वेबटिभी खबर
जनकपुर । नेपालको कानूनमा २० वर्ष उमेर नपुगी बिवाह गर्न नपाइने व्यवस्था रहेपनि धनुषामा अझै बालबिवाह भइरहेको छ । केटा र केटीको उमेर २० वर्ष नपुगी बिवाह गर्नु हुन, त्यस्तो बिवाह कानूनीरुपमा स्वतःबदर हुन्छ र दण्डितसमेत हुने कुरा अधिकांशलाई थाहा नहुँदा सानै उमेरमा बिवाह गराई दिनेक्रम बढेको हो ।
बालबिवाह हुनेक्रम बढेपछि धनुषा प्रहरीले बालबिवाह रोक्न विशेष अभियान नै चलाएको छ । अभियानअन्तर्गत बिगत डेढ महिनाको अवधिमा धनुषामा ९ वटा बालबिवाह रोकाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
कोही जानीजानी वा कोही नजानी छोराछोरीको बिवाह गराउने प्रवृत्ति ह्वातै बढेपछि बालबिवाह रोक्नका लागि अभियान नै चलाइएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । अभिभावलाई बालबिवाह कानूनी रुपमा अपराध भएको र बालबिवाह गराए कानूनी कारवाही हुनेबारेमा जनचेतनामूलक कार्यक्रमसँगै बालबिवाह रोक्ने अभियान चलाउँदै आएको उनको भनाइ छ ।
‘सामुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत गाउँ-गाउँमा बालबिवाहबारे अन्तक्र्रियासँगै बालबिवाह भइरहेको सूचना पाए तत्कालै रोकाउने गरेका छौ’, प्रहरी नायब उपरीक्षक बस्नेतले भने । ‘यसबाट विगतको भन्दा बालबिवाहमा कमी आउने विश्वास लिएका छौं ।’
गत माघ महिनायता जिल्लाभरि ९ वटा बालबिवाह रोकाइएको उनले बताए । ‘बालबिवाह हुँदैछ भन्ने जानकारी पाएपछि हामी त्यहाँ पुग्छौं’, उनले भने, ‘बास्तवमै उमेर नपुगेर बिवाह भइरहेको पाइएपछि अभिभावक, न्यायिक समिति, नागरिक समाजल गायतका व्यक्तिको समन्वयमा बालबिवाह रोकाइरहेका छौं ।’
प्रहरीले बिवाह रोक्दा कतिपय अभिभावकले त्यसलाई सहजरुपमै लिने गरिए पनि अधिकांशले निराशा र चिन्ता नै व्यक्त गर्ने गरेका छन् । ‘केटी पक्षले राम्रो केटा र घर हेरे बिवाह तय गर्ने गरेका छन्’, धनुषाको विदेह नगरपालिका-६ निवासी बिजय मण्डलले भने,
‘बिवाह कुरा गरिरहँदा केटा र केटीको उमेरको कुरै चल्दैन, यसबारे छलफल भएपनि उमेरलाई खासै वास्ता गरिँदैन ।’ कानूनी व्यवस्थाबारे धेरैलाई थाहै हुँदैन, कतिपयलाई थाहा भएपनि वास्ता नगर्ने उनको भनाइ छ ।
कानूनी कुराको ज्ञान नभएकाले ठूलो रकम खर्चिएर बिवाहको तयारी गर्ने अन्तिममा जन्ती आउने बेलामा बिवाह रोकिइदिएपछि अभिभावक अप्ठ्यारोमा पर्ने गरेका छन् । आफूहरुलाई छोरीको बिवाह गर्न २० वर्ष पुग्नैपर्छ भन्ने विषयमा जानकारी नभएकाले सानै उमेरमा छोरीको बिवाह गराउन लागेको बालबिवाह रोकिएका अधिकांश अभिभावकको भनाइ छ ।
कतिपय अभिभावकमा बालबिवाह कानूनी अपराध हो सानैमा बिवाह गरिए कानूनी दण्ड र सजाय भोग्नुपर्छ भन्ने कुराको थाहाँ नभएकाले छोराछोरीको उमेर नपुग्नै विवाह गराइरहेका छन् भने कतिपयले कानूनी कुरा बुझेर पनि दाइजोको लोभ, राम्रो केटा र घर पाएपछि बिवाह भएका कारण बालबिवाह गराइरहेको बुद्धिजीवीको भनाइ छ ।
‘नेपालको कानूनले २० वर्षभन्दा कम उमेरमा बिवाह गर्न बन्देज गरेको भएपनि अझै बालबिवाह हुँदै आएको छ’, बुद्धिजीवी तथा दलित अगुवा सिजेन्द्र सदाले भने, ‘उमेर पुगेपछि छोरीलाई भने जस्तो केटा नपाइने, केटा पाइहाले पनि धेरै दाइजो दिनुपर्ने त्रासका कारण सानै उमेरमा विवाह गर्ने प्रवृत्ति मौलाएको छ ।’
‘हामीले पछिल्लो केही वर्षदेखि गाउँगाउँ, विद्यालयमा पुगेर बालबिवाहबाट हुने असर, त्यसले महिलामा पुग्ने कुप्रभावका विषयमा अभिभावक र बालबालिकाबीच सचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएका छौं’, अगुवा सदाले भने, ‘बालबिवाह न्यूनीकरणका लागि सचेतना अभियान सञ्चालन गरिएपनि यसको अन्त्य भएको छैन् ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij