खर्च प्रदान गरेका छन् ।
घाइते श्रेष्ठको उपचार भइरहेको काठमाडौंको ह्याम्स अस्पतालमा पुगेर मन्त्री आलेले उक्त रकम प्रदान गरेका उनका स्वकीय सचिव रविन ज्ञालनले जानकारी दिए । श्रेष्ठको सम्पूर्ण उपचार खर्च मन्त्रालयले व्यहोर्नेसमेत मन्त्री आलेले बताएका छन् ।
मन्त्रीसँग वन्यजन्तु तथा राष्ट्रिय निकुञ्जका महानिर्देशक डा. दीपक खराल, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीलगायतको टोली पनि घाइते श्रेष्ठ भेट्न अस्पताल पुगेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij