वेबटिभी खबर
काठमाडौं । संघीय सरकारले गत साउन महिनादेखि लागू हुनेगरी प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर, लेखापाल) लाई स्थानीय तहले न्युनतम मासिक १५ हजार रूपैयाँ दिनुपर्ने घोषणा गरेको थियो ।
संघीय सरकारले घोषणा गरेपनि अधिकांश स्थानीय तहहरूले विद्यालय कर्मचारीलाई उक्त रकम अहिलेसम्म पनि दिएका छैनन् । भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत इसीडी शिक्षक र विद्यालय कर्मचारीले पनि हालसम्म संघीय सरकारले निर्धारण गरेको न्युनतम मासिक तलब पाएका छैनन् ।
सूर्यविनायक नगरपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीहरूलाई स्थानीय सरकारको तर्फबाट अहिलेसम्म पारिश्रमिक थप गरी दिएकाे छैन ।संघीय सरकारको निर्णयबमोजिम पालिकाले सात हजार रूपैयाँ दिनुपर्छ । हाल पालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई संघीय सरकारले पठाएको रकम मात्र उपलब्ध गराएकाे छ ।
नगरपालिका शिक्षा शाखा अधिकृत सरस्वती कोइरालाका अनुसार पालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम पारिश्रमिक दिन बजेट छुट्याइएको छ । साउन महिनादेखिकाे बाँकी रकम उपलब्ध गराइने उनकाे भनाइ छ ।
पालिकाभित्रका सामुदायिक विद्यालयमा ३४ जना विद्यालय सहयोगी, ४३ जना इसीडी शिक्षक र १० जना सहायक लेखापाल कार्यरत रहेको उनले बताइन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij