वेबटिभी खबर
नयाँ दिल्ली । मार्चको सुरुवातमा स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारतमा कोरोना भाइरस नियन्त्रणमा आउन लागेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीको तारिफ गरे । मोदी नेतृत्वको तारिफ गर्दै विश्वसामु एउटा अन्तर्राष्ट्रिय सहयोगको नजिर पेश गरेको बताएका थिए ।
भारतले जनवरीदेखि आफ्नो बहु प्रचारित खोप कुटनीतिको माध्यामबाट अन्य देशलाई खोप वितरण गर्न सुरु गर्यो । कोरोनाको पहिलो लहरमा मध्य सेप्टेम्बरमा दैनिक कोरोना संक्रमितको रफ्तार उच्चतम स्तरमा पुगेको थियो । त्यसबेला दैनिक ९३ हजारको दरमा संक्रमण हुने गरेको थियो । लामो लकडाउन र महामारीविरुद्धका विभिन्न मापदण्डका कारण भाइरस संक्रमण घट्न थाल्यो ।
सन् २०२१, फेबु्रअरीको मध्यमा ११ हजार संक्रमित भेटिएका थिए । यसपछि प्रत्येक दिन मृत्यु हुनेको संख्या एक सयभन्दा तल पुगेको थियो । संक्रमित र मृत्यु हुनेको संख्या क्रमिक रूपमा घट्दै जान थालेपछि भारतमा कोरोना नियन्त्रणमा आएको भन्दै उत्सव मनाउन सुरु भएको थियो । तर मार्चको अन्त्यदेखि त्यहाँ कोरोना संक्रमण एकाएक बढ्न थाल्यो ।
डिसेम्बरमा रिजर्भ बैंक अफ इन्डियाका उच्च अधिकारीले पनि भारतमा कोरोना महामारी उन्मूलन हुन लागेको भन्दै भारतीय अर्थव्यवस्था सुध्रिने राय व्यक्त गरेका थिए । कोरोना संक्रमण घटेपछि निर्वाचन आयोगले फेब्रुअरीकाे अन्त्यमा पाँच राज्यमा विधानसभा चुनावको घोषणा गर्यो । यी राज्यमा ८२४ सिटका उम्मेदवारलाई मत दिनेको संख्या १८ करोड ६० लाख थियो ।
२७ मार्चबाट सुरु भएको मतदान एक महिनाभन्दा बढीसमय हुने थियो । पश्चिम बंगालमा आठ चरणको निर्वाचन घोषणा गरिएको थियो । यसपछि पुरै जोसले चुनावको प्रचारप्रसार सुरु भयो तर चुनाव क्षेत्रमा कोरोनासम्बन्धी कुनै मापदण्ड अपनाइएन । यसैबीच मध्य मार्चमा गुजरातको नरेन्द्र मोदी स्टेडियममा भारत तथा इंग्ल्यान्डबीच दुई अन्तर्राष्ट्रिय एक दिवसीय खेल हेर्न एक लाख ३० हजार दर्शकलाई अनुमति दिइयो । त्यहाँ पनि कोरोनाको कुनै प्रोटोकल पालना भएन ।
यसको एक महिनाबित्न नपाउँदै देशमा संकट पुनः सुरु भयो । कोरोनाको यो दोस्रो लहर निकै तीव्र रुपमा फैलिएको छ । मध्य अप्रिलसम्म दैनिक एक लाख संक्रमित भेटिएको भारतमा आइतबार दुई लाख ७० हजार संक्रमण पुष्टि भयो र १६ सयको मृत्यु भयो । साेमबार संक्रमितकाे संख्या १० हजारले घटे पनि मृत्यु हुनेकाे संख्या १७ सय नाघेकाे छ ।
कोरोनाको संक्रमण यही रफ्तारमा बढ्दै जाने हो भने जुनसम्म दैनिक मृत्यु संख्या दुई हजार तीन सय नाघ्ने अनुमान गरिएको छ । भारतमा अब पूर्ण रुपमा जनस्वास्थ्य प्रणाली आपतकालीन अवस्थामा छ । अस्पतालमा अक्सिजन, बेड, औषधि र कोरोना परीक्षणको अभावले हाहाकार मच्चिएको छ, अक्सिजन नपाएरै संक्रमितको लगातार मृत्यु भइरहेको छ । यस्तै मृतकको संख्या बढ्दा शव दाह गृहमा शव व्यवस्थापन गर्न समस्या भएको छ । संक्रमण बढेसँगै त्यहाँ खाेपकाे माग पनि बढेकाे छ ।
फेबु्रअरीमा अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसमा पत्रकार तब्बसुम बडनगरवालाले महाराष्ट्रका केही भागमा कोरोनाको रफ्तार सात गुणाले वृद्धि भएको उल्लेख गरेका थिए । त्यसपछि विभिन्न संचारमाध्यामले पनि भारत दोस्रो लहरको महामारीको सामना गर्न तयार हुनुपर्ने बताउँदै आएका थिए । तर, कोभिडलाई जित्न भारतीयहरुको प्रतिरोधि क्षमता बलियो रहेको भन्दै हतारमा कोरोनाविरुद्ध भारत विजय भएको घोषणा गर्नु अहिले भारी परेको त्यहाँका विश्लेषकहरु बताउँछन् ।
ब्लुमबर्गका स्तम्भकार मिहिर शर्माले भारतमा कोरोना गम्भीर संकट बन्नुमा सरकारको अहंकार, अति राष्ट्रवाद एवं लोकप्रियता पाउने होड तथा कर्मचारीतन्त्र जिम्मेवार रहेको बताउँछन् । मानिसहरु लापरवाह हुनाले नै दोस्रो लहरको महामारी घातक हुन लागेको विश्लेषण शर्माको छ ।
जनस्वास्थ्य फाउन्डेशनका अध्यक्ष केपी श्रीनाथ रेड्डी भन्छन्, ‘यहाँका मानिसहरूमा काेराेना जितियाे भन्ने भावना थियो । केही मानिसहरूलाई हर्ड इम्युनिटी प्राप्त गरिसकेको लाग्यो । सबैजना काममा फर्कने हतारमा थिए । केही व्यक्तिहरुलाई भाइरसको जोखिम कायमै रहेको बारे जानकारी थियो तर ती जोखिमहरूको बारेमा चेतावनी दिइरहेका व्यक्तिका कुरा कसैले सुनेनन् ।’
विवाह, उत्सव, धार्मिक समारोह, र्याली, प्रदर्शन सबै किसिमका भीडलाई सरकारले छुट दिन थाल्यो । साथै पहिलो लहरको कोरोना संक्रमण घटेपछि मानिसहरुमा खोप लगाउने इच्छा पनि कम हुँदै गएको थियो । जुलाईसम्म २५ करोड जनसंख्यालाई खोप लगाउने योजना रहे पनि खोप अभियान द्रुत हुन सकेको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij