वेबटिभी खबर
गलेश्वर । देशका विभिन्न सहरबाट म्याग्दीको सदरमुकाम बेनी आउने र बेनीबाट जिल्लाका विभिन्न ग्रामीण भेगमा जाने सवारीसाधन खाद्यान्न, फलफूल, तरकारी, निर्माण सामग्री लगायतका साधनले खचाखच भएर गाउँ जाने भएपनि गाउँबाट फर्किदा भने रित्तै फर्कने गरेका छन् ।
जिल्लाभित्र सञ्चालित तीन दर्जन भन्दा बढी ग्रामीण सडकमा आवतजावत गर्ने सवारी साधनमा मानिस कम र उपभोग्य तथा निर्माण सामग्रीका साधन बढी ढुवानी हुने गर्दछन् । गाउँ जाँदा सामानले खचाखच हुने ती सवारी साधन गाउँबाट फर्किदा भने रित्तै फर्किने गरेको यातायात व्यवसायी तथा व्यापारीले बताएका हुन् ।
जिल्लाको ग्रामीण क्षेत्र पछिल्लो पटक व्यवसायिक कृषि र पशुपालनमा उल्लेख्य प्रगति भएपनि देखिनेगरी परिणाम आउन नसकेको हो ।
केही वर्षयता विदेशबाट गाउँ फर्किएका युवाले व्यवसायिक रूपमा तरकारी तथा फलफूल खेती, बाख्रा, कुखुरा र पशुपालन गरेर नियमित रूपमा निर्यात गर्नसक्ने अवस्था बनिनसकेकोले गाउँ जाँदा खचाखच भरिएर जाने यातायातका साधन फर्किदा भने रित्तै हुने गरेको उद्योग वाणिज्य संघका भूतपूर्व अध्यक्ष जीवनकुमार विश्वकर्माले बताए ।
जिल्लाका ग्रामीण भेगमा सडकको पहुँच पुगेपनि थप सुविधाका लागि गाउँ छोडेर सहर पस्ने क्रम बढ्दै गएको स्थानीयवासीले बताएका छन् ।
‘गाउँमा रहेका पुराना घर रित्तै छन्, पछि बनेका घर स्थानीय स्रोतसाधनको प्रयोग नगरी रड र सिमेन्टको प्रयोगबाट पक्की घर निर्माण हुँदै छन्’, धौलागिरि गाउँपालिका ६ का इन्दु सुवेदीले भनिन्, ‘मानिस नबस्ने तर घर भने पक्की बनाउने रहरले गर्दा गाउँमा निर्माण सामग्री लिएर सवारी साधन बढी भित्रिने गरेको र ती साधन फर्किदा रित्तै फर्किने गरेका उनको भनाइ छ ।’
गाउँमा घर निर्माण हुने क्रम बढेपनि युवा जनशक्ति भने घट्दै गएका छन् । वैदेशिक रोजगार, बसाइँसराइ, जागिर र अध्ययनका लागि ठूलो संख्यामा युवा गाउँ बाहिर रहँदा उत्पादन जन्य कार्य रोकिएको स्थानीय बासिन्दाको भनाइ रहेको छ । म्याग्दीको उत्तरी र पश्चिमी क्षेत्र कृषि, पशुपालन, वन पैदावर र जडीबुटीको भण्डार मानिन्छ ।
उत्तरी र म्याग्दीका १७ वटा गाउँ उत्पादकत्वको हिसाबले उत्कृष्ट गाउँ मानिए पनि गाउँले अझै पनि बजारबाट ट्रयाक्सी र जीपमा गाउँ आउने मालिका गाउँपालिका-२ का श्यामबहादुर विकले बताए ।
पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोट, ताकम, मुना, मुदी, बिम, गुर्जा र उत्तरी म्याग्दीका नारच्याङ, शिख, घार, भूरुङ तातोपानी, दोबा, हिस्तानलगायतका गाउँ कृषि उपज र वनपैदावरका लागि अत्यन्त सम्भावना युक्त गाउँ मानिन्छ यहाँको उत्पादनले नपुगेर गाउँलेले आयातित खाद्यान्न खानुपरेको नारच्याङका टेकबहादुर पुनले बताए ।
सडक पुगेपछि गाउँलेको आर्थिक अवस्थामा कुनै परिवर्तन नदेखिएको स्थानीयवासीले बताएका छन् । विदेशबाट आफन्तले पठाइदिएको रेमिट्यान्सको ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च हुने गरेको छ । सहरबाट गाउँमा ट्रक जाँदा सामान भरिएर जाने, र आउँदा रित्तै आउने प्रवृत्तिमा कुनै परिवर्तन आउन सकेको छैन ।
अझ राजनीतिक दबाबबाट सडक निर्माण गर्ने प्रवृत्तिले सडकको अवस्था पनि कमजोर हुनुले यातायात व्यवसायीले मनलाग्दी भाडा असुल्ने गरेका स्थानीयवासीको गुनासो छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij