काठमाडौं । कोभिड-१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.सागरराज भण्डारीले अहिले देखिएको भाइरसले कडा खालको रहेकाले सर्तकता अपनाउन आग्रह गरे ।
‘पहिल्यैकै भाइरसको नयाँ स्वरुपमा अहिलेको भाइरस देखिएको छ । यसको अर्को मानिसमा सार्न सक्ने क्षमता पनि बढी हुन्छ’, उनले भने, ‘त्यसैले स्वास्थ्यका मापदण्ड अपनाई भाइरस सर्नबाट बच्नुपर्दछ ।’
भाइरसको पहिलेकै जस्तै लक्षण देखिने गरे पनि मृत्यु हुने दर पनि बढिरहेको उनको भनाइ छ । संक्रमितबाट यस भाइरस सार्ने सम्भावना ७० प्रतिशत हुने गरेको छ ।
संक्रमणबाट बच्न खोपभन्दा पनि भौतिक दूरी कायम राख्ने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने र साबुनपानीले बारम्बार हात धुनु पर्दछ ।
अस्पतालका प्रवक्ता डा.अनुप बाँस्तोलाले मापदण्ड पालना नगर्दा अहिलेको भाइरस देखिएको बताए । उनकाअनुसार विद्यालय, भीडभाड हुने ठाउँ, पार्टीप्यालेस, गाडी जस्ता ठाउँबाट भाइरस फैलिने गरेको बताए ।
अहिले देखिएको भाइरस बालबालिका, युवा र ५० वर्षमुनिका व्यक्तिलाई पनि देखिने गरेको छ । पछिल्लो एक महिनादेखि यस कडाखालको भाइरसले गर्दा बिरामी पनि ह्वात्तै बढेको पाइन्छ ।
शुक्रराज ट्रपिकल अस्पताल प्रवक्ता डा.बाँस्तोलाले समुदायस्तरमा यस खालको भाइरस ह्वात्तै बढेको बताए । उनले यस किसिमको भाइरसको लक्षण लामो समयसम्म रहने, यही नै लक्षण हो भन्ने पनि पहिचान गर्न नसकिने बताए ।
संक्रमतिलाई चाँडै नै निमोनिया हुने सम्भावना पनि रहेको हुन्छ । पहिलेको भाइरसभन्दा यस भाइरसले १।६ प्रतिशत मृत्युदर पनि बढी गराउने उनको भनाइ छ ।
यस्तै कोभिड-१९ को गत वर्ष पाँच प्रतिशत बालबालिका संक्रमति भएका थिए भने अहिले १५ देखि २० प्रतिशत बालबालिका देखिएको उनले बताए । बालबालिकामा ज्वरो, झाडापखला, रुघा लाग्ने जस्ता लक्षण देखिएका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले नेपालमा नयाँ खालका भाइरस बढ्दो रुपमा फैलिरहेको बताए ।
उनकाअनुसार अहिले नमूना परीक्षण गर्दा २०० भन्दा बढी व्यक्तिमा नयाँ खालका भाइरस रहेको बताए ।
भाइरस पत्ता लगाउन जीन सिक्वेन्सिङ
अहिले नेपालमा देखिएको भाइरस नयाँ खालको भए पनि कस्तो किसिमको हो भन्ने अझै पत्ता लागिसकेको छैन ।
‘नमूना परीक्षणमा भाइरसको नयाँ प्रकारको मात्रा देखिएको छ’ उनले भने, ‘परीक्षणका क्रममा भाइरसको ‘एस’ जीन नेगेटिभ देखिएकाले भाइरस साँच्चीकै नयाँ भाइरस भन्ने छ । अणुवांशिक (जीन सिक्वेन्सिङ) को पूरा मात्रा परीक्षण गरेर कस्तो भाइरस हो भन्ने पत्ता लाग्दछ ।’
नेपालमा यस खालको भाइरसको जीन सिक्वेन्सिङको पूरा मात्राको परीक्षण गर्न जनशक्ति र प्रयोगशाला नभएको उनले जानकारी दिए ।
उनका अनुसार त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका उपकरणले भाइरसको जीन सिक्वेन्सिङ गर्ने तयारी भइरहेको बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जीन सिक्वेन्सिङको परीक्षणका लागि उपकरण ल्याउन थालिएको जानकारी दिए ।
उनले उपकरण आइसकेपछि एक हप्तामा जीन सिक्वेन्सिङको परीक्षण नेपालमा हुने जानकारी दिए । अहिले विश्व स्वास्थ्य संगठनको समन्वयमा जीन सिक्वेन्सिङका लागि हङ्कङमा नमूना पठाइने गरिएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij