वेबटिभी खबर
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा बन्न लागेको सहमतिको वातावरण बिगार्न र विवाद चर्काउन कामचलाउ महासचिव हेमराज शर्मा आफैं लागेका छन् ।
गत शनिबार सम्पन्न गैरआवासीय नेपाली संघ अन्तरर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) को ८१औं बैठकका निर्णयभन्दा फरक बुँदाहरूलाई बैठकको माइन्युट ड्राफ्ट भन्दै शर्माले इमेल पठाएपछि संघकै वरिष्ठ पदाधिकारीहरूले आपत्ति जनाएका छन् ।
बैठकले गैरआवासीय नेपाली संघको महाधिवेशन प्रतिनिधि र विवाद समाधान गरेर महाधिवेशन र निर्वाचनसमेत गर्ने जिम्मेवारी विस्तारित संरक्षक परिषद्लाई दिएको छ । आर्थिक र सांगठनिक गरी दुई प्रतिवेदन महाधिवेशनमा पठाउन पारित गरेको थियो ।
तर,बैठकमा एनसीसी जापानबारे कुनै निर्णय नै भएको थिएन । तर, निर्णय नै नभएको कुरालाई कामचलाउ महासचिव शर्माले निर्णय नम्बर ५.४ मा थपेर पठाएका छन् ।
प्रवक्ता डिबी क्षेत्रीको नामबाट आएको इमेलमा उक्त विषय उल्लेख छैन । बैठकले विस्तारित संरक्षक परिषद्लाई दिएको टीओआरलाई पनि उनले आफूखुसी व्याख्या गर्ने प्रयास गरिरहेका छन् ।
एनआरएनएको गत अक्टुवर २०२१ मा हुनुपर्ने १०औं महाधिवेशन तथा निर्वाचन प्रतिनिधि (डेलिगेट्स) चयनसम्बन्धी विवादका कारण पटक-पटक मिति तोक्दा पनि हुन नसकेपछि आइसीसीको ८१औं बैठकले सो सम्पन्न गर्ने जिम्मा संघका प्रमुख संरक्षक शेष घलेको नेतृत्वमा गठित विस्तारित संरक्षक परिषद्लाई दिने निर्णय गरेको थियो ।
‘जापानको विवादको बारेमा आइसीसीमा केही साथीहरूले विषय उठाउनु भएको हो, तर, कुनै निर्णय भएको अवस्था होइन । निर्णय नै नभएको विषयलाई निर्णय भयो भनेर मस्यौदामा लेख्नु सरासर गलत र बद्नियतपूर्ण छ,’ बैठकका सहभागि गुणराज पौडेलले भने । उनले १०औं महाधिवेशन र चुनाव सम्पन्न गर्न जिम्मेवारीपूर्ण व्यवहार गर्न सबैलाई आग्रह पनि गरे ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij