वेबटिभी खबर
काठमाडौं । उत्तराखण्डकाे हरिद्धारमा लागेकाे कुम्भ मेलामा सहभागी भएका मध्य प्रदेशका निर्वाणी अखाडाका महामन्डलेश्वर ६५ वर्षीय कपिल देवदास कोरोना संक्रमणबाट मृत्यु भएसँगै निरन्जनी अखाडा कुम्भबाट बाहिरिने निर्णय गरेकाे द टाइम्स अफ इन्डियाले जनाएकाे छ ।
स्वास्थ्य विभागका अधिकारीका अनुसार कुम्भमा सहभागी ६८ शीर्ष साधु संक्रमित भएका छन् । निरन्जनी अखाडा जुना अखाडापछिको सबैभन्दा ठूलो नागा सन्यासी अखाडा हो । निरन्जनी अखाडाले शाही स्नानपछि उक्त कुम्भ सकिएको बताएको छ ।
मेला प्रशासनका अनुसार बिहीबार त्यहाँ तीन सय ३२ जना कोरोना संक्रमित भेटिएका छन् । तर कोरोनाबाट मृत्यु भएकाको तथ्यांक उक्त प्रशासनसँग छैन ।
अप्रिल १२ पछि मेलामा सहभागी ७९ हजार तीन सय एकको परीक्षण हुँदा सात सय ४५ जना संक्रमित भेटिएका थिए । निरन्जनी अखाडेका सचिव महन्त रविन्द्र पुरीका अनुसार हरिद्धारमा रहेको उनको क्याम्पमा धेरै साधु तथा भक्तजनहरुमा कोरोना भाइरसको लक्षण देखिएको छ ।
स्थिति नाजुक देखेपछि साधुहरुले १७ अप्रिलदेखि मेला अन्त्य गर्ने फैसला गरेका छन् । कुम्भ मेला आधिकारिक रुपमा ३० अप्रिलमा समाप्त हुन्छ । अर्को शाही स्नान २७ अप्रिलमा हुनेछ ।
भारतमा मार्चकाे मध्यदेखि काेराेना भाइरसकाे संक्रमण अत्यधिक बढेकाे छ । संक्रमणका बावजुद पनि हरिद्धारमा शाही स्नान गर्न हजाराैंकाे संख्यामा भक्तजनहरू सहभागी भएपछि चाैतर्फि चिन्ता र चासाेकाे विषय बनेकाे छ । भारतमा बिहीबारदेखि दैनिक लगातार दुई लाख संक्रमित भेटिएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij