Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

कांग्रेस सभापति गुटको हुन सक्दैन : सुरेन्द्र प्रसाद सिंह [अन्तर्वार्ता] 

कांग्रेस सभापति गुटको हुन सक्दैन : सुरेन्द्र प्रसाद सिंह [अन्तर्वार्ता] 

  • 1.2K
    SHARES
  • कांग्रेस सभापति गुटको हुन सक्दैन : सुरेन्द्र प्रसाद सिंह [अन्तर्वार्ता] 

    नेपाली कांग्रेस सर्लाही जिल्ला सभापति चयनका लागि भएको मतदानको सोमबार बिहान परिणाम सार्वजनक भयो । यो चुनावमा आफ्नो अग्रजसमेत रहेका पुराना नेता तथा डा.शेखर कोइराला समूहका उम्मेदवार लक्ष्मण रायलाई पराजित गर्दै संस्थापन पक्षका उम्मेदवार सुरेन्द्र प्रसाद सिंह विजयी भए । दुई गुटमा विभाजित भएर चुनाव लडेकाले यो पटक विवाद पनि धेरै भयो । दुई पक्षको विवादका कारण गत फागनु २३ गते मतदानकै दिनसमेत चुनाव स्थगित भयो । वडाकै अधिवेशनदेखि नै दुई पक्षबीचको विवादले पटक-पटक अधिवेशन रोकिएको थियो । वडा अधिवेशनमा गोली चल्नेदेखि निर्वाचन अधिकृतमाथि कुटपिटसमेत भयो । तीनजना निर्वाचन अधिकृत नै बदल्नु पर्‍यो ।

    images

    दुई पक्षबीचको विवादले पार्टीभित्र तिक्तता बढाएको छ । एकले अर्काे पक्षलाई देखिनसहने अवस्थाहरू सृजना भएका छन् । स्थानीय चुनाव नजिकिएका बेला पार्टीभित्रै बढेको तिक्तताले चुनावी परिणाममा असर गर्ने चिन्ता कांग्रेसजनमा देखिएको छ । यस्तो बेला पार्टी सभापतिको जिम्मेवारी पाएका सिंहले पार्टीलाई एक ढिक्का बनाउन, अधिवेशनका बेला पार्टीमा बढेका तिक्तता मेटाउन र आसन्न स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन कस्तो भूमिका निर्वाह गर्लान ? यी सन्दर्भमा नवनिर्वाचित सभापति सिंहसँग वेबटिभी खबरले गरेको संक्षिप्त कुराकानीकाे सम्पादित अंश:

    तपाईंलाई पहिलोपटक पार्टीको जिल्ला सभापतिमा मनोनित गरेर कांग्रेसको सक्रिय राजनीतिमा ल्याउने लक्ष्मण रायलाई नै पराजित गरेर सभापति जित्नु भयो । कस्तो महसुस भएको छ ?

    लक्ष्मण दाइ मेरो आदरणीय नै हुनुहुन्छ । मैले जित्नु र लक्ष्मण दाइले हार्नुले खासै फरक पार्दैन । उहाँ मेरो लागि जहिले पनि सम्मानित नेता र अभिभावक नै हुनुहुन्छ । मैले दुई कार्यकाल उपसभापतिको रूपमा काम गरेको हेरेर साथीहरूले अनुभवको आधारमा अझै धेरै काम गर्नुहोस् भनेर मलाई थप जिम्मेवारी दिनुभएको छ ।

    सबैले विश्वास गरेर भोट दिनुभएकोले उहाँहरूलाई कहिले पनि निराश हुनु नपर्ने गरी काम गर्छु । सबैलाई मिलाएर एकसाथ अघि बढ्छौं र पार्टीलाई अघि बढाउने विषयमा हामी एक ढिक्का भएर लाग्ने छौं । जित-हार भन्ने कुरा प्राविधिक हो, मुख्य उदेश्य कांग्रेसलाई जिल्लामा बलियो बनाउनु हो । यसको लागि साथीहरूले मलाई जिम्मेवारी दिनुभयो । यो जिम्मेवारमा मलाई उत्तीर्ण हुनुपर्ने छ । तीन तहको चुनाव आउनै लागेको बेला साथीहरूले दिनुभएको यो भूमिकाले मलाई जिम्मेवारी बढाएको महसुस भएको छ ।

    चुनावका बेला संस्थापन र संस्थापनइतर समूहबीच व्यापक आरोप-प्रत्यारोप भयो । त्यसले गर्दा पार्टीभित्र नै तिक्तता छाएको छ । सभापतिमा जितेपछि यो तिक्तता मेटाउन के गर्नुहुन्छ ?

    अधिवेशनअघि देखिएका गुट उपगुटहरू चुनावसम्मका लागि मात्रै थिए । सभापतिको चुनाव  हुनुअघिसम्म केही फरक मत राख्ने साथीहरू हुनुहुन्थ्यो । परिणाम आइसकेपछि अब त्यो सबै समाप्त भएको छ । म सबै साथीहरूको सभापति हो । मैले भनेको पनि छु, सबैलाई मिलाएर अघि बढ्ने मेरो प्रयत्न सधैँ रहन्छ । सबै साथीहरूको सल्लाह सुझाव अनुसार नै अघि बढ्छु ।

    सबैको साझा हो त भन्नुभयो तर साझा भएको सन्देश कसरी दिनुहुन्छ ?

    सभापति सबैको साझा हुन्छ भनेर मैले अधिवेशन अघिदेखि नै भन्दै आएको हुँ । उम्मेदवारी दिँदासम्म कुनै गुटको हुनसक्ला । तर सभापति कुनै गुटको हुन सक्दैन । त्यसकारण सर्लाही जिल्लाभरिका कांग्रेस साथीहरूको सभापति भइसकेपछि साझा त हुनै पर्छ । त्यो कुरा म व्यवहारले पनि देखाउँछु । 
    कांग्रेसभित्र राम्रो र हाम्रोको लडाइँले केही गुट जस्तो देखिन्छ । जुन चुनावपछि समाप्त हुन्छ । अब मैले जिल्लालाई नेतृत्व गरेको छु । गुट उपगुटको अन्त्य हुन्छ । सबै साथीहरूलाई मिलाएर हामी एकसाथ अघि बढ्छौँ । मेरो व्यवहार गुट वा कुनै पक्षका लागि मात्र हुँदैन । मेरो कामबाट नै सबैको साझा हुँ भन्ने सन्देश दिन्छु ।

    तपाईंलाई चुनावमा साथ दिनलाई त विशेष व्यवहार हुन्छ होला नि ? यसले पार्टी एकढिक्का हुन बाधा पार्दैन ?

    मलाई भोट दिनेलाई एउटा व्यवहार र भोट नदिनेलाई अर्कै व्यवहार गर्ने भन्ने हुँदैन । हामी सबै कांग्रेस हौँ । प्रजातान्त्रिक पद्धतिमा चुनाव हुनु र त्यसमा दुई पक्ष हुनु सामान्य हो । तर चुनाव सकिएसँगै जित्ने सबैको साझा हुन्छ । र जित्नेको साझा भूमिकाले पार्टीलाई एकढिक्का बनाउँछ । मलाई कसले भोट दियो वा दिएन भन्दा पनि सम्पूर्ण कांग्रेसका साथीहरू एक भएर जानुपर्छ र आगामी स्थानीय चुनावमा हाम्रै पार्टीले स्थानीय तहदेखि प्रदेश र संघसम्म नेतृत्व गर्नुपर्छ भन्ने मेरो बुझाइ हो । समग्र सर्लाही जिल्लाको पार्टी सभापति भएका कारण कसैलाई काखा र कसैलाई पाखा गर्ने काम मबाट हुँदैन ।

    चुनावका बेला बढेको तिक्तताले आसन्न स्थानीय चुनावमा उम्मेदवार छान्न पनि कुन गुटको भनेर हेरिएला । यसले गर्दा पार्टीमा अन्तर्घात हुने सम्भावना हुँदैन ?

    पार्टीभित्र हामीले वा अरू कसैले आफ्नो मान्छेलाई मात्र अघि बढाउन खोज्यौं भने गुट वा उपगुटजस्तो हुनसक्छ । तर आफ्नो नभएर राम्रो र सक्षम साथीहरूलाई छानेर हामी चुनावमा जान्छौं । स्थानीय चुनाव अरू पार्टीसँग लड्नु पर्ने भएकाले सबै साथीहरूको मनोभावनालाई बुझेर विपक्षीसँग लड्नसक्ने, क्षमतावान र पार्टीका लाग काम गरेका साथीलाई अघि बढाउनु पर्छ ।

    पार्टीभित्र गुट उपगुट भए पनि बाह्य प्रतिस्पर्धा जाँदा कांग्रेस जहिलेपनि एकजुट हुन्छ । यो विगतमा पनि देखिएको हो । आगामी स्थानीय चुनावमा पनि हामी त्यसरी नै जान्छौँ । सबैले मलाई साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छु र म पनि कसैलाई काखा पाखा नगरी काम गर्छ । त्यसकारण पनि त्यस्तो अवस्था नआउँला भन्ने मलाई लाग्छ ।

    चुनावका लागि अब दुई महिनामात्र छ । छोटो समयमा कसरी यी कुरा व्यवस्थापन गर्नुहुन्छ ?

    मैले त्यस्तो खासै समस्या देखेको छैन । अधिवेशनअघि देखिएका गुट उपगुटका कुरा पार्टीभित्रका कुरा हुन् । जे जस्तो भए पनि पार्टीमा हामी सबै एक हौँ र रहन्छौँ । त्यसकारण यस्ता खाले कुनै समस्या आउँदैन भन्ने मलाई विश्वास छ । हामीले स्थानीय चुनाव अरू पार्टीसँग लड्नुपर्ने छ । हामीले चुनावमा उम्मेदार छान्दा तेरो र मेरो भन्नतर्फ लाग्यौं भने केही समस्या हुनसक्छ । तर हामी त्यसो गर्दैनौँ । कांग्रेसले जित्न सक्ने सम्भावना बोकेका सक्षम साथीलाई चुनाव उठाउँछ ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology