Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

ऊन निकालेर कपडा बनाउने चलन हराउँदै 

ऊन निकालेर कपडा बनाउने चलन हराउँदै 

  • 573
    SHARES
  • ऊन निकालेर कपडा बनाउने चलन हराउँदै 

    म्याग्दी । उत्तरी र पश्चिमी म्याग्दीको माथिल्लो क्षेत्रमा व्यवसायिकरूपमा भेडापालन हुँदै आएपनि भेडाको ऊन निकालेर कपडा बनाउने चलन भने हराउँदै गएको छ ।

    गाउँघरमा चर्खा चलाउने र भेडाको ऊनबाट धागो निकालेर कपडा बनाउने जनशक्तिको अभावमा गतिलो आम्दानीको माध्येम बन्न सक्ने ऊनका कपडा गाउँघरबाट नै लोप हुन थालेकाे स्थानीयवासीले बताएका छन् ।

    भेडापालनबाट गाउँलेले राम्रो आम्दानी गर्दै आए पनि भेडा मासुका रूपमा मात्र प्रयोग गरिँदा ऊनबाट हुने व्यवसायिक फाइदातर्फ किसानहरूको ध्यान जान सकेको छैन । भेडाको रौँ निकालेर चर्खामा घुमाई ऊन (धागो) बनाउने सीप नहुँदा आम्दानीको गतिलो माध्येम बन्न सक्ने ऊनका कपडा गाउँघरमा समेत मुस्किलले देख्न पाइने मल्काबाङका पुनम छन्त्यालले बताए ।

    भेडाको रौँबाट बनेका ऊनका कपडाको माग देश-विदेशमा उच्च रहेपनि चर्खा चलाएर धागो निकाल्ने र तान लगाएर कपडा बुन्ने जनशक्तिको अभावमा दोहोरो आम्दानीबाट वञ्चित हुनु परेको भेडापालक कृषकहरूको भनाइ छ । ऊनबाट बन्ने कपडाहरू (हापदुला, काम्लो, बख्खु, घुम)को माग नेपाली तथा बाहिरी बजारमा निकै बढेको पाइन्छ ।

    गाउँघरका बूढापाकाहरूले सीप हस्तान्तरण गर्न नसक्दा अहिलेका युवा पुस्तामा चर्खा चलाएर धागो निकाल्ने र तान फिजाएर कपडा बनाउने सीप नभएको र युवाहरू विदेश गएर पैसा कमाउनतर्फ लालायित हुने गरेकाले गाउँघरमा चर्खा चल्न छोडेका मालिका गाउँपालिका-५ देविस्थानका टेकबहादुर बुढाले बताए ।

    धवलागिरि गाउँपालिका-५ की तेजमायाँ बिक उमेरले ७१ वर्षकी भइन् । जान्ने भएदेखि नै चर्खा चलाएर भेडाको रौँबाट ऊन निकाली हापदुला र काम्लो बनाउने गरेकी उनले अहिले हातले भर दिन छोडेपछि चर्खा चलाउन पनि छोडेकी छिन् । उनले ४३ वर्षसम्म चलाएको चर्खा अहिले सिकुवामा थन्किएको छ ।

    तेजमाँयाले ऊनबाट बन्ने कपडा सानैबाट बनाउँदै आएकी हुन् । उनले रौँबाट बन्ने कपडा बुन्न बजैबाट (हजुरआमा) बाट सिकेको हुँ । तर अहिलेका पुस्ताले यसप्रति चासो नराखेको उनले  बताइन् ।

    ‘मैले सानैदेखि बुन्दै आएकी हुँ, सानोमा बजैले बुनेको देखेँ, त्यसपछि मैले पनि बुन्न थालेँ, तीन वर्षअघिसम्म त बुन्दै आएकी थिएँ, अहिले हातगोडा दुख्न थाल्यो र बुन्न छोडेकी हुँ,’ उनले भनिन्।

    ‘अहिलेका पुस्ताले यस्ता कामहरू गर्नै जान्दैनन्, चासो नै दिँदैनन्, हाम्रो शषपछि यी सबै कुरा हराएर जान्छन् ।’ ‘त्यतिबेला अहिलेको जस्तो सिरक, डसनाको जमाना थिएन,’ उनले भनिन्, ‘सबै भेडाको रौँबाटै बनेका घुम, काम्लो थियो, कपासको कपडा त धेरै पछि आएको हाम्रो ठाममा ।’

    अहिलेका पुस्ताले परम्परागत सीप नसिकेको उनले बताइन् । उनले भनिन्, ‘अहिलेका केटाकेटीहरू पुरानो जमानाका कुरालाई खुइले कुरा भन्छन्, चासै दिँदैनन्, हामी बाँचुन्जेल ओढ्ने, ओछ्याउने हो मरेपछि यी पुराना थाउनालाई हामीसँगै पोलिदिन्छन् ।’

    ऊनबाट बुनेको कपडाको मूल्य न्यूनतम ५ हजारदेखि ४०/५० हजारसम्म पर्ने गरेको स्थानीय बूढापाकाहरूको भनाइ छ । न्यानो र पानीसमेत छेक्ने हुँदा यसको माग बढ्ने गरेको धवलागिरि गाउँपालिका-१ गुर्जाका वडाअध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

    उनले पछिल्लो समय ऊनका कपडाहरूको उत्पादन कम हुँदै गएको बताए । नयाँ-नयाँ प्रविधिका कारण र बजारमा आउने विदेशी कपडाले ऊनका कपडा ओझेलमा परेको उनको भनाइ छ ।

    ‘पहिले-पहिले दुःख पाउने (गरिब) मान्छेले मात्र लगाउने र ओढ्ने ऊनका कपडा अहिले धनीमानी र सौखिन मान्छेले मात्रै खोज्ने र लगाउने गरेको पाइन्छ,’ मालिका गाउँपालिका-७ बिमका कर्मबहादुर जुग्जालीले भने, ‘यस्ता कपडाहरू वातावरणीय दृष्टिकोणले पनि अत्यन्तै फाइदाजनक हुने हुनाले बुझेका र किन्न सक्ने मानिसहरूले खोजी गर्ने गर्दछन् ।’ 

  • सम्बन्धित विषय:

  • # ऊन
  • # कपडा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij