मिलन दाहाल
स्थानीय चुनावको घोषणा भएसँगै सबैजसो पार्टी चुनावी तयारीमा जुटेका छन् । विगत पाँच वर्षमा जनताबीच पुगेर आफ्नो पार्टीले गरेका काम, आगामी दिनको योजना, अन्य पार्टीका गलत नीतिका फेहरिस्त बोकेर पार्टीहरू चुनावी तयारीमा जुटेका हुन् । यसै सन्दर्भमा जनता समाजवादी (जसपा) नेपालका झापा जिल्ला अध्यक्ष एवं युवा नेता दिपेन बाला राईसँग आसन्न स्थानीय चुनाव, झापामा जसपा पार्टीको संगठनात्मक अवस्था, केन्द्रमा नेताहरू डा.बाबुराम भट्टराई र उपेन्द्र यादवबीच बढेको दूरीलगायतका विषयमा वेबटिभी खबरले गरेको कुराकानीको संक्षिप्त अंश :
१.झापा जिल्लामा जसपाको सांगठनिक अवस्था कस्तो छ ? जिल्लाभित्र शक्तिको दृष्टिकोण जसपा कुन स्थानमा छ ?
➤हाम्रो संगठन झापा जिल्ला १५ वटै स्थानीय तहका सबै वडामा विस्तार भइसकेको छ । संघीय, क्षेत्रीय निर्वाचन र प्रदेश निर्वाचन क्षेत्रस्तरिय संगठन पनि निर्माण भइसकेको छ । शक्तिको हिसाबले हामी झापा जिल्लामा चौंथो स्थानमा छौँ । जसलाई थप मजबुत र सशक्त बनाउने काममा पार्टी निरन्तर लागि रहेका छ । जनताको पक्षमा जसपाले निरन्तर काम गरिरहेकाले हाम्रो पार्टी दिनप्रतिदिन जनता माझ लोकप्रिय हुँदै गएको छ ।
२. स्थानीय चुनावमा अघिल्लो पटक जसपाले कति स्थानमा जितेको थियो ?
➤अघिल्लो स्थानीय निर्वाचनमा हामीले झापा जिल्लाका कुनै पनि स्थानीय तहमा जित्न सकेनौँ । तर धेरै स्थानमा हामी निकटतम प्रतिद्वन्दी बनेका थियौँ । यसपटक हाम्रो उपस्थिति राम्रै हुने अपेक्षा छ र त्यसअनुसारको परिणामा ल्याउन हामी क्रियाशिल छौं ।
३. यसपटक कति ठाँउमा जित्ने अपेक्षा गर्नु भएको छ ? त्यसको आधार के हो ?
➤एकतापछि अहिले हाम्रो पार्टी थप बलियो बनेको छ । जसपाको राम्रो प्रभाव झापा जिल्लाभरि छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा झापा जिल्लाका केही स्थानीय तहको प्रमुख, उपप्रमुख र हरेक स्थानीय तहको केही वडामा हाम्रो पार्टीको नेतृत्व आउने अपेक्षा लिएका छौँ । त्यसमा हामी विश्वस्त पनि छौँ ।
झापा जिल्लाका १५ वटा स्थानीय तहमध्ये कम्तिमा २ वटा स्थानीय तहमा पार्टीको नेतृत्वले जित्ने र प्रत्यक स्थानीय तहको कम्तिमा एउटा वडामा पार्टीको जित हासिल गर्ने गरी हाम्रो तयारी छ । हामीले जित्ने आधार चाहिँ हाम्रो पार्टीले लिएका उद्देश्य, मुल्यमान्यता र जनपक्षिय काम नै हुन् । त्यस्तै पार्टीको बढ्दो सांगठनिक संरचना पनि चुनावमा जित हासिल गर्ने अर्काे आधार हो ।
हामीले आगामी निर्वाचनमा उठाउने उम्मेदवारको व्यक्तिगत प्रभावलाई पनि आधार मान्न सकिन्छ । यसैगरी गठनबन्ध गरेर चुनावमा जानका लागि संवाद पनि भइरहेकाले त्यसलाई पनि हामीले जित्ने आधारका रूपमा लिन सक्छौँ ।स्थानीय तह निर्वाचनमा पार्टीले गठबन्धन गरेको खण्डमा त्यो पनि एउटा महत्वपूर्ण अर्काे आधार हुन सक्छ । गठबन्धन गर्नका लागि अहिले जिल्ला तहमा विभिन्न तरिकाले संवाद भइरहेका छन् ।
४. केहीअघि जसपा फुटेर लोसपा गठन भयो । यसको प्रभाव झापामा परेको छ कि छैन ?
➤कुनै पनि पार्टी फुट्दा वा त्यसको कुनै पक्ष चोइटिएर जाँदा पार्टीलाई असर त परिहाल्छ । नपर्ने होइन । तर धेरै साथीहरू जसपामै भएका कारण झापाको सन्दर्भमा त्यसलाई पार्टी विभाजन भन्दा पनि एउटा पक्ष चोइटिएर गएको भन्नु सान्दर्भिक हुन्छ । केन्द्रीय सदस्यदेखि महत्वपूर्ण पदाधिकारी साथीहरू जसपामै भएका कारण पनि त्यसले झापामा खासै असर गरेको छैन ।
५.अहिले केन्द्रमा संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवबीच विवाद चुलिएका समाचारहरू आइरहेका छन् । भएको के हो ?
➤सामान्य मतभेद जुनसुकै पार्टीभित्र पनि हुन्छ । जुन हाम्रो पार्टीमा पनि देखिएको थियो । तर, त्यो विवाद अहिले समाधान भइसकेको अवस्था छ । पार्टी नै फुट्न आँट्यो भन्या जसरी मिडियामा आएका समाचारहरू भने भ्रामक हुन । वास्तविकता त्यस्तो हैन ।
पार्टीमा देखिएका मतभेदहरू मिलाउन पार्टीका शीर्ष नेताहरूले पटक-पटक छलफल गरिसकेको अवस्था छ । माथिल्लो स्तरबाट नै समस्याको समाधान भइसकको छ । अहिले मिडियामा आएका पार्टी विभाजन हुने कुरामा कुनै सत्यता देख्दिन । केही शक्ति केन्द्रहरूले पार्टी विभाजन गराउन चलखेल गरेको जस्तो देखिए पनि अहिले त्यस्तो कुनै समस्या देखिएको छैन । हामीले अहिलेसम्म विभाजित मानसिकतामा गएका छैनौँ ।
६. स्थानीय चुनाव आउन लाग्दा दुई नेताबीच बढेको दूरीले कत्तिको असर गर्छ ?
➤नेतृत्व तहको विवादले स्वभाविक रूपमा तल्लो तहसम्म असर त गर्छ नै । तर अहिले बाह्य रूपमा मात्र हल्ला चलेको हो । मेरो बुझाइअनुसार अहिले पार्टीभित्र कुनै विवाद वा समस्या छैन । सामान्य देखिएका मतभेदलाई विभिन्न चरणमा भएका बैठक छलफलहरू मार्फत समाधान भइसकेका छन् ।
पार्टीभित्र कुनै समस्या नभएको र बाह्यरूपमा हल्ला मात्र चलेकाले त्यसले खासै फरक पर्दैन जस्तो लाग्छ । शीर्ष नेताहरूले हल्लालाई हल्लामै सिमित राखेर पार्टीलाई कुनै पनि किसिमले असर नपर्ने गरी विवेकपूर्ण तरिकारले निर्णय गर्नुहुन्छ भन्नेमा म विश्वस्त छु ।
७. चुनाव नजिकिदैँ गर्दा पार्टीले चुनाव केन्द्रित के कस्ता कामहरू गरिरहेको छ ?
➤चुनाव घोषण हुनुभन्दा अघिदेखि नै हामीले सांगठनिक रूपमा चुनाव केन्द्रित भएर निरन्तर अभियान सञ्चालन गरिरहेकै छौं । हामीले देशभरका ७७ वटै जिल्लामा चुनाव केन्द्रित भएर संगठन सुदृढीकरण तथा जनपरिचालन ‘सुज’अभियान पनि चलाएको थियौँ । जसले चुनाव घोषणा भएपछि हामीलाई थप बल पुगेको छ ।
हामी संगठनलाई पुनर्गठन गर्ने, सदस्यता नविकरण गर्ने र आगामी निर्वाचनका लागि नेतृत्वलाई तयार गर्ने अभियानमै छौँ । जुनबेला निर्वाचन भएपनि हामी तयारी अवस्थामा छौं ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij