Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मेडिकल कलेजकाे शुल्क विवाद : विद्यार्थीका पीडा बुझ्दैन सरकार

मेडिकल कलेजकाे शुल्क विवाद : विद्यार्थीका पीडा बुझ्दैन सरकार

  • 542
    SHARES
  • मेडिकल कलेजकाे शुल्क विवाद :  विद्यार्थीका पीडा बुझ्दैन सरकार

    काठमाडौं । विद्यार्थीहरूसँग चिकित्सा शिक्षा आयोगले तोके बमोजिमको शुल्क माग गरेको भए सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज र विराटनगरस्थित नोबेल मेडिकल कलेजका एबीबीएस प्रथम वर्षका विद्यार्थीहरूले अध्ययन सुरु गरेको यतिबेला करिब दुई महिना पुगिसक्थ्यो । तर, यी मेडिकल कलेजले विद्यार्थीहरूबाट अतिरिक्त शुल्क माग गरेका कारण यहाँ अहिलेसम्म पूर्णरूपमा अध्ययन सुरु भएको छैन ।

    अतिरिक्त शुल्क तिर्ने विद्यार्थीरूले मंसिर १९ गतेबाट नै अध्ययन गर्न पाएका छन् भने अतिरिक्त शुल्कको विरोध गरेका विद्यार्थीहरूले अहिलेसम्म अध्ययन गर्न पाएका छैनन् । एमबीबीएस प्रथम वर्ष भर्ना गर्न आएका विद्यार्थीलाई केएमसीले करिब २० लाख अतिरिक्त शुल्क तिर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर गर्न दबाब दिएपछि विद्यार्थीहरूले त्यसको विरोध जनाएका थिए । याे समाचार तयार पार्दासम्म केएमसीका विद्यार्थीहरू आन्दोलनमै छन् ।

    नोबेल कलेजले पनि विद्यार्थीहरूबाट अध्ययन अवधिभर करिब १५ लाख रूपैयाँ अतिरिक्त माग गरेपनि त्यहाँका विद्यार्थीहरू पनि आन्दोलनमा छन् । अहिले नोबेका केही विद्यार्थीहरूले विराटनरस्थित नोबेल मेडिकल कलेजमा र केही विद्यार्थीहरू काठमाडौं आएर अतिरिक्त शुल्कको विरोध जनाइरहेका छन् ।

    अतिरिक्त शुल्क विवाद देखिएका अन्य मेडिकल कलेजको विवाद समाधन भएपनि नोबेल र केएमसी मेडिकल कलेज सञ्चालक एउटै भएका कारण यी दुई कलेजको विवाद अझै समाधान भएको छैन । कलेज सञ्चालक सुनील शर्माले माघ ६ गते शुक्रबारे शिक्षा मन्त्रालयमा छलफलमा शिक्षामन्त्रीकै अगाडि अतिरिक्त शुल्क नलिए पढाउन नसकिने बताएका थिए ।

    विद्यार्थीहरूले अतिरिक्त शुल्कको विरोध गर्दै आन्दोलनमा उर्तिएको करिब २ महिना वित्दा पनि सरकार र सम्बन्धित निकायले कुनै ठोस निर्णय गर्न सकेको छैनन् । अतिरिक्त शुल्क विवादको विरोध गर्दै नोबेलका विद्यार्थीहरू विराटनगरबाट काठमाडौंसम्म आइपुगेका छन् । उनीहरू करिब एक साताअघि काठमाडौं आएका हुन् ।

    विराटननगरबाट आएका नोबेलका ११ जना विद्यार्थीहरूले करिब एक सातादेखि शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, गृह मन्त्रालय, नेपाल मेडिकल काउन्सिललगायत निकायमा धाउँदा पनि समास्या समाधानको ठोस जवाफ पाउन सकेका छैनन् ।

    उपलब्धि

    विद्यार्थीहरूले अतिरिक्त शुल्कको विरोध जनाउँदै आन्दोलन थालेको करिब दुई महिना बित्न लाग्दा विद्यार्थीहरूले अहिलेसम्म प्राप्त गरेको सकारात्मक कुरा भनेको काठमाडौं विश्वविद्यालय मंगलबार जारी गरेको तीन वटा सूचना हो ।

    काठमाडौं विश्वविद्यालयले मंगलबार विद्यार्थीहरूसँग छलफल गरेर विश्वविद्यालयको नाम मेडिकल कलेजले विभिन्न तीन शीर्षकमा लिएको अतिरिक्त शुल्क फिर्ता गर्ने, अतिरिक्त शुल्क नदिएकाहरूले तिर्नुनपर्ने बताएको थियो ।

    त्यस्तै विश्वविद्यालयका ऐन नियममा छात्रावास अनिवार्य नभएका कारण विद्यार्थीहरूले आफ्नो इच्छा बमोजिम गर्न सक्ने निर्णय गरेर सम्बन्धित कलेजलाई सोही अनुसार गर्न निर्देशन पठाएको नोबेल कलेजमा एमबीबीएस अध्ययनरत एक विद्यार्थीले बताए ।

    विवादका कारण अध्ययनबाट बन्चित भएका विद्यार्थीहरूलाई यथाशीध्र भर्ना गरेर कक्षा सञ्चालन गर्नुपर्ने सूचना विश्वविद्यालय निकालेका कारण अब अध्ययन गर्न पाइन्छ भन्ने आशामा आफूहरू रहेको विद्यार्थीहरूको भनाइ छ ।

    कलेजले पनि भर्ना गर्न आउन भनेर सूचना जारी गरेकाले केही आशा पलाएको विद्यार्थीको भनाइ छ । विश्वविद्यालयले जारी गरेको सूचनापछि कलेजले कस्तो रेस्पोन्ज गर्छ भनेर विद्यार्थीहरू प्रतिक्षामा छन् ।

    आन्दोलन जारी

    नोबल कलेज र केएमसी कलेजका विद्यार्थीहरूले आफ्ना माग पुरा नहुँदासम्मका लागि आन्दोलन जारी रहेने बताएका छन्  । संयुक्त विद्यार्थी संगठनले विद्यार्थीहरूको आन्दोलन स्थगित भएको सूचना प्रकाशन गरेपनि विद्यार्थीहरूले भने आफ्नो आन्दोलन जारी रहेको बताएका छन् ।

    कलेज सकारात्मक देखिएको खण्डमा कलेज प्रशासनमा लगाइएको ताला खोलेर कलेजसँग विवाद समाधानको सम्झौता गरे मात्र अध्ययन सुरु गर्ने पक्षमा आफूहरू रहेको विद्यार्थीले बताए ।

    नोबेलका एक विद्यार्थीले भने, ‘हामीले माग गरेबमोजिम भएको खण्डमा मात्र हाम्रो आन्दोलन स्थगित हुन्छ, नभए जारी नै रहन्छ ।’ कलेज सञ्चालक सुनील शर्मा विदेश गएको र अर्का एक जना कोरोना संक्रमणका कारण आइसोलेशनमा रहेकाले केएमसीले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको एक विद्यार्थीले बताए ।

    केएमसीका विद्यार्थीहरूको आन्दोलन पनि जारी रहेको ती विद्यार्थीले बताए । उनले भने, ‘हाम्रो माग पुरा नभएसम्म आन्दोलन जारी रहन्छ ।’ यी कलेजमा विद्यार्थीहरूले करिब १ महिनादेखि तालाबन्दी गरेका छन् ।

    हाजिरी नपुग्ने चिन्ता

    वार्षिक परीक्षामा सहभागी हुनको लागि विद्यार्थीले ८० प्रतिशत हाजिर पुरा गरेको हुनपर्छ । सो नभए विद्यार्थीहरू परीक्षामा सहभागी हुन पाउँदैनन् ।करिब दुई महीनादेखि विद्यार्थीहरू आन्दोलनमा रहेकाले उनीहरूलाई आफ्नो हाजिरी पुग्दैन कि भन्ने चन्ताले सताउन थालेको छ ।

    सम्बन्धित निकायले शुल्क विवाद समयमै समाधान गर्न नसक्दा विद्यार्थीहरूमा हाजिरी नपुग्ने चिन्ता बढ्न थालेको हो । यो समस्या समाधानका लागि विद्यार्थीहरूलाई विश्वविद्यालयका उपकुलपति प्रा.डा भोला थापाले मौखिक आश्वासन दिएका छन् ।

    यो विवादमा रहेको २ महिनाको कक्षालाई सञ्चालन नै नभएका मान्ने र सोही अनुसार शैक्षिक क्यालेन्डर निकाल्ने आश्वासन उपकुलपतिले दिएको विद्यार्थीले बताए । विद्यार्थीहरूको मंसिर १९ गतेबाट पढाई सुरु गर्नुपर्ने भएका कारण शुल्क विवादका कारण सबै विद्यार्थीहरूको पढाइ अझै सुरु भएको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij