Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

मणिका धाम ‘मुड्का’ मेलाको तयारी पूरा

मणिका धाम ‘मुड्का’ मेलाको तयारी पूरा

  • 654
    SHARES
  • मणिका धाम ‘मुड्का’ मेलाको तयारी पूरा

    कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-८ मणिका धाम ‘मुडका’स्थित बैजनाथ मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ । शुक्लपक्षको नवमीका दिन राति पूजाआजासँगै दशमीका दिन मणिधाममा मेला लाग्ने गर्दछ ।

    मेलालाई व्यवस्थित र मर्यादित बनाउनका लागि सवारी धनी र यात्रुले ट्राफिक नियमको पालना गर्न लगाउने, मेलास्थलमा व्यापार व्यवसाय र होटेल व्यवसाय गर्ने व्यवसायीले तोकिएको स्थानमा मात्रै व्यवसाय सञ्चालन गर्ने, खाद्यवस्तुमा अखाद्य सामग्रीको प्रयोग नगर्ने, मेला स्थलमा धुमपान मध्यपन बिक्रीवितरण र प्रयोगमासमेत रोक लगाउने मेला समितिले निर्णय गरेको छ ।

    जुवा, तास, कौडा, चिठ्ठा जस्ता गतिविधि गर्न नपाइने, मेला लाग्ने स्थान वन क्षेत्रमा भएकाले वन्यजन्तुको बासस्थानमा खलल पार्ने कार्य नगर्ने, अपरिचित व्यक्तिले दिएको खानेकुरा नखाने लगायतका कुराको प्रचारप्रसार गरी श्रद्धालुलाई सजग पार्ने निर्णय समितिले गरेकाे हाे ।

    वृद्धवृद्धा र फरक क्षमता भएका तथा सामाजिक हिसाबले सुरक्षा गर्नुपर्ने श्रद्धालु भक्तजनलाई पहिलो प्राथमिकतामा राखी मन्दिरमा दर्शनको व्यवस्था गरिएको रहेको छ । मेला भर्नका लागि डडेल्धुरा कैलाली कञ्चनपुरसहित निकटवर्ती भारतीय क्षेत्रका दशनार्थी मणिका धाममा दर्शनका लागि पुग्ने गरेका छन् ।

    मेलामा प्रतिवर्ष २ लाख बढी दर्शनार्थी मणिका धाम क्षेत्रमा सिद्धनाथ वैजनाथ बाबाको दर्शनका लागि पुग्ने गर्दछन् । मेलामा गएरातिदेखि नै व्यापारका लागि यस क्षेत्रमा छिमेकी जिल्ला कैलाली र निकटवर्ती भारतीय क्षेत्रबाट दर्जनौं व्यापारी पुग्ने क्रममा जारी रहेको छ ।

    मणिका धाम क्षेत्रको दर्शन गरेमा मनोवाञ्छित फल पाइने जनविश्वासका कारण दर्शनार्थीको भीड लाग्ने गरेको हो । मणिका धामलाई यस क्षेत्रका स्थानीय बासिन्दाले मुड्काका नामले चिन्दछन् । धाम क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ रहेको छ ।

    थारु भाषामा ‘मुड’ भन्नाले शिरलाई बुझ्ने गरिएकाले सबैभन्दा अग्लो भाग भएकाले मुड शब्दको अप्रभंश भई मुडका भएको एकथरीको भनाइ रहेको छ ।

    पहाडबाट मौसमी रूपमा बसाइँ सारेर झर्ने व्यक्तिले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रूपमा विकसित हुँदै गएको वैजनाथ धार्मिक तथा पर्यटकीय विकास समितिका डम्बरबहादुर ऐरले बताए ।

    आन्तरिक पर्यटक यस क्षेत्रमा पुगेर अवलोकन गर्ने र तराईको दृष्यावलोकन गर्न पाउँदा आनन्दित हुने गरेका छन् । पूर्वपश्चिम राजमार्गभन्दा झण्डै ११ किमी उत्तर चुरेको फेदीमा रहेको यो क्षेत्र प्राचीनकालमा पहाडबाट चौपायासहित हिउँदका बेला बसाइँ सार्नेको आश्रयस्थलका रूपमा रहेको थियो ।

    मेलाका अवसरमा नगरपालिकाअन्तर्गतका सरकारी तथा गैरसरकारी संस्थामा शक्रबार बिदा दिइएको छ । ‘प्रतिवर्ष मेलाका लगि बिदा दिइँदै आएको छ’, नगरप्रमुख दिलबहादुर ऐरले भने, ‘यस वर्ष पनि त्यसलाई निरन्तरता दिएका छौं ।’ शनिबारका दिन मेला लाग्ने भएपनि नगरपालिकाले शुक्रबार नै बिदा दिएको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij