वेबटिभी खबर
चितवन । चितवनको भरतपुर-१९ बखान सहकारी संख्या लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी संग्रहायल बजेट अभावमा अलपत्र परेको छ । सबभन्दा पुरानो मानिएको बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी संग्रहायल बजेट अभावका कारण अलपत्र परेको हो ।
२०७४ को प्रतिनिधिसभा निर्वाचन अघि नेपाल सरकारबाट ५ करोड निकासा भएर स्थापना गर्न लागिएको संग्रहायलको काम अधुरै रहेको छ ।
५ करोडमा संग्रहायलको ठूलो बैठक कक्ष, साना बैठक कक्ष, विशिष्ठ व्यक्तिका लागि बस्ने कोठा, कार्यालय कक्ष र अन्य केही कोठा निर्माण गरिए पनि थप बजेट निकासा नहुँदा संग्रहायल निर्माणले मूर्तरुप लिन नसकेको सहकारीका अध्यक्ष रेशमराज गुरुङले बताए ।
सुरुमा सरकारले प्रदान गरेको बजेटबाट करिब आधा काम सकिए पनि थप बजेट नआउँदा संग्रहायल निर्माणको काम अलपत्र परेको अध्यक्ष गुरुङले बताए । संग्रहायल निर्माणका लागि थप छ करोड लाग्ने बताइएको छ ।
उक्त संग्रहायलमा फर्निचर, बिजुली बत्ती, भवनको प्लास्टरसँगै रङरोगनलगायत पर्खाल निर्माणको काम बाँकी रहेको छ । देशका ७७ वटै जिल्लाको चिनारी झल्किनेगरी राष्ट्रिय सहकारी संग्रहायल निर्माणको काम अगाडि बढाइएको उनको भनाइ छ ।
सबै जिल्लाका कृषिलाई प्राथमिकता दिएर संग्रहायल निर्माणको काम अगाडि बढाइने सहकारीको योजना थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij