वेबटिभी खबर
पाल्पा । रामपुर नगरपालिकाले नयाँ भवनबाट सेवा सञ्चालन गरेको छ । यसअघि भवन अभावमा मालपोत तथा नापी कार्यालयको भवनबाट सेवा दिँदैआएको नगरपालिकाले आफ्नै नयाँ प्रशासनिक भवन निर्माण गरेको हो ।
नगरपालिकाबाट आफ्नै आन्तरिक स्रोतको रकम विनियोजन गरी प्रशासनिक भवन निर्माण गरिएको हो । कूल ५ करोड ८७ लाख ३७ हजारको लागतमा चारतले भवन निर्माण गरिएको हो ।
उक्त भवन २०७४ असार ३० गते सम्झौता भई २०७६ असार ३० मा सम्पन्न गर्नुपर्ने भएपनि रकम अभाव र कोरोना संक्रमणका कारण भवन निर्माणमा ढिलाइ भएको नगरपालिकाका सूचना अधिकारी रामहरि पाण्डेयले जानकारी दिए ।
निर्माण समय थप गरी २०७८ असार ३० गते भवन निर्माण सम्पन्न भएपछि हाल यसबाटै सेवा प्रवाह भइरहेको छ । आयुर्वेद शाखा र पशु शाखाको आफ्नै भवन भएकाले त्यो बाहेक सबै शाखा यही ३५ कोठे भवनबाट सञ्चालन भएको छ । नयाँ भवन बनेपछि कर्मचारीलाई सेवा दिन र नागरिकलाई सेवा लिन सहज भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij