एजेन्सी
काठमाडौं । कपाललाई सौन्दर्यको सूचक मानिन्छ । महिलाको कपाललाई लिएर त गीत र कविता नै बनेका छन् । बाक्लो र कालो कपाललाई पानी पर्ने बेलाको कालो बादलसँग तुलना गरेर कविले वयान गरेको पाइन्छ । महिला र पुरुषमा कपाल झर्ने समस्याका लक्षण फरक–फरक हुन्छन् । तर, आज हामी पुरुषको कपाल झर्ने समस्या बारे उल्लेख गर्दैछौं ।
मानिसको जीवनशैली व्यस्त बनेसँगै कपाल झर्नु आजभोलि आम समस्या बन्दै गएको छ । सौन्दर्यको प्रतिक मानिने कपाल कहिले काहीँ काइँयोमा चपक्क टाँसिएको देख्दा निन्द्रा नै उड्छ । दैनिक ५० देखि १०० वटा कपाल झर्नुलाई सामान्य मानिन्छ । तर, त्यो भन्दा बढी कपाल झर्न थाल्यो भने समयमै सतर्क हुनु पर्छ । नभए टाउकोबाट क्रमशः कपाल रित्तिंदै जान्छ । कपालका लागि राम्रो भनेर प्रचार गरिएका कतिपय केमिकलयुक्त श्रृंगार प्रसाधनले झन उल्टो असर गर्छ ।
छोटा कपाल राख्ने भएकाले स्याहार गर्न पुरुषलाई सहज हुन्छ । तर पनि कपाल झर्ने क्रम भने बढेको छ । यसका कारण र निवारणका लागि अपनाउनु पर्ने केही उपायहरु यस्ता छन् ।
चिन्ता
तनावपूर्ण काम र चिन्ताको निरन्तरताले कपाल झर्ने समस्या सुरु हुन थाल्छ । तनावपूर्ण काम थालेको ६ महिनाभित्रमा कपाल झर्ने समस्याहरु देखिने गरेको चिकित्सकहरुले बताएका छन् ।
स्वास्थ्य अवस्था
पेटको बिमारी र थाइराइड हुँदा पनि कपाल झर्ने संभावना बढी हुन्छ । थाइराइडका बिरामीमा कपाल झर्ने क्रम तीव्र हुनसक्छ । थाइराइड हुँदा महिलाको पनि कपाल झर्ने समस्या देखिने गरेको छ ।
औषधीको प्रयोग
अन्य बिमारीका कारण नियमित खानुपर्ने औषधीले पनि कपाल झर्ने समस्या निम्त्याउन सक्छ । खासगरी रगत पातलो बनाउने औषधी र केमोथेरेपी कपाल झर्ने कारण बन्न सक्छन् । यसका साथै हार्माेनको असन्तुलनले पनि कपाल झर्ने हुनसक्छ ।
पोषक आहारको अभाव
शरीरका अन्य अंगलाई जस्तै स्वस्थ कपालका लागि पनि पोषक तत्वको जरुरी हुन्छ । कपाललाई मजबुत र चमकदार बनाउन पोषक आहार खानुपर्ने हुन्छ । पोषक तत्वको अभावमा अन्य स्वास्थ्यसँगै छाला र कपाललाई पनि असर गर्छ ।
कपाल झर्नबाट रोक्ने उपाय
कपाल झर्नबाट रोक्नका लागि हाम्रो दैनिक आहार र दिनचर्या बदल्दा पनि सकारात्मक परिवर्तन देखिन सक्छ ।
हाम्रा साना–साना गल्तिले गर्दा हाम्रो कपाल झरिरहेको हुन्छन् ।
पोषिलो खानपानसँगै कपाललाई सुन्दर र बाक्लो बनाइराख्न थप केही उपायहरु पनि गर्नुपर्छ । त्यसका लागि यी उपाय उपयुक्त हुने चिकित्सकहरुले सुझाएका छन् ।
तनावमुक्त रहने
चिकित्सकको सल्लाह विना औषधी र भिटामिन सप्लीमेन्ट नखाने
धुलो, धुँवा र प्रदुषणबाट जोगिने
भिटामिन सी भएका खानेकुरा खाने
मदिरा, सुर्तिजन्य पदार्थ नखाने
कपाल कोर्दा फराकिलो काइँयोको प्रयोग गर्ने
टाउको पखाल्दा तातो पानी प्रयोग नगर्ने
तात्तातो तेल टाउकोमा नदल्ने ।
एजेन्सीको सहयोगमा तयार पारिएकाे सामग्री
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij