वेबटिभी खबर
काठमाडौं । काभ्रे जिल्लाको पनौती नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) र विद्यालय कर्मचारी (परिचर र लेखापाल) लाई संघीय सरकारले ताेकेको न्युनतम तलब दिएको छ ।
पालिकाको शिक्षा शाखा प्रमुख महेश्वर जंगमले सबै इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई मासिक १५ हजार रूपैयाँका दरले तलब उपलब्ध गराएको बताए ।
सबैलाई गत साउन महिनाबाट नै उक्त रकम उपलब्ध गराइएको उनको भनाइ छ । पालिकाभित्रका सामुदायिक विद्यालयमा ३६ जना इसीडी शिक्षक, ३४ जना विद्यालय सहयोगी र १२ जना लेखापाल कार्यरत रहेको उनले बताए ।
न्युनतम तलब पुर्याउन संघीय सरकारले पठाएको पैसामा स्थानीय तहले आवश्यक रकम थप गरेर इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउनुपर्ने भएपनि अधिकांश स्थानीय तहले दिएका छैनन् ।
संघीय सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट मार्फत इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई न्युनतम तलब उपलब्ध गराउने घोषणा गरेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij