Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

तेस्रो पटकको म्याद सकिँदै हुलाकी सडकको, निमार्ण कार्यले तीव्रता नपाउदा स्थानीयलाई सास्ती

तेस्रो पटकको म्याद सकिँदै हुलाकी सडकको, निमार्ण कार्यले तीव्रता नपाउदा स्थानीयलाई सास्ती

  • 365
    SHARES
  • तेस्रो पटकको म्याद सकिँदै हुलाकी सडकको, निमार्ण कार्यले तीव्रता नपाउदा स्थानीयलाई सास्ती

    परासी । निर्माण कम्पनीको लापरवाहीका कारण राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक निर्माणले तीव्रता नपाउँदा लामो समयदेखि स्थानीयवासीले सास्ती भोग्दै आएका छन् । सडक निर्माणमा ढिलासुस्ती हुनुका साथै गुणस्तरीय नभएको सर्वसाधारणको गुनासो छ ।

    नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को परासी-नारायणचोक हुलाकी सडक निर्माणमा ढिलासुस्ती हुँदा धुलो र खाल्डाखुल्डीले सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । सडक निर्माणमा निर्माण कम्पनीको चरम लापरवाही देखिएको जिल्ला समन्वय समितिका प्रमुख शिवशङ्करप्रसाद रायले बताए ।

    जनगुनासो धेरै आएपछि प्रमुख शिवशङ्करप्रसाद राय स्थलगत अनुगमनमा पुगेका थिए । प्रमुख रायले भने, ‘सडकमा गरिएको कालोपत्रको विषयमा धेरै गुनासो आएको छ, गुणस्तरीय नभएकाले यसको टिकाउमा प्रश्न उब्जेको छ, निर्माण पनि धेरै सुस्त देखियो, धुलो उडिरहेको छ, पानी हालिएको छैन ।’

    तेस्रो पटक थपिएको म्याद गुज्रन लाग्दा पनि हुलाकी सडक अधुरै छ । आगामी चैत मसान्तभित्र म्याद सकिँदैछ । कञ्चनजङ्गा-बिरुवा शिवशक्ति जेभी कन्स्ट्रक्शनले निर्माणको जिम्मा पाएको उक्त सडक १३ किलोमिटर दूरीको छ । २०७३ सालमा ठेक्का भई निर्माण सुरु भएको यो सडक दुई वर्षभित्र सम्पन्न भइसक्नुपर्ने भएपनि निर्माण कम्पनीले नदीजन्य पदार्थको अभाव, कोरोना महामारीलगायतका कारण देखाउँदै ढिलासुस्ती गर्दै आएको छ ।

    सुरुमा सडक डिभिजन कार्यालय बुटवलअन्तर्गत ठेक्का भएपनि पछिल्लो दुई वर्षदेखि यो सडक हुलाकी राजमार्ग आयोजना कार्यालय कपिलवस्तुलाई हस्तान्तरण भएपछि मात्र कामले तीव्रता पाएको निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रञ्जनकुमार ठाकुर बताए । सुरुमा सडक डिभिजनसँग समन्वय अभावले काम गर्न नसकिएको, कोरोना महामारी र चिसो मौसम तथा पानी परेका बेला कालोपत्र गर्न नमिल्ने भएकाले पनि केही ढिला भएको उनको भनाइ छ ।

    ‘कोरोना महामारीका कारण काम अघि बढाउन सकिएन तर अहिले ९० प्रतिशत काम सकिएको छ, अब ६०० मिटर कालोपत्र, फुटपाथ, ब्लक बिछ्याउने र इनामेल पेन्ट गर्ने काम मात्र बाँकी छ, कच्चा पदार्थ अभाव छ, हामी तोकिएकै समयमा निर्माण सम्पन्न गर्न लागिपरेका छौं’, उनले भने ।

    सडकखण्डअन्तर्गत पर्ने कल्भर्ट र पुल छेउछाउ १०० मिटरभन्दा बढी कालोपत्र नगरी छाड्दा त्यहाँ रहेका ठूलाठूला खाल्डाखुल्डीले दुर्घटना हुने गरेको यात्रुको गुनासो छ । कालोपत्र सकिन नपाउँदै ठाउँठाउँमा भत्किएको छ । पक्की नगरी छाडिएको खण्डमा पानी नहाल्दा धुलोले यात्रु र स्थानीयवासीले सास्ती पाउँदै आएका छन् ।

    सडकका दायाँबायाँ पेटी व्यवस्थित गरिएको छैन । सहरी क्षेत्रमा नाला निर्माण गरिए पनि निकास र ढक्कन राखिएको छैन । ३ किलोमिटर फुटपाथ निर्माण हुनै बाँकी छ । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले सडक निर्माणमा ढिलासुस्तीसँगै गुणस्तर नभएको गुनासो आएकाले गुणस्तर भए/नभएको हेर्ने काम भइरहेको बताए ।

    बाटो निर्माण हुँदै गर्दा भत्किनु सामान्य विषय नभएकाले यस विषयमा निर्माण कम्पनीसँग बुझ्ने र गुणस्तरहीन भएमा कारबाहीका लागि निर्देशन दिने उनले बताए । स्थलगत अनुगमन गरी सडक निर्माणमा देखिएका कमीकमजोरी सुधार गर्न निर्माण कम्पनीलाई निर्देशन गरिएको प्रजिअ मिश्रले जानकारी दिए ।

    हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका योजना प्रमुख विष्णुबाबु पाण्डेले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न र गुणस्तरीय बनाउन निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । यो सडकको ठेक्का पुरानो रहेको र चिपसिल प्रविधिबाट बनिरहेकाले अस्फाल्ट प्रविधिको जस्तो चिल्लो कालोपत्र नहुने भन्दै उनको भनाइ छ ।

    उनले भने, ‘यो गुणस्तरहीन होइन, प्रविधि नै यस्तो हो, सवारीसाधन कम गुड्ने सडकमा यो प्रविधिबाट कालोपत्र गरिन्छ ।’ ११ मिटर चौडाइ रहेको र साढे सात मिटरमा कालोपत्र गरिएको योजना प्रमुख पाण्डेले जानकारी दिए । हुलाकी राजमार्ग योजना कार्यालयको निगरानी र अनुगमन नहुँदा सडक निर्माणमा निर्माण कम्पनीले लापरवाही गरेको स्थानीयवासीको गुनासो छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij