मिलन दाहाल
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय समितिमा युवाको पनि बाक्लै प्रवेश भयो । त्यसैमध्येमा पहिलो प्रयासमै खुलातर्फ केन्द्रीय सदस्यमा अजयबाबु शिवाकोटीले जित हासिल गरे ।
पत्रकारिता पृष्ठभूमिबाट राजनीतिमा होमिएका शिवाकोटी दोलखाबाट महाधिवेशन प्रतिनिधि चुनिएर केन्द्रीय सदस्यमा पनि सहज जित्ने उम्मेदवारमा पर्छन । निर्भिक पत्रकारिता गरेर चर्चामा आएका शिवाकोटीले लोकप्रिय मत पाएका थिए ।
प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराको यौनकाण्ड र तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घुसकाण्डको अडियो शिवाकोटीले सञ्चालन गरेको अनलाइन हाम्राकुरा डटकममा ब्रेक गरिएको थियो । शिवाकोटीले अडियो सार्वजनिक गरेपछि दुबैको पद गुम्यो । यी दुई अडियो सार्वजनिक गरेर निर्भिक पत्रकारको रुपमा शिवाकोटीको चर्चा चुलिएको थियो ।
चर्चा चुलिएकै बेला पत्रकारिताको यात्रालाई रोकेर कांग्रेसको १४औं महाधिवेशनबाट उनले आगामी यात्रा राजनीतिमार्फत गर्ने भनेर अघि बढेका छन् । राजनीतिमा युवाको हस्तक्षेपकारी उपस्थिति आवश्यक रहेकै बेला शिवाकोटीको कांग्रेस केन्द्रीय सदस्यमा भएको जितले आशाको संचार गराएको छ । राजनीतिमार्फत कसरी जनताको पक्षमा काम गर्छन भन्ने विषयमा वेबटिभी खबरले शिवाकोटीसँग गरेको कुराकानीको सम्पादित अंश :
पत्रकारितामा तपाईंको नाम र चर्चा चुलिएकै बेला अचानक राजनीतिमा लाग्नु भयो नि ?
म करिब २० वर्ष सक्रिय पत्रकारिता क्षेत्रमा रहें । अचानक राजनीतिमा लागेको नभएर यस क्षेत्रमा लागेर जति पनि अनुभव र ज्ञानहरू हासिल भए त्यसलाई राजनीतिमार्फत सदुपयोग गर्नका लागि हो ।
एउटा समय आएपछि मान्छे कतै न कतै सिफ्ट पनि चाहँदो पनि रहेछ । नयाँ कुराको अनुभव लिने इच्छाहरू पनि जाग्दा रहेछन् । मलाई पनि ती कुराहरूले प्रेरित गरे । पत्रकारितामा जति काम मैले त्यहीँ रहेर गरें, अझ बढी पनि गर्न सकिन्थ्यो । राजनीतिलाई सजग गराउने पेशा हो पत्रकारिता । खबरदारी गर्नुभन्दा पनि आफैं त्यो ठाउँमा पुगेर काम गर्दा अझ बढी प्रभावकारी हुन्छ भनेर सक्रिय पत्रकारितालाई बिट मारेर राजनीतिमा आएको हुँ ।
मैले चाहना गर्दैमा यहाँ आइपुग्न त सम्भव थिएन । तर, मलाई देशभरका कांग्रेस नेता तथा कार्यकर्ताले जिताएर यो सम्मान दिनु भएको छ ।
राजनीतिमा लाग्न के कुराले प्रेरित गर्याे ?
पत्रकारितामा मैले बुझेका, प्राप्त गरेका ज्ञान र अनुभवले नै मलाई राजनीतिमा लाग्न प्रेरित गर्याे । पत्रकारिताबाट राजनीतिज्ञलाई खबरदारी र सचेत बनाउन मात्र सकिन्थ्यो ।
पत्रकारितामै बसेर राजनीतिमा हस्तक्षेप गर्न सकिँदैन थियो । राजनीतिमा युवाले हस्तक्षेप गर्नुपर्छ भन्ने सधैं लागि रहन्थ्यो । ती कुराले पनि मलाई राजनीतिमा लाग्न प्रेरित गर्याे।
पत्रकारिता गर्दाको आफ्नो बुझाइ, ज्ञान र अनुभवलाई सचेत खबरदारीमा मात्र सीमित नराखी अझ प्रभावकारी ढंगले कार्यान्वयन नै गर्न सकिन्छ भनेर राजनीतिमा म आएको हुँ । मेरो पत्रकारिताबाट राजनीतितर्फको बाटो यसरी मोडिएको हो ।
केन्द्रीय सदस्य चुनिएपछि पार्टीको बैठकहरूमा सहभागी हुनुभयो । सुरुवातको अनुभव कस्तो रह्यो ?
म केन्द्रीय सदस्य चुनिएपछि तीन वटा बैठकमा सहभागी भएँ । त्यसमध्ये एउटा त जुम मिटिङ थियो । दुई वटा बैठकमा प्रत्यक्ष सहभागी भएँ ।
केन्द्रीय समितिको पहिलो बैठक औपचारिकतामै सीमित भयो । दोस्रो बैठक पनि राष्ट्रियसभाको बैठकमै केन्द्रित भएकाले छोटो भयो । यी तीन वटा बैठकमा मैले आफ्नो धारणा राख्न पाएको छैन । अहिलेसम्म बैठकमा सहभागी हुने र माइन्युटमा हस्ताक्षर गर्ने काम मात्र भएको छ ।
आवश्यकता र एजेण्डाका आधारमा मैले बैठकमा आफ्नो धारणा राख्ने नै छु । उपयुक्त समयमा युवाको आवाजलाई पार्टीको केन्द्रीय समितिमा बुलन्द बनाउँछु । यसमा द्विविधा छैन ।
कांग्रेस बैठकको रिपोर्टिङ गर्ने भूमिकाबाट बैठकमा मत व्यक्त गर्ने ठाउँमा पुग्दा कस्तो महसुस भयो ?
मैले पत्रकारिता सुरु गरेदेखि नै नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकको रिर्पाेटिङ गर्दै आएको व्यक्ति हुँ । हिजोका दिनसम्म आफू त्यहाँ रिर्पाेटिङ गर्न पुग्दा र अहिले त्यही केन्द्रीय समितिको बैठकमा सहभागी हुँदा अलि फरक अनुभूति हुनु स्वभाविक हो । अझ बैठकको विषयमा पत्रकार साथीहरूलाई नै आफूले केन्द्रीय सदस्यका रूपमा जानकारी दिनुपर्दा फरक लाग्ने नै भयो । हेर्दाहेर्दै मेरो भूमिका फेरियो ।
कांग्रेस केन्द्रीय कार्यालयमा बाहिर बसेर रिपोर्टिङ गर्दा र बैठकमा बसेर सहभागी हुँदाका अलग–अलग अनुभूति हुने भयो नै । मैले पत्रकारिता सुरु गर्दा वा नेपाली कांग्रेसबारे रिर्पाेटिङ गर्दा कुनै दिन म कांग्रेसको केन्द्रीय सदस्यको भूमिकामा आइपुग्छु भनेर सोचेको थिइनँ । फेरिएको भूमिकाले ऊर्जा थपेको छ । सबैले जुन सद्भाव राखेर मलाई यो ठाउँमा जिताएर पुर्याउनु भयो त्यो जिम्मेवारीलाई प्रभावकारी ढंगले निर्वाह गर्छु ।
गौरवशाली इतिहास बोकेको पार्टीको केन्द्रीय समितिमा पुग्नु आफैंमा एउटा ठूलो सम्मान हो । रााणा शासन फ्याल्ने २००७ सालको आन्दोलन, पञ्चायती निरंकुश शासन फ्याल्ने २०४६ सालको आन्दोलन र गणतन्त्र ल्याउने २०६२/०६३ को जनआन्दोलनको नेतृत्व गरेको दलको केन्द्रीय सदस्य हुनु आफैंमा एउटा ठूलो सम्मान हो ।
युवा वा नयाँ केन्द्रीय सदस्यका विचारहरू पार्टी नेतृत्वले कत्तिका सुन्दो रहेछ ?
पहिलो बैठकदेखि तेस्रो बैठकसम्म आइपुग्दा केन्द्रीय समितिको बैठकका एजेण्डा धेरै नभएकाले हामी छलफलमा जोडिन पाएका छैनौं । नेतृत्वले नयाँ र युवा केन्द्रीय सदस्यको भरोसा लिनुपर्ने विषय आउँदा आवश्य पनि हाम्रो कुरा सुनिन्छ ।
शीर्ष नेताहरूले युवाको कुरा सुन्ने वातावरण बनाउने हाम्रै हातमा छ । हामीले नेतृत्वलाई भरोसा दिलाउन सक्नुपर्छ । हाम्रै व्यवहार र कामबाट नेतृत्वको दृष्टिकोण बन्ने हो । अहिलेसम्म हामीले नेताहरूले कसरी हेर्नुहुन्छ भन्ने व्यवहारबाट हेर्न भने पाइसकेका छैनौं ।
यद्यपी अहिले नयाँ आएका युवा महामन्त्रीहरूको भूमिका पछिल्लो समय प्रभावकारी देखिएको छ । गम्भीर विषयमा युवा महामन्त्रीहरूको प्रभावकारी संलग्नताले आशा जगाएको छ ।
पार्टीलाई विधिसम्मत चलाउन पनि महामन्त्रीहरू लागि रहेका छन् । पहिला लामो समयसम्म कार्यसम्पादन समिति बन्न सकेको थिएन । बने पनि विवाद भएर कार्यान्वयनमा आउन सकेन । अहिले तुरुन्तै कार्यसम्पादन समिति गठन भइकन बैठक बसेर निर्णयसमेत भयो ।
विधासम्मत पार्टी चलाउने कुरा, महामन्त्रीहरूले राखेका कुरा, निर्णय कार्यान्वयन, पार्टीलाई गतिशील बनाउने कुराहरू नेतृत्वले तत्काल ग्रहण गरेको पाइएको छ ।
समग्रमा नयाँ र युवा केन्द्रीय सदस्यमार्फत गएका प्रस्तावहरूमा जसरी कार्यान्वय भएर आइरहेका छन् । त्यसलाई हेर्दा सन्तोष मान्ने अवस्था चाहीं छ ।
युवाहरूको विचारलाई पार्टीमा स्थापित गराउन कस्ता प्रयास गर्नुहुन्छ ?
खासगरी युवाहरूले उठाउने र उठाइरहेको कुरा पार्टीलाई विधिसम्मत चलाउनुपर्छ भन्ने हो । विधिसम्मत पार्टी चल्ने वित्तिकै धेरै समस्या समाधान हुँदै जान्छ र पार्टी सहि दिसामा जान्छ ।
यहि कुरालाई हामी पहिला कार्यान्वयन गराउन दबाब दिन्छौं । अहिले पार्टीभित्र हामीले स्थापित गर्न खोजेको विषय पनि विधिको पालना नै हो ।
विधान र लोकतान्त्रिक ढंगले पार्टी अघि बढाउने विषयमा हामीले केन्द्रीय समितिमा स्थापित गराउन भूमिका निर्वाह गर्छाैं । पार्टीभित्र देखिएको ध्रुविकरणले पार्ने असरहरूका बारेमा हामीले मिहिन रूपमा आफ्नो धारणा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबाहादुर देउवा समक्ष राखेका छौं । पार्टी सभापतिले हामीले राखेका यस्ता कुरालाई गम्भीर रूपमा सुन्नु भयो । त्यसलाई हेर्दा पनि केन्द्रीय नेतृत्वले युवा नेता कार्यकताहरूको आवाज पनि सुन्छ भन्ने कुरालाई पुष्टि गर्छ । कहीं कतै कमजोरी भएको छ भने त्यसलाई हामीले हाम्रो तर्फबाट सचेत गराउँछौँ ।
अब अलिकति पत्रकारितामै फर्कौं । पत्रकारितामा रहँदा शक्तिशाली राजनीतिक हस्तिहरूको यौन र भ्रष्टाचारका अडियो सार्वजनिक गर्नु भयो । त्यसबेला तपाईंलाई धम्कीहरू आएनन् ?
मैले सम्प्रेशण गरेका समाचारले जसलाई प्रभाव पर्यो उहाँहरूको तर्फबाट प्रत्यक्ष–अप्रत्यक्ष ढंगले धम्की आएका थिए । दुई वटा घटनाहरू मसँग छन् जसलाई सम्झिँदा अहिले पनि शरीरमा काँडा उम्रिए जस्तो हुन्छ । त्यतिबेला एक किसिमको त्रास थियो । त्यो त्रास अहिले पनि महसुस गरिरहेको छु ।
आक्रमण गर्ने, कार्यालयमा तोडफोड गर्ने, घरमा ढुकेर बस्ने गतिविधि भए । मानिसहरू लगाएर कुट्न लगाउँछु भन्नेलगायतका धम्की आएका थिए । त्यतिबेला प्रहरीले सुरक्षाको व्यवस्था कडा बनाएको थियो । घर र अफिसमा प्रहरीले सुरक्षाको प्रत्याभूति गराएको थियो ।
समाचारका कारण उहाँहरूले शक्तिशाली पदहरू गुमाउनु परेको थियो । उहाँहरूको त्यस बेलाको रिस मरिसकेको होला कि नहोला भन्ने त मैले भन्न सक्दिनँ । अपराधिक घटनाका व्यक्तिहरूले घटना घटेका कम्तिमा दश वर्षसम्म प्रतिशोध लिन सक्छ भन्ने विभिन्न अपराध अध्यनले देखाएका छन् । यो घटना करिब २/३ वर्षअघि भएको थियो । यसकारण अहिले म पूर्ण रूपमा सुरक्षित छु भन्न सक्ने अवस्था छैन । भोलिका दिनमा ती व्यक्तिहरूले कुनै न कुनै ढंगबाट बदला लिन सक्छन् भन्ने पनि लाग्छ । अहिले नै यो विषयमा मैले यही नै हुन्छ भन्न सक्ने अवस्था छैन । अहिले पनि पलपलमा सचेत हुनुपर्ने अवस्था छ ।
अबका दिनमा पत्रकारितालाई पनि साथै लैजानु हुन्छ कि विशुद्ध राजनीति गर्नुहुन्छ ?
म प्रेस युनियनबाट पार्टीको राजनीतिमा गइसकेकाले मैले उम्मेदवारी घोषणासँगै सक्रिय पत्रकारिताबाट विश्राम लिएको कुरा बताइसकेको छु । म जुन संस्थामा आबद्ध थिएँ, त्यो संस्थाबाट भने बिदा भएको छैन । अझै पनि म त्यो संस्थाको अध्यक्षको रूपमा सक्रिय छु । तर न्युज रुमबाट भने म बाहिरिएको छु । म पत्रकारिताको राजनीतिबाट पनि बाहिरिएको छु । अहिले म पूर्ण रूपमा सक्रिय राजनीतिमा केन्द्रित भएर अघि बढेको छु ।
स्थानीय चुनाव नजिकिँदै छ । यो चुनावमा कांग्रेसको अवस्था कस्तो हुने आशा राख्नु भएको छ ?
लोकतन्त्र, संघीयता र संविधानको रक्षा गर्ने कांग्रेस नै हो भन्ने विगत ४ वर्षमा स्पष्ट भइसकेको छ । अघिल्लो चुनावमा कांग्रेस दोस्रो पोजिशनमा भए पनि अबको चुनावबाट पहिलो स्थानमा जाने निश्चित छ । हामी कांग्रेसलाई पहिलो शक्ति बनाउने अभियानमा जुट्छौं ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij