वेबटिभी खबर
काठमाडौं । बाग्लुङ जिल्लाको बेरङ गाउँपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराएको छ ।
पालिकाले गत साउन महिनादेखि नै संघीय सरकाकारले तोके बमोजिमको न्युनतम तलब उपलब्ध गराएको पालिकाका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद शर्माले बताए ।
उनका अनुसार इसीडी शिक्षक र विद्यालय सहयोगीलाई पालिकाले मासिक १५ हजार रूपैयाँ उपलब्ध गराइरहेको छ । त्यस्तै माध्यमकि तहका सहायक लेखापाललाई मासिक १६ हजार रूपैयाँ उपलब्ध गराइएको शर्माले बताए ।
पालिकाभित्रका सामुदायिक विद्यालयमा २९ जना इसीडी शिक्षक, ७ जना सहायक लेखापाल र ३८ जना विद्यालय सहयोगी कार्यरत रहेको शाखा प्रमुख शर्माले बताए ।
न्युनतम तलब पुर्याउन संघीय सरकारले पठाएको पैसामा स्थानीय तहले आवश्यक रकम थप गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउनुपर्ने भएपनि अधिकांश स्थानीय तहले दिएका छैनन् ।
संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट मार्फत इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउने घोषणा गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij