काठमाडौं । नेकपा एमालेका सांसद एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले सरकारको विरोधको लागि विरोध नगर्न आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै बास्कोटाले सरकारले गरेको विकासको परिकल्पना र कामको विरोध गर्नु विडम्बनापूर्ण भएको समेत उनले बताए ।
कांग्रेस नेता कृष्णप्रसाद भट्टराईले ३० वर्ष अघि देखेको मेलम्चीको पानी अहिले काठमाडौं आएको र केपी ओलीले नेपालमा रेल ल्याउन देखेको सपना पनि चाँडै पुरा हुने उनले बताए ।
‘केपी ओलीले डाँडामा रेल कुदायउने भन्नु भएको छैन । उहाँले देख्नु भएको रेलको सपना चाँडै नै पुरा हुन्छ,’ उनले भने । सरकारले गरेको काम हेर्न र सुन्न नसक्नेलाई कानमा रुवा हाल्न र आँखामा साउने चश्मा लगाउन उनले सुझाव दिए ।
‘आरोपमा मात्र हामी समय खर्च नगरौं, मेलम्चीको पानी जनताले टुटी खोलेर खान लागि सके, सरकारले केही गरेको छैन भनेर विरोध गर्नुको कुनै अर्थ छैन,’ उनले भने ।
वर्तमान सरकार कामचलाऊ नभई फुलफेजको भएको बताउँदै माआवादी केन्द्रले कामचलाउन सरकार हो भन्न तथ्यपूर्ण नभएको उनको भनाइ छ । ‘दिएको समर्थन फिर्ता लिन नसक्ने, अनि सरकारलाई काम चलाऊ, भन्ने ? सक्ने भए विश्वासको प्रस्ताव फिर्ता लिनुस्, ’ नेकपा माओवादीतर्फ संकेत गर्दै उनले भने ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij