Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

नरभक्षी बाघ नियन्त्रणमा

नरभक्षी बाघ नियन्त्रणमा

  • 477
    SHARES
  • नरभक्षी बाघ नियन्त्रणमा

    काठमाडौं । बाँकेमा मान्छेमाथि आक्रमण गरी ज्यान लिइरहेको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । राप्तीसोनारी गाउँपालिका–६ फत्तेपुरको जंगलबाट बुधबार बिहान साढे १० बजे बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिइएको हो ।

    फत्तेपुरस्थित सिक्टाको पूर्वी नहरपारि राप्तीपीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलले जानकारी दिए । उनले भने, ‘बिहान ९ः४० बजेतिर डाट हानेको बाघलाई साढे १० बजे फेला पारिएको हो । करिब आठ वर्षको भाले बाघ नियन्त्रणमा आएको छ ।'

    उक्त स्थानमा बाघको आहाराका लागि १२ दिनदेखि पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई मंगलबार नै सिकार गरेकोमा आज बिहान नियन्त्रणमा लिन सफल भएको कँडेलले बताए ।

    पाडोलाई सिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता समितिलगायतको टोलीले नियन्त्रणमा लिएको हो ।

    बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी पाँच महिनामा बाघको आक्रमणमा परेर पाँचजनाले ज्यान गुमाइसकेका छन् । धेरै प्रयास गर्दा पनि लामो समयसम्म नरभक्षी बाघ नियन्त्रणमा लिन सकिएको थिएन । बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दा त्रासमा बसिरहेका थिए ।

    यसैबीच सो बाघलाई बाँके राष्ट्रिय निकुञ्जलाई जिम्मा लगाउन आवश्यक तयारीसहित ओभरी शम्शेरगञ्ज लैजान लागिएको प्रमुख वन अधिकृत कंडेलले जानकारी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij