वेबटिभी खबर
उदयपुर । उदयपुरको बोक्से बाँसबारीमा निर्माण गरिएको मदन भण्डारी आँखा अस्पताल बिहीबारदेखि सञ्चालनमा आएको छ । नयाँ आँखा अस्पताल चलेपछि दुई दिनमा २७ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भागवत राउतले बताए ।
समितिका उपाध्यक्ष कृष्ण भण्डारीले खोटाङ, उदयपुर, सिन्धुलीसहितका बिरामी उपचारका लागि आउने क्रम जारी रहेको र हालसम्ममा २७० जनाले उपचारका लागि नाम दर्ता गराइसकेको जानकारी दिए ।
दुई वर्षअघि निर्माण सम्पन्न भएको भवनमा नयाँ आधुनिक प्रविधि तथा उपकरणको व्यवस्था गरेपछि बिरामीको आँखाको शल्यक्रियासहितको सेवा अस्पतालबाट उपलब्ध गराउन सुरु गरिएको हो । भवन निर्माणका लागि त्रियुगा नगरपालिकाले एक बिघा जग्गा उपलब्ध गराएको समितिका सदस्य कुमार घिमिरे बताए ।
जापानको १ करोड र पूर्वसहरी विकास राज्यमन्त्री मञ्जुकुमारी चौधरी, प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यहरूसहितले ३ करोडभन्दा बढीको आर्थिक सहयोग गरेपछि अस्पतालको भवन निमार्ण गरिएको हो ।
२०७६ सालमा स्वास्थ्य मन्त्रालयको १ करोड सहयोगमा भारत तथा जर्मनबाट आँखा उपचारका लागि आवश्यक उपकरण तथा प्रविधि खरिद गरेर ल्याइएको र दुई वर्षअघि अस्पताल सञ्चालन गर्ने योजना रहेपनि कोभिडका कारण सञ्चालन हुन सकेको थिएन् ।
तत्कालका लागि आँखा अस्पताल सञ्चालन गर्न प्रदेश नं १ सरकार, त्रियुगा नगरपालिकासहित जिल्लाका ८ पालिकाले आर्थिक सहयोग गर्ने सम्झौता भएको समितिका सदस्य महेश्वरी राईले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij