Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

अर्बौ रुपैयाँ खर्च हुँदा पनि नहरमा पानी बगेन

अर्बौ रुपैयाँ खर्च हुँदा पनि नहरमा पानी बगेन

  • 410
    SHARES
  • अर्बौ रुपैयाँ खर्च हुँदा पनि नहरमा पानी बगेन

    महेन्द्रनगर । झण्डै डेढदशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूलनहर निर्माणमा अर्बौ रुपैया खर्च भएपनि पानी भने अझै बग्न सकेको छैन् ।

    पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार हुन् नसकेको हो । आयोजनाको सुरुआतयता अहिलेसम्म ४ अर्ब ९२ करोड खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इञ्जिनीयर शम्भु पण्डितले जानकारी दिए ।

    हालसम्म १३ किलोमिटर मूलनहर निर्माण सकेर आयोजनाले २ अर्ब ३२ करोडको लागतमा थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको छ । नेपाल-भारत सिमानाभन्दा वर (भीमदत्त नगरपालिका-९) मा छुटेको २२० मिटर मूल नहर पनि ठेक्का भएर निर्माणको चरणमा रहेको आयोजनाले जनाएको छ ।

    मुआब्जा वितरणको सकस, वनको रुख कटानलगायत समस्या झेल्दा ढिलासुस्ती हुनाका साथै आयोजनाले आर्थिक अभावसमेत झेल्दै आएको छ ।

    ‘आगामी असार मसान्तसम्म २५ किलोमिटर मूल नहर निर्माण सकिन्छ ।’ इञ्जिनीयर पण्डितले भने, ‘आगामी वर्ष भित्रै शाखा नहर बनाएर मूल नहर बनेको क्षेत्र वरपर सिँचाइ पुर्याउने गरी काम गर्दैछौं ।’

    शाखा नहर निर्माणका लागि मुआब्जा दिनुपर्ने जग्गाको सर्भेक्षणलगायत काममा भएको ढिलाइका कारण बनाइएको नहर पनि उम्रेको घाँसले कतिपय ठाउँमा पुर्न थालेको भीमदत्त नगरपालिका-८ तिलाचौरका स्थानीयवासीको भनाइ छ ।

    कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य रहेको आयोजनाअन्तर्गत महाकाली नदीबाट १ हजार २ सय मिटर लामो मूल नहर भारतले बनाइदिनुपर्ने थियो । आयोजनाअन्तर्गत अहिले शुक्लाफाँटाको फुलेली गाउँसम्म मूल नहर निर्माण भइरहेको छ ।

    सोही क्रममा महाकाली नदीमा हेडरेगुलेटरलगायत नहरको काम भारतले बनाइसकेपनि नेपालतर्फ पानी छोड्दा त्यसको उपयोगितामा ध्यान दिन आवश्यक देखिन्छ । ‘कञ्चनपुरमा २२ शाखा नहर निमार्णका लागि गृहकार्य भइरहेको छ ।’ इञ्जिनीयर पण्डितले भने, ‘करिब ५० किलोमिटर शाखा नहर बनेपछि सिँचाइ सुरु हुन्छ ।’

    भारतले पनि महाकाली सन्धिअनुसार नेपाली सिमानासम्म बनाउनुपर्ने १ हजार २ सय मिटर मूल नहर निर्माण गर्न दुई दशकसम्म आनाकानी गरेको थियो । गत वर्षदेखि उक्त काम थालेको भारतीय पक्षले अहिले काम सकिसकेको छ ।

    कैलालीको मालाखेतीसम्म १५१ किलोमिटरको नहर निर्माणका लागि २७ अर्बको लागत अनुमान गरिए पनि र आयोजनाले तोकिएको रकम तथा लामो समय खर्चिसके पनि पानी देखिएको छैनन् । भीमदत्त नगरपालिका-८ का वडाध्यक्ष ध्वजबहादुर विष्टले नहर निर्माण भएको लामो समय भइसक्दा पनि सिँचाइ सुविधा पाउन नसकेको गुनासो गरेका छन् ।

    ‘नहरमा पानी बगेको भए धेरै किसानलाई माछा पालनदेखि आयमूलक रोजगारीमा लाग्न पनि सहज हुने आशा थियो ।’ उनले भने, ‘किसानलाई सिँचाइका लागि वडा र प्रदेश सरकारबाट बोरिङ जडान र भूमिगत सिँचाइको प्रबन्ध मिलाएका छौं ।’

    वडाध्यक्ष विष्टले बितेको चार वर्षमा वडामा २२ वटा बोरिङ जडान र भूमिगत सिँचाइ संरचना बनाइसकिएको जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # नहर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij