Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

११ वर्षमा १४ हजारको मृत्यु, १२ सय बेपत्ता र नौ खर्बबढीको आर्थिक क्षति 

११ वर्षमा १४ हजारको मृत्यु, १२ सय बेपत्ता र नौ खर्बबढीको आर्थिक क्षति 

  • 488
    SHARES
  • ११ वर्षमा १४ हजारको मृत्यु, १२ सय बेपत्ता र नौ खर्बबढीको आर्थिक क्षति 

    काठमाडौं । विपद्का घटनामा परी पछिल्लो ११ वर्षमा देशभर १४ हजार १९४ जनाको मृत्यु भएको छ । १ वैशाख २०६८ देखि ३० फागुन २०७८ सम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

    गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार सो अवधिमा देशभर २८ हजार ९२३ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा परी हालसम्म एक हजार २०४ जना बेपत्ता भएका छन् भने ३४ हजार ५४२ जना घाइते भएका छन् ।

    विपद्का घटनाबाट एक लाख ३१ हजार ३४५ परिवार प्रभावित भएका छन् । विपद्का घटनाले तीन लाख ५९ हजार २७१ घरमा आंशिक क्षति र आठ लाख ११ हजार ७८५ घर पूर्ण क्षति भएका छन् ।

    १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले गरेको क्षतिसमेत जोड्दा पछिल्लो ११ वर्षमा नेपालमा विपद्का घटनाले नौ खर्ब २२ अर्ब ४१ करोड २० लाख १६ हजार ८२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रको तथ्यांकले देखाउँछ ।

    २०७२ को विनाशकारी भूकम्पले गरेको क्षतिबाहेक विपद्का घटनाले  यो अवधिमा ४१ अर्ब ४१ करोड २० लाख १६ हजार ८२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

    बाढी, पहिरो, आगलागी, चट्याङ, भूकम्प, भारी वर्षा, हिउँहुरी, हावाहुरी, जंगली जनावरको आक्रमणलगायतका विपद्का घटनाले उक्त मानवीय तथा आर्थिक क्षति गरेको हो । सडक दुर्घटनाबाट हुने मानवीय तथा आर्थिक क्षतिलाई यसमा समावेश गरिएको छैन ।

    विपद् जोखिम न्यूनीकरणमा राज्यले प्रत्येक वर्ष करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । तर विपद्का घटना र क्षति घट्नेभन्दा बढ्दो क्रममा रहेको देखिन्छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार विपद्का घटना बढ्नुपछाडि दुई वटा कारण रहेका छन् ।

    पहिलो मानिसहरुको  आनीबानी, व्यवहारले जोखिमलाई बेवास्ता गरेको छ । त्यसकारण विपद्का घटना र क्षति बढेको उनले बताए । दोस्रो जलवायु परिवर्तनका कारण विपद्का घटना बढेको उनले बताए । 

    कुन घटनाबाट कति क्षति ? 

    केन्द्रको तथ्यांक अनुसार पछिल्लो ११ वर्षमा आगलागीका १८ हजार ५९ घटना रेकर्ड भएका छन् । ती घटनामा परी ७९५ जनाले ज्यान गुमाएका छन् भने दुई हजार ४४७ जना घाइते भएका छन् ।

    आगलागीका घटनाले यो अवधिमा २१ अर्ब ९३ करोड नौ लाख ४३ हजार ३४२ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।  बितेका ११ वर्षमा नेपालमा सबैभन्दा ठूलो मानवीय र आर्थिक क्षति भूकम्पले गरेको छ । यो समयमा ९७ वटा ठूला भूकम्पका घटना रेकर्ड भएका छन् ।

    भूकम्पका कारण भौतिक संरचना भत्किँदा ८ हजार ९६९ जनाको मृत्यु भएको छ भने १९५ जना बेपत्ता भएका छन् । भूकम्पले संरचना भत्काउँदा २२ हजार ३११ जना घाइते भएका छन् । भूकम्पले ८ खर्ब ८१ अर्ब ५५ लाख रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रले जनाएको छ । 

    २०६८ सुरु भएयता १ हजार ७५५ वटा बाढीका घटनामा ८५७ जनाको मृत्यु र ५४८ जना वेपत्ता भएका छन् । बाढीमा परी १९२ जना घाइते भएका छन् भने १६ अर्ब ८० करोड ७३ लाख ६० हजार ३८८ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

    पहिरोका घटनाले पनि यो समयमा ठूलो मानवीय तथा आर्थिक क्षति गरेको छ । २ हजार ४६४ वटा पहिरोका घटनामा १ हजार ३८७ जनाको मृत्यु र ३३० जना बेपत्ता भएका छन् । ती घटनामा एक हजार १३४ जना घाइते भएका थिए भने एक अर्ब ७५ करोड २६ लाख ५० हजार २३७ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

    पछिल्लो ११ वर्षमा दुई हजार ४१३ वटा चट्याङका घटनामा परी एक हजार ५१ जनाको मृत्यु र एकजना व्यक्ति बेपत्ता भएका छन् । चट्याङ् लागेर दुई हजार ८५५ जना घाइते भएका छन् । चट्याङ्ले सात करोड ९६ लाख २६ हजार ७६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

    भारी वर्षाका एक हजार ६०४ वटा घटनामा परी ११८ जनाको मृत्यु र दुईजना बेपत्ता भएको केन्द्रको तथ्याङ्कले देखाउँछ । ती घटनामा ३१८ जना घाइते भएका थिए । भारी वर्षाका घटनाले ५२ करोड ३७ लाख ८६ हजार ४८० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

    आठवटा हिउँहुरीका घटनामा १६ जनाको मृत्यु भएको छ । हावाहुरीका ६४४ वटा घटनामा ८६ जनाको मृत्यु  र एकजना बेपत्ता भएका छन् । ती घटनामा एक हजार ४५४ जना घाइते भएका छन् । हावाहुरीका घटनाले १८ करोड ९१ लाख ७३ हजार ६९८ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।

    बितेको ११ वर्षमा जंगली जनावरको आक्रमणमा परी १४८ जनाको मृत्यु र ६७३ जना घाइते भएका छन् । 

    कुन वर्ष कति क्षति  ?

    पछिल्ला वर्षहरूमा विपद्का घटनाबाट देशले ठूलो मानवीय र आर्थिक क्षति व्यहोर्दै आएको छ । विपद्का घटनाबाट सबैभन्दा ठूलो मानवीय र आर्थिक क्षति २०७२ सालमा भएको देखिन्छ । विनाशकारी भूकम्पका कारण उक्त वर्ष ठूलो क्षति भएको थियो ।

    २०६८ सालमामा विपद्सम्बन्धी १ हजार ६८६ घटना रेकर्ड भएका थिए । ती घटनामा ५१९ जनाको मृत्यु, १३५ जना बेपत्ता र ६१० जना घाइते भएका थिए । विपद्का घटनाले सो वर्ष एक अर्ब ४२ करोड १४ लाख नौ हजार ६४४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

    २०६९ सालमा विपद्का एक हजार ८०८ घटनामा परी ४३२ जनाको मृत्यु, ५३ जना बेपत्ता र ४६० जना घाइते भएका थिए । उक्त वर्ष एक अर्ब ४४ करोड ६७ लाख १३ हजार ७१७ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

    २०७० सालमा एक हजार ५०२ वटा विपद्का घटनामा ४२९ जनाको मृत्यु, १८४ बेपत्ता र ४३१ जना घाइते भएको केन्द्रको तथ्यांकले देखाउँछ । विपद्का घटनाले सो वर्ष एक अर्ब ८६ करोड ७४ लाख ६२ हजार ६५८ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

    २०७१ सालमा एक हजार २५५ वटा विपद्का घटनामा परी ५२१ जनाको मृत्यु, २७९ जना बेपत्ता र ४८३ जना घाइते भएका थिए । उक्त वर्ष १६ अर्ब ७८ करोड २७ लाख ३६ हजार १४७ रुपैयाँ बराबरको आर्थिक क्षति राज्यले विपद्का घटनाबाट व्यहोरेको थियो ।

    २०७२ सालमा एक हजार ७४ वटा विपद्का घटनामा नौ हजार २७३ जनाको मृत्यु, २११ जना बेपत्ता र २२ हजार ६५७ जना घाइते भएका थिए । ७.६ म्याग्निच्युडको विनाशकारी भूकम्प सोही वर्षको १२ वैशाखमा गएको थियो । सो वर्ष भूकम्पलगायतका विपद्का घटनाले आठ खर्ब ८१ अर्ब ९७ करोड ८० लाख १९ हजार ४०० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

    २०७३ सालमा दुई हजार ५७१ वटा विपद्का घटना रेकर्ड भएका थिए । ती घटनामा ४८६ जनाको मृत्यु, ४९ जना बेपत्ता र ८३७ जना घाइते भएका थिए । विपद्का घटनाले सो वर्ष दुई अर्ब ९४ करोड ५० लाख १८ हजार ८०६ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

    २०७४ सालमा दुई हजार ८४३ वटा विपद्का घटनामा ५८८ जनाको मृत्यु, ६५ बेपत्ता र ८४५ जना घाइते भएका थिए । विपद्का घटनाले उक्त वर्ष दुई अर्ब ७३ करोड ९६ लाख १६ हजार ५५९ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

    २०७५ सालमा चार हजार २८० वटा विपद्का घटनामा परी ४५५ जनाको मृत्यु, १० जना बेपत्ता र ४ हजार १८८ जना घाइते भएका थिए । सो वर्ष चार अर्ब ४० करोड ८७ लाख ९५ हजार ४४२ रुपैयाँ बराबरको आर्थिक क्षति भएको थियो ।

    २०७६ सालमा चार हजार ७६ वटा घटना रेकर्ड हुँदा ४०७ जनाको मृत्यु, ४० जना बेपत्ता र एक हजार १३३ जना घाइते भएका थिए । चार अर्ब ३५ करोड ४३ लाख ८४ हजार ९६९ रुपैयाँ बराबरको आर्थिक क्षति उक्त वर्ष राज्यले व्यहोरेको थियो ।

    २०७७ सालमा विपद्का चार हजार १७९ वटा घटनामा ५९४ जनाको मृत्यु, १०२ जना बेपत्ता र १ हजार १७२ जना घाइते भएका थिए । विपद्का घटनाले सो वर्ष दुई अर्ब दुई करोड ५४ लाख ४८ हजार ६६ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो । 

    २०७८ सुरु भएपछि फागुन मसान्तसम्म तीन हजार ५५४ वटा विपद्का घटना रेकर्ड भएका छन् ।

    ती घटनामा ४८९ जनाको मृत्यु, ७६ जना बेपत्ता र एक हजार ७२१ जना घाइते भएका छन् । विपद्का घटनाले यस वर्ष दुई अर्ब ३५ करोड ९६ लाख ३७४ रुपैयाँ बराबरको आर्थिक क्षति गरिसकेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij