Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

मुस्ताङका १३ बस्ती नदीकटानको उच्च जोखिममा

मुस्ताङका १३ बस्ती नदीकटानको उच्च जोखिममा

  • 473
    SHARES
  • मुस्ताङका १३ बस्ती नदीकटानको उच्च जोखिममा

    मुस्ताङ । मुस्ताङका १३ वटा बस्ती कालीगण्डकी नदी कटानको उच्च जोखिममा परेका छन् । वर्षायाममा कालीगण्डकी नदीका कारण छुसाङदेखि लेतेसम्मका १३ बस्ती उच्च जोखिममा परेको जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा गरिएको एक अध्ययन अनुसन्धानले देखाएको हो ।

    बारागुङ मुक्तिक्षेत्रको समर तथा चैले, घरपझोङको स्याङ, ठिनी र थासाङ गाउँपालिकाको लार्जुङ, कोवाङ र सौरुलगायतका बस्ती उच्च जोखिममा रहेको उक्त अध्ययनले देखाएको छ । तापमान वृद्धिसँगै हिमताल फुट्ने र बाढीपहिराका कारण तटीय क्षेत्र उच्च जोखिममा रहेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।

    जलवायु परिवर्तनको असरका कारण हिमालपारिको जिल्ला मुस्ताङ भएर बग्ने नदी तथा खोलाकिनारका बस्ती उच्च जोखिममा पर्न थालेका छन् । त्यसैगरी हिमालमा हिमस्खलन हुने क्रम पनि बढ्दै गएको अध्ययनले देखाएको हाे ।

    हिमस्खलन बढेपछि सेता हिमाल काला पहाडमा परिणत हुँदै जानसक्ने खतरासमेत बढेको वातावरणवीद्हरुले बताएका छन् । मुस्ताङमा जलाधार क्षेत्र अनियन्त्रित बन्दै जान थालेको र पछिल्लो समयमा लुप्रा खोला, कागबेनी खोला, घरपझोङको ठिनी खोला र थासाङको तमो खोला, थापाखोलाले धार परिर्वतन गर्दै बस्तीमा जोखिम पुर्याएका वातावरणकर्मी सहदेव सिग्देलले बताए ।

    मुस्ताङमा असमान हिमपात हुने, हिमताल फुट्ने, हिमपहिरो जाँदा झनै जोखिम बढेको देखिएको छ । जलवायु परिवर्तनका कारण जमिनको तापमान वृद्धि हुँदा हिउँ पग्लने र भारी वर्षा हुन थालेका कारण कालीगण्डकी तथा सहायक खोलाका तटीय बस्ती उच्च जोखिममा परेका हुन् ।

    वर्षायाममा आउने बाढीले कटान बढ्दै गएपछि कालीगण्डकी नदी बस्ती छेउसम्मै आइपुगेको हो । कटान नरोकिएपछि यी बस्तीका स्थानीयवासी त्रसित भएका छन् ।कालीगण्डकी नदीको सतह वर्सेनि वृद्धि हुँदै जाँदा यी बस्ती जोखिममा परेका मुस्ताङका रोशन शेरचनले जानकारी दिए ।

    उनले पछिल्लो समय जलवायु परिवर्तनको मारमा मुस्ताङ रहेको बताउँदै कालीगण्डकी नदीको जलचक्र प्रणाली र मुस्ताङको खेतीपातीसमेत प्रभावित हुँदै गएको बताए । मुस्ताङमा गत मंसिरमा हिउँपहिरो गएको थियो ।

    मानापाथी हिमालमा गएको हिमपहिरोले यहाँको जनजीवन त्रसित बनाएको थियो । त्यसअघि २०२८, २०५२ र २०५९ सालमा धौलागिरि क्षेत्रमा गएको हिमपहिरोले मानवीय क्षति हुनका साथै पशु चौपाया मरेका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij