वेबटिभी खबर
गण्डकी । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सञ्चालन गरेको डढेलो र वन्यजन्तु आक्रमण बीमा पीडित परिवारका लागि सहारा बनेको छ । वनमा लाग्ने डढेलो नियन्त्रण तथा वन्यजन्तुको आक्रमणका कारण ज्यान गुमाएका परिवार र घाइते व्यक्तिले महासंघले गरेको बीमामार्फत प्राप्त रकमबाट उपभोक्ताले केही राहतको महसुस गरेका हुन् ।
मुलुकमा बर्सेनि हिउँदका समयमा सामुदायिक वनमा लाग्ने डढेलो एवम् वन्यजन्तु आक्रमणबाट जनधनको क्षति हुने गरेको हुँदा महासंघले दुःखमा परेका उपभोक्ताको राहतका लागि २०७५ सालदेखि बीमाको व्यवस्था गर्दै आएको छ ।
पीडित परिवारलाई १ लाख र घाइतेको उपचारका लागि १० हजारको बीमा गरिएको महासंघको केन्द्रीय सचिव ठाकुर भण्डारीले जानकारी दिए । उनकाअनुसार नेपाल सरकारबाट वन्यजन्तुको आक्रमणबाट मृत्यु हुने प्रतिव्यक्तिको परिवारलाई १० लाख राहत उपलब्ध गराउँदै आएको छ । सरकार र महासंघद्धारा गरिएको बीमाको दोहोरो नपर्ने गरी पीडितले सुविधा पाउने व्यवस्था गरिएको छ ।
मुलुकभरिका सामुदायिक वन समूहका उपभोक्ताको ५० जनाको मृत्यु तथा १०० जनासम्मको घाइते उपचारका लागि महासंघले वार्षिक ४ लाख बराबरको प्रमु बीमा कम्पनीसँग सम्झौता गरेको उनको भनाइ छ ।
महासंघले चालु आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणबाट ज्यान गुमाएका एकजनासहित वनमा लागेको आगो नियन्त्रणमा परी ७ जनाको मृत्यु भएकामा पीडित परिवारले बीमामार्फत
जनही एक/एक लाख प्राप्त गरेको जनाउँदै उनले भने, ‘वन्यजन्तुको आक्रमणबाट ५ र डढेलोबाट घाइते भएका १७ जनाले १० हजार दरले बीमाबापतको उपचार खर्च सम्बन्धित जिल्ला महासंघ मार्फत प्राप्त गरिसकेका छन् ।’
आगलागी र वन्यजन्तुबाट बर्दिया बाजुरा, सुर्खेत, पाल्पा, डोटी, गोरखा, मोरङ, अछाम, रुकुम पश्चिम, खोटाङ, बाँके, खर्घाखाँची लगायतका विभिन्न जिल्लाका १३ जनाको मृत्यु भएको र नौजना घाइते भएका व्यक्ति तथा परिवारले बीमाबापतको सुविधा प्राप्त गरेका थिए । जसमा आगलागीमा परी सातजनाको मृत्यु र ८ जना घाइते भएका थिए भने वन्यजन्तुको आक्रमणबाट ५ जनाको मृत्यु र एकजना घाइतेले सुविधा लिएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij