Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

मौरीपालन व्यवसायमा जलवायु परिवर्तनको असर, मह उत्पादन घट्यो  

मौरीपालन व्यवसायमा जलवायु परिवर्तनको असर, मह उत्पादन घट्यो  

  • 441
    SHARES
  • मौरीपालन व्यवसायमा जलवायु परिवर्तनको असर, मह उत्पादन घट्यो  

    चितवन । चितवनको रत्ननगर नगरपालिकाका पृथ्वीराज लामिछानेले १५ वर्षअघिसम्म मौरीको एउटै गोलाबाट वार्षिक ८५ किलोसम्म मह निकाल्थे । तर पछिल्ला वर्षहरूमा उनलाई प्रतिगोला २५ किलो मह उत्पादन गर्न पनि कठिन भएको छ ।

    ‘विसं २०५३ देखि दुई  गोलाबाट मौरीपालन व्यवसाय गर्दै आएको हुँ । विसं २०६३ सम्म एउटा गोलाबाट ८० देखि ९० किलोसम्म मह काढ्थेँ,’ उनले भने, ‘अहिले निरन्तर घट्दै गएर वार्षिक २५ किलो मह पनि उत्पादन हुँदैन ।’

    खर्च कटाएर एउटै गोलाबाट १० हजारसम्म आम्दानी गरेका उनले अहिले मुस्किलले पाँच हजार पनि बचाउँदैनन् । यसरी महको उत्पादकत्व घट्दै गएपछि उनले मौरीको संख्यासमेत घटाउँदै आएका छन् ।

    ‘पाँच वर्ष अगाडि ५०० भन्दा बढी गोला मौरी चर्न जान्थ्यो’, उनले भने, ‘बजार र उत्पादनको समस्याले गर्दा मौरी घटाउँदै २०० गोलामा झारेको छु ।’ उनले वार्षिक २५ टनका हाराहारीमा मह उत्पादन गर्छन् ।

    उनले वार्षिक ७० टन अरूको मह संकलन गरेर बिक्रीसमेत गर्ने बताए । महमा फाइदा भए पनि विगतको भन्दा लागत मूल्य पनि बढी हुँदै आएको उनको भनाइ छ ।

    चरन क्षेत्रको अभाव, वन विनाश, वन अतिक्रमण, बालीनालीमा विषादीको प्रयोग, जलवायु परिवर्तनको प्रभावलगायत कारण बर्सेनि मह उत्पादन घट्दै गएको बताइएको छ ।

    विकास निर्माणका क्रममा स्थानीय जङ्गलमा चिउरी, रूदिलोलगायतका बोटबिरूवा नास हुँदै जाँदा किसानहरू मौरी चराउन देशका विभिन्न भाग पुग्ने गरेको छन् ।

    ‘पहिलो सिजनमा चिउरी र तोरीको लागि दाङ र प्युठान, यसपछि क्रमशः कपिलवस्तु, चितवन, बर्दिबास, सर्लाहीलगायतका पूर्वका जिल्लामा मौरी चराउन लैजान्छौँ’, १५० गोला मौरीपालन गर्दै आएका रत्ननगरका सुरेन्द्र मानन्धर भने, ‘मौरीका लागि चरन क्षेत्र अभाव हुँदा वर्षमा १२ स्थानमा सार्नुपर्छ ।’ चरनका लागि उनीहरूले प्रतिगोला ५० देखि १०० सम्म सामुदायिक वनलाई दिने गरेका छन् । 

    बढ्दो विषादीको प्रयोगका कारण पनि मौरीपालक किसान समस्यामा परेका छन् । विसं २०५२ देखि मौरीपालन गर्दै आएका मेघबहादुर खत्री मौरीपालक किसानका लागि चरण क्षेत्रको समस्या नै प्रमुख चुनौती रहेको बताउँछन् । 

    ‘मेरोमा २५० गोला मौरी छन् । यहाँ राखेर उत्पादन दिन सकिँदैन । चरन भएको क्षेत्रमा स्थानीयले लैजान दिँदैनन्’, उनले भने, ‘गत वर्ष तोरीमा हालेको विषादीको कारण १० गोला मौरी नष्ट भयो ।’

    पछिल्लो समय जिल्लामा मौरीपालक किसान बढ्दै गएका छन् । यहाँ ५०० भन्दा बढी किसान छन् । हालसम्म जिल्लामा ३० हजार गोला मौरी रहेको अनुमान छ ।

    तीन वर्षका तुलनामा मौरीका गोला ३० प्रतिशतले बढेको छ तर किसानको आकर्षण बढेपनि चरणलगायतका कारण महको उत्पादकत्व भने घट्दै गएको मौरीपालन महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेल बताउँछन् । 

    महको उत्पादन वृद्धि गर्नका लागि सामुदायिक वनसँग मिलेर चिउरी, रूदिलोलगायतका बिरूवा सार्ने र गुणस्तरीय रानी मौरीको आयात गर्ने योजना रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ चितवनका प्रमुख धनबहादुर थापाले बताए । 

    ‘मौरीको ससंख्या बढ्दै गएको छ । चरण क्षेत्र घट्दै छ । यसलाई मध्यनजर गर्दै चिउरीलागयतका बिरूवा रोप्नका लागि सामुदायिक वनसँग परामर्श गरेर मौरी चरणको व्यवस्थापनको कार्यक्रम गर्दै छौँ’, उनले भने, ‘रानी मौरीको गुणस्तर घट्दै गएको पाइएको छ । प्रजनन विकासका लागि मौरी विकास कार्यालयसँग मिलेर विदेशबाट रानी मौरी ल्याएर किसानलाई दिने तयारी गर्दैछौँ ।’  

  • सम्बन्धित विषय:

  • # मौरीपालन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij