वेबटिभी खबर
कञ्चनपुर । कोरोना भाइरसबाट प्रभावित भई रोजगारी गुमाएका शुक्लाफाँटा नगरपालिकाका साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको छ ।
एक्ट एलायन्स, एलडब्लुएफ र राष्ट्रिय मुक्त हलिया महासंघ नेपालको संयुक्त साझेदारीमा सञ्चालित कोभिड प्रतिकार्य परियोजनाअन्तर्गत २३ साना उद्यमीलाई मेसिन र औजार वितरण गरिएको हो ।
राष्ट्रिय मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारका अनुसार ४ छालाजुत्ता व्यवसायी, ९ सिलाइकटाइ पेशामा संलग्न, काठका भाँडा बनाउने कार्यमा संलग्न एक, आरन व्यवसाय सञ्चालन गर्दै आएका चार, खुद्रा पसल सञ्चालक तीन, तरकारी व्यवसायी तीन र कुखुरापालक तीन जनालाई मेसिन तथा औजार वितरण गरिएको छ ।
‘छालाजुत्ता व्यवसायीलाई आवश्यक औजारसहित छाला, सिलाइकटाइ व्यवसायीलाई मेसिन, आरन व्यवसायीलाई मेसिन, काठका भाँडा बनाउने कार्यमा संलग्नलाई विद्युतीय मोटर वितरण गरेका छौं’, उनले भने, ‘खुद्रा पसल, तरकारी पसल र कुखुरा व्यवसायीलाई डिजिटल तराजु वितरण गरिएको छ ।’
प्रत्येक उद्यमी र व्यवसायीलाई १५ हजार मूल्य बराबरका मेसिन र सामग्री उपलब्ध गराइएको छ । ‘नगरपालिकाका कोरोना प्रभावित भएका ८४ साना उद्यमीलाई छनोट गरिएकोमा पहिलो चरणमा २३ जनालाई मेसिन र औजार वितरण गरिएका छौं’, अध्यक्ष लुहारले भने, ‘छनोटमा परेका अन्य साना उद्यमीलाई केही दिनभित्रै दोस्रो चरणमा मेसिन र औजार वितरण गर्छौ ।’
यस्तै, कृष्णपुर नगरपालिका क्षेत्रका ८४ साना उद्यमीलाई मागका आधारमा मेसिन र औजार वितरण गरिने उनको भनाइ छ । साना उद्यमीलाई मेसिन र औजार वितरण गर्दै नगरप्रमुख दिलबहादुर ऐरले व्यवसाय सञ्चालन गर्नका लागि आवश्यक तालिम र पूँजी अनुदानका लागि नगरपालिका सहयोग गर्न प्रतिबद्ध रहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij