मिलन दाहाल
फाइल तस्बिर
काठमाडौं । शिक्षा मन्त्रालयले विवाद समाधानको लागि मध्यस्थता गरे पनि मुख्य माग सम्बोधन नहुँदा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस प्रथम वर्ष अध्ययरत विद्यार्थीहरू करिब एक महिनादेखि आन्दोलनमा छन् ।
अध्ययन अवधिभर केएमसीले करिब २० लाख रूपैयाँ र नोबेल कलेजले करिब १५ लाख रूपैयाँ अतिरिक्त माग गरेको भन्दै विद्यार्थीहरूले आन्दोलन गरिहको छन् ।
केएमसी सञ्चालक सुनील शर्माले अतिरिक्त शुल्क लिएरै छाड्ने अडान लिएपछि विद्यार्थीहरूले पनि अतिरिक्त शुल्क नतिर्ने अडान लिएका छन् । चिकित्सा शिक्षा आयोगले गत पुस ५ गते नै विज्ञप्ति जारी गरेर होस्टल बस्ने वा नबस्ने निर्णय विद्यार्थी स्वयंमको अधिकार रहको भन्दै सूचना जारी गर्दा पनि सञ्चालक शर्माले भने एमबीबीएस अध्ययन अन्य विषयजस्तो नहुने भएकाले होस्टेल अनिवार्य बस्नुपर्ने बताउँदै आएका छन् ।
शिक्षा मन्त्रालयमा शुक्रबार भएको छलफलमा पनि सञ्चालक शर्माले विद्यार्थीहरू होस्टलमा अनिवार्य बस्नुपर्ने धारणा राखेका थिए । कलेजले होस्टल अनिवार्य गर्ने र विद्यार्थीहरूबाट चर्काे शुल्क असुल्ने नियत राखेपछि विद्यार्थीहरूले विरोध गरेका हुन् । विवाद समासधानको लागि विभिन्न निकायसँग बारम्बार छलफल गरेका विद्यार्थीहरू र मेडिकल कलेज सञ्चालकले गत शुक्रबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा मन्त्रालयमा छलफल गरेका थिए ।
छलफलबाट मन्त्रालयले निकालेको निष्कर्षको बुँदा ‘ख’ मा ‘विद्यार्थीहरूको सहज र अनुकूल वातावरणमा सिक्ने अवसर सुनिश्चित गर्ने दायित्व मनन गरी विद्यार्थीहरूको छात्रावाससम्बन्धी समस्यालाई सम्बन्धित शिक्षण संस्था तथा अभिभाव एवम् विद्यार्थीहरूबीच आपसी छलफल गरी सहमतिमा निरूपण गर्ने र यस कार्यमा सम्बन्धित विश्वविद्यालयले सहजीकरण गर्ने,’ उल्लेख छ ।
शिक्षा मन्त्रालयले विद्यार्थी अभिभावक र कलेजबीच आवश्यक सहमतिमा समस्या समाधान गर्ने उल्लेख गरे पनि कलेज प्रशासनले छलफलका लागि अहिलेसम्म नबोलाएको केएमसीमा एमबीबीएस अध्ययनरत एक विद्यार्थीले बताए । उनले भने ‘छात्रावासको शुल्क विवाद समाधानका लागि कलेजले हामीलाई बोलाएको छैन र हाम्रो आन्दोलन पनि रोकिएको छैन ।’
विवाद समधानको नहुन्जेलसम्म आन्दोलन जारी रहने उनले बताए । उनका अनुसार अहिले पनि केएमसीले अतिरिक्त शुल्क तिरेका केही विद्यार्थीहरूलाई मात्र राखेर अनलाइन कक्षा सञ्चालन गरिहेको छ । छात्रावास बापत कलेजले प्रति विद्यार्थीबाट मासिक २४ हजार रूयैयाँ माग गरेपछि विद्यार्थीहरूले त्यसमा विरोध जनाएका हुन् । ६ हजार रूपैयाँमा कोठा भाडामा पाइने भएपनि कलेजले विद्यार्थीबाट झन्डै तीन गुना बढी शुल्क माग गरेको विद्यार्थीहरूको भनाइ छ ।
कोरोना संक्रमण बढ्दै गएकाले हाल अनशनमा नबसेपनि आफ्नो आन्दोलन भने जारी रहेको केएमसी मेडिकल कलेजका विद्यार्थीले बताए । त्यस्तै नोबेल मेडिकल कलेजका विद्यार्थीहरूले पनि आन्दोलन जारी रहेको जनाएका छन् । नोबेल मेडिकल कलेजका एक विद्यार्थीले अहिले पनि विद्यार्थीहरू अनशनमा रहेको बताए ।
नोबेलको चलाखी चार जना अभिभावकसँग शुल्क विवादमा उजुरी गर्न नपाउने गरी सहमति
नोबेल कलेजले केही अभिभावकसँग शुल्क विवादको विषयमा सहमति गरेपनि सबै विद्यार्थीहरूले त्यसलाई मानेका छैनन् । माघ १ गते ४ जना अविभावकसँग सहमति गरेको नोबेल कलेजले सहमतिमा चलाखी गर्न खोजेपछि विद्यार्थीहरूले उक्त सहमतिलाई नमान्ने बताएका छन् । विद्यार्थीहरूले माघ २ गते नै उक्त सहमतिको विरोध गर्दै आइतबार विज्ञप्तिसमेत जारी गरेका छन् । नोबेलका एक विद्यार्थीका अनुसार नोबेलले सहमती पत्रको बुँदा नम्बर ४ मा भर्नाको विषयलाई लिएर अभिभावक र विद्यार्थीले कतै उजुरी गर्न नपाइने उल्लेख गरिएको छ । उक्त बुँदाप्रति सहमति गर्ने अभिभावकबाहेक अन्य विद्यार्थीहरू असहमत भएको उनले बताए ।
शिक्षा मन्त्रालयको निर्णय अनुसार हुन्छ : उपाध्यक्ष गिरी
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले शिक्षा मन्त्रालयको निर्णय अनुसार समस्या समाधान हुने बताए । उनले भने, ‘शिक्षा मन्त्रालयमा विश्वविद्यालयले विवाद मिलाउन पहल गर्ने भनिएको थियो । त्यसका कारण विद्यार्थीहरूसँग सहमति भएन भने शिक्षा मन्त्रालयले आवश्यक कदम लिन्छ ।’ अब आयोगको केही भूमिका रहँदैन ? भन्ने प्रश्नमा उपाध्यक्ष गिरीले भने, ‘अहिले जुन निर्णय भएको छ । सोहीअनुसार नै हुन्छ ।’
विवाद समाधान हुन्छ भन्ने विश्वास लिएका छौँ : उपसचिव लम्साल
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव हरिप्रसाद लम्सालले शिक्षा मन्त्रालयले निकालेको निष्कर्षमा विद्यार्थी र कलेजबीच सहमति हुन्छ भन्ने विश्वास लिएको बताए । उनका अनुसार अहिले नै शिक्षा मन्त्रालयले विवाद समाधानको लागि वैकल्पिक उपायको नसोचे पनि विवाद समाधान नभएको खण्डमा मन्त्रालयले आवश्यक कदम चाल्छ । उनले भने, ‘अहिले हामीले विद्यार्थी र कलेजबीचको विवाद मिल्छ नै भन्ने विश्वास लिएका छौँ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij