Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

लालीगुराँससँग रमाउँदै पर्यटक 

लालीगुराँससँग रमाउँदै पर्यटक 

  • 466
    SHARES
  • लालीगुराँससँग रमाउँदै पर्यटक 

    गलेश्वर । चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष समयभन्दा पहिले नै फुलेर जंगल राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् । यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जंगल राताम्यै देखिएका हुन् ।

    यतिबेला म्याग्दीका अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जंगलमा ढकमक्क लालीगुराँस फुलेर बन पाखा राताम्यै देखिन थालेका छन् । फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् ।

    जिल्लाका जंगलमा पुसदेखि लालीगुराँस फुल्नाका साथै जंगली फलफूल र कन्दमूल पाक्न थालेका छन् । यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जंगली फलको मौसमी चक्र परिवर्तन हुनुमा जलवायु परिवर्तनको प्रत्येक्ष असर परेको वातावरणविद्ले बताएका छन् ।

    लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजंगल रंगीविरंगी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । ‘लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ’, बेनी नगरपालिका-२ ज्यामरुककोटका बृद्ध वेदप्रसाद उपाध्यायले बताए ।

    लागीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमा पनि यसको असर देखिएको मालिका गाउँपालिका-३ का जगबहादुर बिकले बताए । उनले भने, ‘अहिले बेमौसममा नै काफल, तिजुलगायत जंगली फल पाकेको र गुराँस फुलेको देख्नपाइएको छ ।’

    वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार स्वभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् ।

    उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij