वेबटिभी खबर
ताप्लेजुङ । ताप्लेजुङको दुर्गम गाउँ मिक्वाखोला गाउँपालिका–५ पापुङ गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले खुशियाली मनाएका छन् ।
आइतबार गाउँमा पापुङमा गाडी पुगेपछि स्थानीयवासीले खुशियाली मनाएका हुन् । भौगोलिक बनावटका हिसाबले अति दुर्गम गाउँमा पहिलो पटक गाडी पुग्दा स्थानीय हर्षित भएका थिए ।
स्थानीयले चालक र गाडीमा गएकालाई खादा ओढाएर स्वागत गरेका थिए । पुस्तौंदेखि गाडी देख्न नपाएका नागरिकमध्ये स्थानीय रिङ शेर्पाले आफ्नै गाउँमा गाडी पुगेको देख्न पाउँदा खुसी लागेको बताए ।
अब गाउँदेखि नै दैनिक रुपमा यातायात सेवा सञ्चालन हुने भएको र पापुङका समुदायलाई यातायात सुविधाका लागि राहत पुग्ने भएको शेर्पाले बताए । विगतमा एक दिन पूरै लगाएर आवश्यक सामग्री भरीयामार्फत ढुवानी गर्नुपर्ने अवस्था थियो ।
गाउँमा कोही बिरामी भइहालेमा पनि तत्काल अस्पताल पुर्याउनलाई समस्या रहँदै आएको थियो, तर अहिले गाउँमै गाडी पुगेपछि यस्ता समस्या हल हुने विश्वास लिएको स्थानीय लाक्पाफुटी शेर्पाले बताए ।
उनले भने,‘गाडी चढ्नका लागि पाँच घण्टा पैदल हिँडेर मिक्वाखोला गाउँपालिका–४ साँबासम्म पुक्नुपर्थ्यो। तर, अबदेखि आफ्नै गाउँबाट गाडी चढ्न र आवश्यक सामग्री ढुवानी गर्न पाउने अवस्था बनेपछि खुसी भएका छौं ।’
गाउँका नागरिकलाई स्थानीय सरकारको अनुभूति दिलाउनेगरी सडक निर्माणको योजनालाई अघि बढाएको मिक्वाखोला गाउँपालिका–५ का पापुङका वडाध्यक्ष डण्डु लामाले बताए । वडाध्यक्ष लामाका अनुसार उक्त सडक गाउँसम्म पुर्याउन गतवर्ष मिक्वाखोला गाउँपालिकाको एक करोड बजेट खर्च भएको थियो ।
यस्तै चालु आर्थिक वर्षमा पापुङ गाउँ, पालिका केन्द्र साँबा हुँदै सदरमुकामसँग सडक सञ्जालले जोड्ने योजनामा विनियोजित ७० लाख रुपैयाँ बजेट खर्च गरेर गाउँसम्म सडक पुगेको गाउँपालिकाले जनाएको छ ।
ताप्लेजुङमा नौवटा स्थानीय तह छन् । जसमा ६१ वडा रहेको छ । विगतमा नै ६० वटा वडाहरुमा सदरमुकामसँग प्रत्यक्ष सडक सञ्जालले जोडिएको छ । आइतबार मात्र मिक्वाखोला गाउँपालिका–५ पापुङमा सडक पुगेसँगै ताप्लेजुङको सबै वडामा यातायताको पहँज पुगेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij