Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

बढ्दो वायु प्रदूषणबाट वृद्धवृद्धा बढी पीडित

बढ्दो वायु प्रदूषणबाट वृद्धवृद्धा बढी पीडित

  • 435
    SHARES
  • बढ्दो वायु प्रदूषणबाट वृद्धवृद्धा बढी पीडित

    गलेश्वर । बेनी नगरपालिका-२ की ७२ वर्षीया यामकुमारी शर्मा विगत एक सातादेखि घाँटी चिलाउने, लामो समय नाक बन्द हुने, आँखा पिरो हुने र टाउको भारी हुने समस्याले ग्रस्त भएकी थिइन् ।

    गत बुधबार अस्पतालमा गएर जाँच गराउँदा वातावरणीय प्रदूषणका कारण यस्तो समस्या आएको चिकित्सकहरूले बताएपछि उनले घरमा बस्दासमेत मास्क लगाउने गरेकी छिन् । शर्मा मात्रै होइन केही दिनयता बढेको वायु प्रदूषणका कारण म्याग्दीका बालबालिका र वृद्धवृद्धाहरू बिरामी पर्न थालेका छन् ।

    आकाश धुम्मिने, घाम नलाग्ने, पानी नपर्ने, साबिकको भन्दा बढी हावाहुरी चल्ने, धुवाँ र धुलो फैलिनेजस्ता कारणले गर्दा यहाँका बासिन्दाहरू विगत एक सातादेखि समस्यामा छन् । धुलो र धुवाँका कारण एलर्जी भएका बिरामीहरू पनि अस्पतालमा धाउन थालेका छन् ।

    बेनी अस्पतालका डा.जितेन्द्र कँडेलले बिरामीलाई सकभर घरमै आराम गर्न सझाउँदै आएको बताएका छन् । बाहिर जानैपरे धुलो र धुवाँबाट बच्न चिकित्सकहरूले सुझाए पनि बाहिर निस्केपछि धुवाँ र धुलोबाट बच्न सक्ने अवस्था नरहेको सर्वसाधारण बताउँछन् ।

    धुवाँ र धुलोका कारण फोक्सोको समस्या लिएर बिरामीहरू आउने गरेका अस्पतालले जनाएको छ । चिकित्सकहरूका अनुसार प्रदूषणबाट बच्नका लागि स्पेसल मास्क लगाउन अनिवार्य छ ।

    उपचारका लागि आउने बिरामीहरूमध्ये आधाभन्दा बढी वायु प्रदूषणबाट उत्पन्न विभिन्न रोगका हुने गरेका उक्त अस्पतालले जनाएको छ । विगत तीन दिनयता घाम पनि नलाग्ने र आकाशमा सफा बादल पनि नदेखिने गरेको स्थानीयवासी जीवन रेग्मी बताए ।

    तरकारी, फलफूल, गहुँ, केराउ लगायत अन्य बालीका पातमा फुस्रोपना देखिएको र बोटसमेत ओइलाउन थालेको उनको भनाइ छ । विगत एक सातायता ग्रामीण क्षेत्रहरूमा बिरामी पनि बढेका छन् ।

    विशेषगरी प्रदूषणजन्य रोगका बिरामीहरू देखिएकाले तीन/चार दिनसम्म बिरामीहरू अस्पतालमा जचाउन जाँदैनन् तर टाउको दुख्ने र घाँटीमा समस्या देखिन थाल्यो भने बल्ल अस्पताल आउने गरेको चिकित्सकले बताएका छन् ।

    वातावरणीय प्रदूषणले नाक, कान, घाँटीमा तत्काल समस्या पार्ने र  दीर्घकालीनरूपमा मुटु, मस्तिष्क, फोक्सोलगायत विभिन्न भागमा असर गर्ने चिकित्सकहरूको भनाइ छ ।

    ‘हावामा मिसिएका साना कण सासमार्फत शरीरभित्र सजिलै पस्छन् र रगतमा मिसिन्छन् जसका कारण दीर्घकालीन रोग लाग्छ,’ ज्यामरूककोट स्वास्थ्य चौकीका चिकित्सक खगराज निउरे भने, ‘वातावरण प्रदूषणले बालबालिका, वृद्धवृद्धा गर्भवती र प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा सोझै असर गर्छ ।’

    वातावरण संरक्षण नियमावली २०५४ को नियम १५ अनुसार सरकारले वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ लागू गरेको छ । मापदण्डअनुसार एक वर्षमा १८ दिनभन्दा बढीको दूषित हावाले शरिरमा असर पार्छ ।

    राष्ट्रिय मापदण्डमा ९ प्रदूषकलाई वायु प्रदूषणको परिधिभित्र राखिएको छ । स्वास्थ्य सेवा विभागले स्थापना गरेका विभिन्न केन्द्रबाट टिएसपी, पिएम-१० र पिएम-२.५ प्रतिशतको मात्रा मापन हुँदै आएको छ । राष्ट्रिय मापदण्डले एक वर्षमा ९५ प्रतिशत वातावरण सफा हुनुपर्ने उल्लेख गरेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij