Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

किस्पाङमा तीनवटा सिँचाइ योजना कार्यान्वयनमा  

किस्पाङमा तीनवटा सिँचाइ योजना कार्यान्वयनमा  

  • 648
    SHARES
  • किस्पाङमा तीनवटा सिँचाइ योजना कार्यान्वयनमा  

    नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिकामा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयमार्फत करोडभन्दा माथिको तीनवटा सिँचाइ योजना कार्यान्वयनमा ल्याइएको छ । किस्पाङको पाँचवटै वडाका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन भिन्नभिन्न तीन योजना कार्यान्वयनमा ल्याइएको डिभिजन प्रमुख हरिप्रसाद गुरागाईले जानकारी दिए ।

    उनका अनुसार नुवाकोटको ठूलो योजनामध्येमा पर्ने सप्तांग खोला सिँचाइ योजना कार्यान्वयनमा ल्याउन प्रारम्भिक वातावरणीय परीक्षण (आइई) निर्माणको काम अन्तिम चरणमा पुर्याइएको छ ।

    ‘जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको प्राविधिकमार्फत गरिएको सर्वेक्षण र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा २२ करोड हाराहारीमा बजेट लाग्ने देखिएसँगै यो आर्थिक वर्षमा १ करोड २० लाख रकम विनियोजन गरेका छौं ।’ डिभिजन प्रमुख गुरागाईले भने, ‘योजना कार्यान्वयनमा दिगोपन सुनिश्चित गराउन गाउँपालिकासँगको समन्वयमा आइई भइरहेको छ ।’

    उक्त योजना सञ्चालनमा आएसँगै किस्पाङ-१, २, ३ र ५ को ३५० हेक्टर जग्गाधनी किसान प्रत्येक्ष रूपमा लाभान्वित हुनेछन् । योजना सम्पन्न भएपश्चात् अहिले सिँचाइ अभावले बाँझो रहेका जग्गामा बाह्रै महिना पर्याप्त सिँचाइ सुविधा पुर्याउन सकिने विश्वास लिइएको छ ।

    उक्त सिँचाइ योजना सञ्चालनका लागि किसान उपभोक्ताले कूल लगानीको ३ प्रतिशत श्रमदान सुनिश्चित गर्नुपर्नेछ भने मर्मतसम्भार तथा क्षति न्यूनीकरणका लागि पालिकाबाट प्रतिबद्धता माग गरिएको डिभिजन प्रमुख गुरागाईले जानकारी दिए ।

    उनका अनुसार नुवाकोटको दुर्गम भूगोलसहित २ हजार ३ सय मिटर उचाइमा रहेको यस क्षेत्रमा कृषि पर्यटनलाई समेत लक्षित गर्दै योजना तथा कार्यक्रम सञ्चालनमा डिभिजन कार्यालयले उच्च प्रथामिकता दिएको छ ।

    साथै, किस्पाङ गाउँपालिकाको साल्मे र भाल्चे खोलाको सीमा हुँदै बगेको खोलाको पानीलाई सदुपयोग गरेर किस्पाङ-४ को साल्मेतर्फ १ करोड ६० लाख बजेट उपलब्ध गराई ‘ग्यान्सिने-पौलिङ-जोङ्गमा सिँचाइ कुलो’ निर्माण गर्न लागिएको छ ।

    उक्त योजनाका लागि प्राप्त भएको बजेटअन्तर्गत निर्माण व्यवसायी जलुकेनी-बागेश्वरी जेभीमार्फत काम अघि बढाइएको छ । ठेक्का लगाइएको रकमबाट बाँकी रहेको बजेटले उपभोक्ता समितिमार्फत कामअघि बढाउन लागिएको डिभिजन प्रमुख गुरागाईले बताए ।

    उनका अनुसार बहुवर्षीय योजनाअन्तर्गत समावेश गरिएको योजनामा ४ करोडसम्म बजेट सुनिश्चित गरिएको छ । यो सिँचाइ कुलो नुवाकोटमा रहेका सिँचाइ कुलाहरूमध्ये सबैभन्दा उचाइको भूगोल (समुन्द्री सतहबाट २ हजार ३ सय मी)मा पर्दछ ।

    यसैगरी, गत वर्षदेखि सुरु भएको किस्पाङ गाउँपालिका-१ भाल्चेमा यो आर्थिक वर्षमा थप १ करोड बजेट प्राप्त भएसँगै निर्माण व्यवसायीमार्फत सिँचाइ कुलो निर्माणको कामलाई निरन्तरता दिइएको छ । छ्याङ्ला खोला सिँचाइ योजना’को सिँचाइ कुलो निर्माणको जिम्मेवारी पाएको थापाकाजी कन्स्ट्रक्शनले अहिले कुलोको लाइन बनाउने काम सुरु गरेको छ ।

    बागमती प्रदेश सरकारअन्तर्गत रहेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय नुवाकोटले सिँचाइ योजनासहित किस्पाङमा पहिरो नियन्त्रण तथा बस्ती संरक्षणका लागिसमेत माग अनुसारको बजेट उपलब्ध गराएको छ ।

    दक्षिण एसियाकै सबैभन्दा ठूलो पहिरामा पर्ने किस्पाङ-४ साल्मेको पहिरो नियन्त्रणका लागि यो आर्थिक वर्षमा ५५ लाख बजेट उपलब्ध गराई काम अघि बढाइएको छ । उक्त पालिकाको वडा नं-३ स्थित किर्नेबगर बस्ती संरक्षणका लागि त्यहाँ बगेको पहिरो रोकथाम गर्न उपलब्ध गराइएको १० लाख बजेटको काम पनि अन्तिम चरणमा पुर्याइएको छ ।

    डिभिजन कार्यालयमार्फत नुवाकोट चालु आर्थिक वर्षमा सिँचाइ कुलो, नदी तथा खोलाले पुर्याएको कटान नियन्त्रण एवम् जोखिम बस्ती संरक्षण, ग्रामीण विद्युतीकरण, नवीकरणीय ऊर्जा र ऊर्जाको पुनः प्रयोग कार्यक्रमअन्तर्गत करीब २२ करोड लगानीमा ८५ भन्दा बढी योजना कार्यान्वयनमा रहेका छन् । प्रदेश सरकारबाट हालै मात्र ५ लाख हाराहारीका थप १७ योजना पनि कार्यान्वयनका लागि थप गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij