वेबटिभी खबर
रसुवा । उत्तरी रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युतगृहको उपकरण जडान गर्ने काम सुरु भएको छ । आमाछोदिङ्मो गाउँपालिका-५ सिम्बु क्षेत्रलाई आधार इलाका बनाइ १४.८ मेगावाट क्षमताको उक्त आयोजनाको आवश्यक उपकरण दोङ्फाङ नामक चिनियाँ ठेकेदार कम्पनीले जडान गरिरहेको हो ।
कार्यस्थलमा १० चिनियाँ २५ दक्ष प्राविधिक जनशक्ति परिचालन भइरहेको साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी निर्देशक सुनिल ढुंगेलले जानकारी दिए । आयोजनामा आगामी २०७९ असार मसान्तभित्र उपकरण जडान सम्पन्न गरी परीक्षण गर्ने लक्ष्य राखिएको बताइएको छ ।
केही दिनअगाडि विद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेको नेपाल विद्युत् प्राधिकरणका नायब कार्यकारी प्रमुख माधव कोइरालाले माथिल्लो तथा तल्लो साञ्जेन दुवै स्थानको उपकरण जडानकार्य सन्तोषजनक तरिकाले अगाडि बढिरहेको जानकारी दिए ।
यस्तै ४२.५ मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युतगृहमा एउटै प्राविधिक समूहले आलोपालो उपकरण जडान गरिरहेको बताइएको छ ।
कोभिड संक्रमणका कारण दर्शाउँदै उपकरण जडानको जिम्मा लिने चिनियाँ ठेकेदार कम्पनी कार्यस्थलमा ढिलै पुगेपनि निरन्तर काम भइरहँदा तल्लो साञ्जेन आयोजनाबाट अबको एक वर्षमा विद्युत् उत्पादन गर्न सकिने अपेक्षा गरिएको आयोजनाका प्राविधिकहरूले बताएका छन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत मंसिर ११ गते गरेका थिए । रसुवा भ्रमणबाट उपकरण जडानमा ठूलो मद्दत पुगेको छ ।
उपकरण जडानअन्तर्गत साञ्जेनको जिम्मा पाएको दोङ्फाङ चिनियाँ र रसुवागढीको जिम्मा लिने भारतीय कम्पनी भोइथलाई कार्यकारी निर्देशक घिसिङले आयोजनास्थलबाटै कारबाहीको संकेत दिएपछि आवश्यक जनशक्ति कार्यस्थलमा छिट्टै फर्केको प्राविधिकहरूले बताएका छन् ।
२०१३ बाट सुरु भएको साञ्जेन जलविद्युत् आयोजनामा पटक-पटक प्रमुख फेरबदल भइरहनु, सुरूङ निर्माणको जिम्मा पाउने ठेकेदार कम्पनीप्रति निरन्तररूपमा लगनशील गराउन नसक्नुजस्ता कारण निर्माणमा ढिलाइ भएको र आयोजनाले पूँजीवापत लिएका ऋणको ब्याजसमेत बढ्दै गएको स्थानीय बासिन्दाको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij