Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

विदेशी पर्यटकलाई हवाइ भाडामा छुट दिने सहमति

विदेशी पर्यटकलाई हवाइ भाडामा छुट दिने सहमति

  • 658
    SHARES
  • विदेशी पर्यटकलाई हवाइ भाडामा छुट दिने सहमति

    काठमाडौं । आन्तरिक उडानको हवाइ भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई पनि छुट दिइने भएको छ । यसका लागि पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति, बुद्ध एअरलाइन्स र यति एअरलाइन्स प्रालीबीच सहमति भएको हाे । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा बसेको बैठकले गत माघ २ गते पर्यटन क्षेत्र पुनरुत्थान निर्देशक समिति गठन गरेको थियो । समितिले आन्तरिक उडानको हवाइ भाडामा नेपाली नागरिक सरह नै विदेशी पर्यटकलाई छुटदिने सम्बन्धमा बुद्ध र यति एअरलाइन्स प्रालीबीच सहमति गराएको हो ।

    यसैगरी पर्यटन क्षेत्र पुनरुत्थानमा सहयोग गर्न होटल सङ्घ नेपालले विदेशी पर्यटकलाई होटलको कोठा भाडामा कम्तीमा पनि २० प्रतिशतसम्म छुट दिने निर्णय गरेको समितिले जनाएको छ । 

    विदेशबाट आउने नागरिकलाई हवाई भाडा चर्को भएको गुनासो बढेपछि समिति तथा एअरलाइन्सबीच हवाई भाडामा छुट दिने सहमति भएको समितिका संयोजक राजाराम गिरीले बताए ।

    उनले भने,‘विदेशबाट आउने पर्यटकलाई नेपाली नागरिक सरह भाडामा छुट दिने हाम्रो प्रयासमा दुई हवाई कम्पनीले सहमति गरेका छन्, अन्य हवाई कम्पनीसँग पनि छलफल बढाएका छौँ ।’ 

    समितिले कोभिड १९ को प्रभावका कारण थला परेका उद्योग, पर्यटन क्षेत्रको पुनरुत्थान, पर्यटन उद्योगको नयाँ सम्भावनाको खोजी, पहिचान तथा प्रर्वद्धन गर्न र यस क्षेत्रमा लगानीको उपयुक्त वातावरण तयार गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले सरोकारवालासँग समन्वय तथा सहकार्य गरी नीतिगत राय, परामर्श र सल्लाह सुझाव उपलव्ध गराउनका लागि आह्वान गरेको छ ।

    यसैगरी समितिले हाल कोभिड संक्रमण घट्दो क्रममा रहेकाले नेपाल सरकार मन्त्रिपरिषद्बाट जारी भएको विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश, २०७८ परिमार्जन गरी यात्रासम्बन्धी मापदण्डलाई थप सरलीकरण गर्न कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई अनुरोध गरिएको जनाएको छ ।

    समितिका संयोजक गिरीका अनुसार समितिले सिफारिस गरेको नीतिगत राय, परामर्श र सल्लाह सुझाव बमोजिम कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने कार्य प्रारम्भ गरिसकेको छ । 

    समितिको गत माघ २४ गतेको निर्णयानुसार पर्यटन उद्योगसम्बन्धी सात वटा विषयगत क्षेत्रमा आवश्यक तयारी गरी सुझाव दिन छुट्टाछुट्टै कार्य समूह तथा प्रदेशस्तरबाट सल्लाह सुझाव लिन मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशबाट प्रदेश प्रतिनिधिसमेत तोकिसकेको छ ।

    निकट भविष्यमै समितिले देशैभरिबाट पर्यटन क्षेत्रका सरोकारवालासँग वृहत अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्ने र प्राप्त सुझावलाई समावेश गरी पर्यटन क्षेत्रको पुनरुत्थानको विस्तृत प्रतिवेदन तयार गरी सार्वजनिक गर्ने योजना बनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij