वेबटिभी खबर
बलेवा । बलेवा जिल्लाको ताराखोला गाउँपालिकाका किसानले सरकारले दिने अनुदानको अनुगमन नहुँदा दुरूपयोग भइरहेको गुनासो गरेका छन् । कागजी प्रक्रिया पूरा गरेर किसानका नाममा अनुदान लिनेले व्यवसाय गरे नगरेको अनुगमन गर्न उनीहरूले गुनासो गरेका हुन् ।
अनुदान दिएपछि किसानले व्यवसाय गरे/नगरेको खोजी सरकारले गर्नुपर्ने किसानहरू बताउँछन् । गाउँपालिकामा स्थानीय तहले दिएको अनुदानभन्दा संघीय र प्रदेशका कार्यक्रममा दुरूपयोग धेरै भएको किसानहरूको आरोप छ ।
‘यहाँ काम गरेका किसानले अनुदान पाएका छैनन्, कागज पुर्याउनेहरू अनुदानको पोको पारेर हिँडे,’ ताराखोला गाउँपालिका-५ करिमेलाका तारा कँडेलले भने, ‘सरकार अनुगमन हुनुपर्यो काम नगर्नेको अनुदान फिर्ता गराउनुपर्यो ।’
करिमेलाकै ज्ञानी थापाले पनि किसानको नाममा अनुदान पाएकाले कृषियन्त्र तथा उपकरण घरमा थन्क्याएर बसेको बताइन् । उनले सरकारी ढुकुटीबाट अनुदान दिने निकायले नियमित अनुगमन गर्नुपर्ने बताइन् ।
ताराखोला मिडिया प्रालिले ताराखोला गाउँपालिकाले दोस्रो चौमासिकमा गरेका काम कारबाही विषयमा आयोजना गरेको सार्वजनिक सुनुवाइमा किसानले गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए । उनीहरूले दुरूपयोग भएको अनुदान रकम तथा सामग्रीहरू फिर्ता गर्नुपर्ने माग गरेका छन् ।
गाउँपालिकाले भने आफ्ना कार्यक्रमहरूमा दुरूपयोग नभएको दाबी गरेको छ । निर्धारित कार्याविधिका आधारमा प्रक्रिया पुगेका किसानले मात्रै अनुदान पाउने र स्थलगत अनुगमनपछि मात्रै अनुदान दिने गरेको गाउँपालिकाको कृषि शाखाका प्रमुख कर्णखर भट्टराईले बताए ।
‘हामीले निरन्तर अनुगमन गरिरहेकै छौं, विधि नपुगेकाले अनुदान पाएका छैनन्, काम गरेको हेरेर मात्रै अनुदान स्वीकृत हुन्छ,’ उनले भने । किसानले अनुदान पाएपछि पेसा नै परिवर्तन गर्ने गरेका कारण राम्रो काम गर्ने किसानका सवालमा प्रश्नहरू उठ्ने गरेको गाउँपालिकाले जनाएको हो ।
गाउँपालिकाको पशुशाखाका प्रमुख चिन्तामणि शर्माले गाउँपालिकाको नीति उत्पादनमा जोड दिने भएकाले अनुदानको सदुपयोग नगरेकालाई समेत कामका लागि प्रोत्साहन गरिने बताए । अनुदान फिर्ता हुनुपर्ने किसानको मागअनुसार फिर्ता गर्न सकिने कानुन नरहेको भन्दै उनले अनुदान दुरूपयोग भएमा कारबाही प्रक्रियामा जानुपर्ने बताए ।
भवन र सडकका काममा स्थानीयवासीको विवाद रहेका कारण तत्काल काम थाल्न नसकिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले बताए । गाउँपालिका उपाध्यक्ष दिलकुमारी पुनले सर्वसाधारणको हित हुनेगरी गाउँपालिकाका काम भइरहेको जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij