Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

सामुदायिक वनकाे जडिबुटी आम्दानीको स्रोत बन्दै 

सामुदायिक वनकाे जडिबुटी आम्दानीको स्रोत बन्दै 

  • 745
    SHARES
  • सामुदायिक वनकाे जडिबुटी आम्दानीको स्रोत बन्दै 

    गलेश्वर । धौलागिरि गाउँपालिका-१ को गुर्जा सामुदायिक बन स्थानीयाका लागि औषधीजन्य वस्तु संकलन गर्ने स्थाल बनेको छ । वनबाट जडीबुटी ल्याएर स्थानीयवासीले औषधीउपचार गर्ने गरेका छन् । यहाँ यार्सागुम्बा, रातो च्याउ, सतुवालगायत जडीबुटी पाइन्छ ।

    यस वनमा गत वर्षदेखि इटालियन गोल्डेन स्याउको व्यवसायिक खेती गर्न सुरु गरिएको छ । गुर्जाका बासिन्दाले जडीबुटीको व्यवसायिक खेती गर्न सुरु गरेका छन् । दलसिंगे खर्क, भुजुङ्गेखर्क, गुर्जा बेसक्याम, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रूकुमको टकसेरासम्मको पदमार्गमा वन क्षेत्र फैलिएको छ ।

    पदमार्गको नाम ‘यार्सा ट्रेल’ राखिएको धवलागिरि गाउँपालिका-१ का वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए । गुर्जा गाउँ समुद्र सतहबाट ३ हजार २२० मिटर उचाइमा अवस्थीत छ । हिउँदमा बाक्लो हिउँले ढाक्ने गुर्जासम्म म्याग्दीको लुलाङ र मुदी गाउँ तथा बागलुङको ढोरपाटनबाट पुग्न सकिन्छ ।

    गुर्जाबाट पर्यटक सोझै ढोरपाटन पुग्ने गरेको छन्त्यालले बताए । जडीबुटीबाट मनग्य आम्दानी हुन थालेपछि यहाँको बाँझो जमिनमा स्थानीयले जडीबुटी खेती गर्न थालेका हुन् । यहाँ रहेको हिमाली कृषि सहकारी संस्थाले व्यवसायिक खेती गर्न मद्दत गरेको छ ।

    ‘सहकारीमा आबद्व किसान जडीबुटी खेतीमा संलग्न छन्’, उनले भने । किसानलाई व्यवसायिक खेतीतर्फ आकर्षित गरी आयआर्जन बढाएर आत्मनिर्भर बनाउन सहकारी संस्थामार्फत २५ किसानले जडीबुटी खेती थालेको छन्त्याल जानकारी दिए ।

    साढे दुई हेक्टरमा अतिस जातको जडीबुटीको बेर्ना लगाइएको छ । अतिसलाई जुका मार्न पनि प्रयोग गरिन्छ । गुर्जामा बिसजरा, अमलवेद, पदमचाल, कुट्की, सतुवा, खिरौँला, पाखनवेद, बिख्मा, यार्सागुम्बा, पाँचऔँले, लौठसल्ला, जटामसीलगायत जडीबुटी पाइन्छ ।

    ‘खाली जग्गा उपयोग गर्दै अतिसको बेर्ना उत्पादन गरी खेती विस्तार गरिएको छ’, छन्त्याल भने । यसैगरी बेनी नगरपालिका-२ ज्यामरुककोटको गौश्वारा सामुदायिक वनबाट घाँस-दाउरा मात्र होइन, औषधिका रूपमा जडीबुटीसमेत संकलन गरिदै आएको छ ।

    स्थानीय रत्नवम मल्ल भने, ‘आफ्नै गाउँघरको औषधी प्रयोग गर्न पाइएको छ ।’ खोकी लाग्दा हर्रो, बर्रो खाने गरेको उनको भनाइ छ । कुरिलो, अमला, सेतो मुस्ली, क्यामुनो, तिमिया, बादलपातेलगायत जडीबुटीको अत्यधिक प्रयोग गरिन्छ ।

    म्याग्दीका सामुदायिक वन दाउरा, घाँस र अन्य वनपैदावर स्थानीयवासीका लागि घरेलु उपचार र आम्दानीका स्रोत बन्दै गएका छन् । संरक्षणमा स्थानीयवासीको चासो र जडीबुटीको महत्व बढ्दै गएपछि सामुदायिक वन आयआर्जनका माध्यम बनेका हुन् । दीर्घकालीन असर नगर्ने हुँदा स्थानीयले वनमा पाइने जडीबुटी प्रयोग गर्छन् ।

    निमित्त वन अधिकृत चन्द्रमणि सापकोटा वनमा प्रशस्त जडीबुटी पाइने बताउछन् । जडीबुटीको खोजी, पहिचान र संरक्षणका लागि विभिन्न कार्यक्रम गर्दैआएको उनको भनाइ छ । ‘सामुदायिक वनमा पाइने जडीबुटी आम्दानीका स्रोत बनेका छन्’, उनले भने ।

    म्याग्दीका २१३ सामुदायिक वनमा विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । ती जडीबुटीको संरक्षण र प्रयोग राम्रोसँग हुन भने सकेको छैन ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij