मिलन दाहाल
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको गत मंसिरमा सम्पन्न महाविधेशनले अध्यक्षका उम्मेदवार कमल थापालाई पराजित गर्दै युवा नेता राजेन्द्र लिङ्देनलाई चुनेपछि पार्टीले देशव्यापी तरंग ल्यायो । आफ्ना अडान र अभिव्यक्तिलाई निर्भिक रूपमा प्रस्तुत गर्ने लिङ्देन अध्यक्ष भएपछि चुलिएको राप्रपाको चर्चाले संगठनलाई फाइदा नै पुग्यो । लिङ्देन अध्यक्ष भएपछि राप्रपा प्रवेशको लहर पनि चलिरहेको छ । राप्रपा संगठन विस्तारमा लागिरहेकै बेला स्थानीय चुनावको मिति घोषणा भएको छ ।
तर, निर्वाचनको मिति घोषणा भएपछि पूर्वअध्यक्ष थापाले पार्टी छाडेका छन् । राप्रपाको निरन्तर नेतृत्वमा रहेका थापा महाधिवेशनमा अप्रत्यासित हारपछि पार्टीबाट टाढिएका थिए । यो परिस्थितिमा राप्रपाले स्थानीय चुनावमा के अपेक्षा गरेको छ ? पार्टी एक्लै निर्वाचनमा जान्छ कि अर्काे दलसँग गठबन्धन गर्छ ? चुनावी नतिजा पहिलेभन्दा राप्रपाको पक्षमा बढी हुन्छ कि हुँदैन ? भन्ने विषयमा पार्टीका प्रवक्ता मोहन श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश :
राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन चयन भएपछि युवा नेतृत्वको आगमनले राप्रपाको आन्तरिक जीवनमा के फरक परेको छ ? पहिलेभन्दा राप्रपा बलियो भएको हो ?
गत मंसिरमा हामीले पार्टीको ऐतिहासिक महाधिवेशन सम्पन्न गरेका छौँ । हामीसँगै नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादीले पनि आफ्नो महाधिवेशन सम्पन्न गरे । तर ती पार्टीले पुरानै नेतृत्वलाई दोहोर्याएका छन् । दुई वटा कम्युनिस्ट पार्टीहरूले त सामान्य प्रजातान्त्रिक प्रक्रिया पनि नअपनाई महाधिवेशनबाट नेतृत्व चयन गरे । कांग्रेस चुनावी प्रक्रियामा गए पनि नयाँ नेतृत्व ल्याउन सकेन । तर राप्रपाले ३१ वर्षीय पार्टीको इतिहासलाई परिवर्तन गर्दै नयाँ नेतृत्व चयन गरेको छ । यसले देशव्यापी ठूलो र सकारात्मक सन्देश गएको छ ।
नेतृत्व तहमा पुस्तान्तरण हुनुपर्छ भन्न कुरालाई राप्रपाले प्रमाणित गरेको छ । नेपाली समाज र राजनीतिमा गुणात्मक परिवर्तन गर्न राप्रपाको यो महाधिवेशन सफल भएको छ । यसले परम्परागत नेतृत्वको ठाँउमा नयाँ नेतृत्वलाई स्थापित गरेको छ । जुन एउटा गुणात्मक परिवर्तन हो । हामी त्यो महाधिवेशनपछि अत्यन्तै उत्साह पूर्ण ढंगबाट अघि बढेका छौँ ।
देशैभर राप्रपाप्रति आकर्षण बढेको छ । महाधिवेशनपछि राप्रपामा प्रवेशको लहर नै चलिरहेको छ । हामीले यसबीचमा ४ वटा प्रदेशका विस्तारित बैठकहरू सम्पन्न पनि गरेको छौँ । यी विस्तारित बैठकमा राप्रपा प्रवेशको लहर देख्दा नयाँ नेतृत्वप्रति आशा, विश्वास र भरोसा बढेको देख्न सकिन्छ ।केन्द्रीय कार्यालय काठमाडौंमा पनि दिनहुँ जसो दर्जनौं मानिसहरू पार्टी प्रवेश गरिरहेका छन् । पुरानो नेतृत्व हुँदा यस्तो अवस्था थिएन ।
पुरानो नेतृत्व रहँदा पञ्चहरूको पार्टीको रूपमा मात्रै राप्रपालाई व्याख्या गरिन्थ्यो र आम जनसमुदायले पनि सोही नजरले हेर्ने गरेको पाइन्थ्यो । तर अहिलेको नेतृत्व आइसकेपछि त्यसमा परिवर्तन आएको महसुस भएको छ । पार्टीमा प्रवेश गर्ने नयाँ मान्छेहरू निरन्तर थपिँदै जानुले पनि नयाँ नेतृत्वसँगै पार्टी बलियो भएको स्पष्ट हुन्छ ।
पूर्वअध्यक्ष कमल थापासँग तपाईंले नजिक भएर काम गर्नु भयो । उहाँको बर्हिगमनले पार्टीलाई कत्तिको असर गर्छ ?
हो म उहाँसँग लामो समय नजिक रहेर काम गरेका मान्छे हुँ । उहाँलाई नजिकबाट चिनेको र बुझेको पनि छु । उहाँ लामो समय पार्टीको नेतृत्व तहमा रहेर काम गरेको नेता भएका कारण उहाँले पार्टी त्याग गर्दा अन्य नेता तथा कार्यकर्ताहरूमा मनोवैज्ञानिक असर पर्न सक्छ । तर संख्यात्मक र गुणात्मक रूपमा भने कुनै असर पर्दैन ।
उहाँको पछि लागेर मान्छेहरूले पार्टीबाट छोडेको भन्दा २०औं गुणा मानिसहरूले पार्टी प्रवेश गरिरहेका छन् । संख्यात्मक असर नगरे पनि मनोवैज्ञानिक प्रभाव पर्न सक्ने भएकाले त्यसबाट पुग्ने क्षतिको न्युनिकरण गर्ने तर्फ लागेका छौँ ।
अब थापालाई पार्टीमा फर्काउने प्रयास हुन्छ कि हुँदैन ?
उहाँले पार्टीबाट छापामार शैलीमा अलग हुने निर्णय गर्नुभएको छ । उहाँको यो कदम नियोजित र योजनावद्ध रहेको जस्तो देखिन्छ । उहाँले उठान गरेका विषयलाई सम्बोधन गर्ने प्रयास गर्दागर्दै र बिहीबारका लागि केन्द्रीय पदाधिकारी बैठक आह्वान समेत गरिसकेको अवस्थामा मंगलबार नै थापाले पार्टीबाट अलग हुने घोषणा गर्नुभयो । त्यसले पनि थापा नै पार्टीमा बस्न नचाहेको देखिन्छ । उहाँले यस्तो निर्णय किन गर्नुभयो भन्ने त्यो भोलिका दिनमा देखिएला । सरसर्ती हेर्दा उहाँले पार्टीबाट अलग हुने बहाना खोज्नु भएको थियो र अलग भएको जस्तो देखिएको छ ।
उहाँले पार्टीबाट अलग भएको घोषणा गरेकै दिन हामीले पार्टी केन्द्रीय पदाधिकारीको आकस्मिक बैठक बोलाएर निर्णयमा पुनर्विचार गर्न आग्रह गरिसकेका छौँ । विभन्न माध्यमबाट उहाँसँग कुराकानी पनि भइरहेको छ । सुतेको मान्छेलाई उठाउन सकिन्छ तर सुतेको अभिनय गरेको मानिसलाई कसरी उठाउन सकिँदैन । उहाँ आफैं पार्टीमा बस्न चाहनु भएको छैन । योजनावद्ध रूपमा पार्टी परित्याग गरेकाले पुनः पार्टीमा फर्कनुहुन्छ जस्तो लाग्दैन ।
कमल थापाले निर्मल निवासको हस्तक्षेप भन्दै पार्टी छोड्नु भयो । हस्तक्षेप भएको हो ?
थापानिकट रहेको सबै जसो व्यक्तिहरू निर्मल निवाससँग पनि निकट छन् । उहाँहरू सबैले महाधिवेशनमा थापाकै पक्षमा भोट हालेको जस्तो लाग्छ । निर्मल निवासबाट चलखेल भएको जस्तो त लाग्दैन । राजेन्द्र लिङ्देनसँग हारेको भन्न उहाँलाई लाज लागेर निर्मल निवाससँग हारेको भनिरहनु भएको होला । तर जीवनभर बोकेको मान्यतालाई उल्लंघन गरेर उहाँले बाटो पविर्तन गर्न लाग्नु भयो । बाटो नै परिवर्तन गर्नुपर्ने त्यस्तो बाध्यता के आइपर्याे ? कसको साँठगाँठमा पार्टी छोड्ने निर्णयमा पुग्नु भो ? यी प्रश्नको जवाफ उहाँले चालेका कदमबाट भोलिका दिनमा देखिएला नै ।
पार्टीको केन्द्रीय पदाधिकारीले गरेको आग्रह, देशभरका नेता कार्यकताको भावना बमोजिम उहाँले आफ्नो निर्णयमा पुनर्विचार गरेर पार्टीमा फर्कनु भयो भने हामी स्वागत गर्न आतुर छौँ । तर उहाँको गतिविधिहरू हेर्दा उहाँ फर्कनुहुन्छ जस्तो लाग्दैन ।
अब चुनावको प्रसंगमा जाऔं । आगामी वैशाख ३० गते देशभर एकैपटक स्थानीय चुनाव हुने मिति घोषणा भइसकेको छ । यो स्थानीय चुनावमा राप्रपाको अवस्था कस्तो हुन्छ ?
महाधिवेशन सम्पन्न भएको केही समयभित्रै स्थानीय चुनाव आएको छ । केही आन्तरिक उल्झनमा परेर पार्टीको वास्तविक गति अवरुद्ध भइरहेको थियो । यो बीचमा नेता कार्यकर्ता विभाजित पनि भएका छन् । तर अब त्यो अवस्थाको अन्त्य हुँदैछ । कमल थापा पार्टीमा फर्केर आउने वा नआउने भन्ने कुराको छिनोफोनो एक दुई दिनमै हुँदैछ । बिहीबार बसेको पदाधिकारीको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्ने निर्णय गरेको छ ।
पार्टीको पक्षमा बढीभन्दा बढी परिणाम हासिल गर्ने, पार्टीका सम्पूर्ण संगठनलाई क्रियाशील बनाउने र फागुन महिनालाई प्रशिक्षणको महिना बनाउने निर्णय पनि भएको छ । केही प्रदेशमा विस्तारित बैठक हुन बाँकी छन् । ती ठाँउहरूमा विस्तारित बैठक र आम सभा गर्ने । चुनाव केन्द्रित भएर देशभर विभिन्न ठाँउहरूमा कोण सभा गर्ने, देशव्यापी घरदैलो गर्ने, साना ठूला सभाहरू गर्ने लगायतका निर्णय पदाधिकारी बैठकले गरेको छ । संघीयता खारेज हुनुपर्ने र सदृढ स्थानीय तह हुनुपर्ने जस्ता राप्रपाले उठान गरेका विषयमा पनि जनमत बढिरहेको छ । यी विषय लिएर हामी स्थानीय चुनावको लागि जनता समक्ष जान्छौँ ।
पार्टी अध्यक्ष लगायत सबै शीर्ष नेताहरू प्राय सबै सभामा सहभागी हुनुहुनेछ । स्थानीय चुनाव हुन बाँकी दिनहरूलाई पार्टीको पक्षमा धेरैभन्दा धेरै जनमत बटुल्ने प्रयास गछौँ । अहिले जनताले राप्रपालाई आशा र भरोसा गर्ने शक्तिको रूपमा हेरिरहेका छन् । कांग्रेस र कम्युनिस्टको शासनबाट आजित जनताले भरपर्दाे वैकल्पिक शक्ति खोजिरहेको अवस्था छ । राप्रपालाई भरपर्दाे वैकल्पिक र मुलधारको राजनीतिक शक्तिको रूपमा स्थापित गराउने चुनौती हामी समक्ष छ । त्यसलाई स्थापित गर्न हामी सम्पूर्ण रूपमा अघि बढीरहेका छौँ ।
कति वटा स्थानीय तहमा जित्ने अपेक्षा राख्नु भएको छ ?
स्थानीय निर्वाचन ऐन संसोधन भएको खण्डमा हामीले देशभरका स्थानीय तहमा पार्टीको चुनाव चिन्ह ‘हलो’ प्रयोग गर्न पाउँछौँ । यदी त्यस्तो अवस्था हुन सक्यो भने हामीले स्थानीय तहको चुनावमा राम्रो परिणाम ल्याउन सक्ने अवस्था छ । निर्वाचन आयोगले विभेद पूर्ण ‘स्थानीय निर्वाचन ऐन’ को व्यवस्था गरेको छ । राष्ट्रिय मान्यता प्राप्त दलले मात्र निर्वाचन चिन्ह प्रयोग गर्न पाउने प्रावधान विभेदपूर्ण छ ।
यदि स्थानीय निर्वाचन ऐन संशोधन नहुने हो भने राष्ट्रिय मान्यता नपाएका दलले जनमत हुँदाहुँदै ठूलो अन्याय भोग्नुपर्ने देखिन्छ । हामी यो विषयमा पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछौँ । यो व्यवस्था विभेदपूर्ण अन्यायपूर्ण र अलोकतान्त्रिक छ । यो ऐन संशोधन हुनुपर्छ ।
चुनाव केन्द्रित रणनीतिहरू राप्रपाले बनाइसक्यो कि बाँकी छ ? अन्य कुनै दलसँग गठबन्धन गरेर चुनावमा जाने रणनीति छ कि छैन ?
देशभरका सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने निर्णय भएको छ । वडादेखि नगरपालिकोसम्म सबै स्थानमा हामी आफ्नै उम्मेदवार उठाउँछौँ । त्यसैको लागि हामीले फागुन महिनाभित्र उम्मेदवारको नाम छनौट गरेर पठाइसक्नु पर्ने निर्णय गरेका छौँ । जहाँसम्म गठबन्धनको कुरा छ । अन्य राजनीतिक दलहरूसँग परामर्श सम्बाद त हुन्छ नै तर अहिले हामी आफ्नै तागतमा उम्मेदवार खडा गर्ने तयारीमा नै छौँ । गठबन्धनको सम्भावनालाई राप्रपाले पूर्णरूपमा इन्कार भने गरेको छैन । गठबन्धनमा जाने अवस्था अहिले आइसकेको छैन । त्यो सम्भावनाको ढोका भने सधैं खुला रहन्छ ।
राप्रपालाई जनताले भोट किन दिने ?
जब योजनाबद्ध र षड्यन्त्रपूर्वक ढंगबाट २४० वर्षीय राजतन्त्रको इतिहासलाई पाखा लगाइयो । त्यसपछि देशमा २ वटा संविधानसभा चुनाव र एउटा संसदीय प्रतिनिधि सभाको चुनाव भयो । यी तीन वटा निर्वाचनमा जनताले माओवादी, कांग्रेस र एमालेलाई प्रमुख राजनीतिक शक्तिका रूपमा मत दिएको आज करिब १८ वर्षको भइसकेकको छ । यो अवधिमा जनताले ठूलो बनाइदिएको कुन राजनीतिक दलले के राम्रो काम गरे ? जनचाहना अनुरूपको जनपक्षीय निर्णय कुन पार्टीले गर्यो ? ठूला भनिएका दलले भ्रष्टचारमुक्त राष्ट्र बनाउन सके त ? सकेनन् नी ! त्यसैले राजा हुनु वा नहुनुभन्दा पनि प्रवृत्तिमा सुधार आउन आवश्यक छ ।
जुन कुरा प्रमुख राजनीतिक दलहरूमा देखिएन । त्यस कारण देशमा राजनीतिभन्दा माथि उठेको एउटा साझा संस्थाको अपरिहार्य भूमिका दिनप्रति दिन बढ्दै गएको छ । राजसंस्थाको आवश्यक्ता नेपाली जनजनमा अझ गहिरो रूपमा स्थापित हुन थालेको छ । नेपालमा राजसंस्थाको आवश्यकता रहेको भन्ने मत पनि बढी रहेको छ । हामी यी मुद्दालाई प्रमुख विषय बनाएर जनता समक्ष जान्छौं । यी मुद्दामा जनताको आकर्षण बढेकाले चुनावमा हामीले भोट पाउँछौं ।
चुनावमा हामी नेपाली जनता समक्ष ठूला भनिएका यी राजनीतिक दलले गएको १६ वर्षमा गरेका भ्रष्टाचारका विषयलाई प्रमुख मुद्दा बनाउँछौँ । राष्ट्रिय स्वाधीनता र सार्वभौमता नै कमजोर बनाउने राजनीतिक दलले गरेका प्रयासलाई हामी जनता समक्ष लैजान्छौँ । पञ्चायत र बहुदलकालमा विदेश जाँदा नेपाली पासपोर्ट बाहकलाई सम्मानका साथ हेरिन्थ्यो । अहिले नेपाली पासपोर्ट अन्तर्राष्ट्रिय रूपमा निकै तल झरेको छ । सीमित व्यक्तिहरूको घेरामा रहेर सरकारले काम गरिरहेको छ । राष्ट्रिय स्वाधीनता र आत्मसम्मानका दृष्टिकोणले पनि सरकार कमजोर बन्दै गएको छ ।
अब देशमा दीगो र सम्मानीत संस्था आवश्यक छ । त्यो दीगो र सम्मानित संस्थाको रूपमा राजसंस्था हुन सक्छ । यही विषयलाई हामी पुनः जनता समक्ष लिएर जान्छौँ । जनताले विकल्प नभएर यीनै दललाई मत दिइरहेका छन् । त्यसकारण पनि हामी भरपर्दाे विकल्प बनेर जनता माझ जान्छौँ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij