Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

आँपमा मधुवा लागेपछि किसान चिन्तित

आँपमा मधुवा लागेपछि किसान चिन्तित

  • 643
    SHARES
  • आँपमा मधुवा लागेपछि किसान चिन्तित

    महोत्तरी । पात र हाँगा नदेखिने गरी आँपका रूखमा मज्जर (मञ्जरी, फूल)ले ढाक्दा दंग परेका किसान दिक्क हुन थालेका छन् । यसपाली आँपमा राम्रो मज्जर खेल्दा मनग्गे आम्दानी लिने आसले खुसी भएका किसान पहेंलपुर मज्जर मधुवाले डढाएपछि निरास भएका हुन् ।

    भङ्गाहा नगरपालिका-४ रामनगरका किसान गंगाराम महतोले  मधुवा (आँपको मज्जरमा लाग्ने रोग)का कारण पहेंलपुर मज्जर मधुवाले डढाएर सखाप पारेको बताए । महतोजस्तै सोही बस्तीका बासु बराल, गुणराज दाहाल, सतिश पाण्डे, अरुण गिरी, हरिदेव साह, सत्यनारायण यादव र भजन महतो पनि आँपको मज्जरमा मधुवाले चिन्तित भएका छन् ।

    ‘फूल फूलेको देख्दा यसपालि राम्रै आम्दानी लिने सपना बुनेका थियौं’, फलफूल किसान हरिदेव साहले भने, ‘राम्ररी टिकोला (चिचिला) नै लाग्न नपाई मज्जरनै डढ्यो ।’ मधुवाको प्रकोपले व्यवसायिकरूपमै फलफूलखेती गर्ने यहाँका किसान निरास भएका छन् ।

    फलफूल खेतीलाई गुजाराको मुख्य पेसा बनाएका किसानलाई रोगको प्रकोपले चिन्ता बढाएको हो । ‘खै केही वर्ष पहिले त फलफूल खेती हेर्ने जेटिए बाबु (कृषि सहायक, कृषि प्राविधिक) आएर यस्तो गर्नोस् भनेर परामर्श दिन्थे’, बर्दिबास नगरपालिका-९ पशुपतिनगरका फलफूल किसान विनोद महतोले भने, ‘अचेल त केही वर्षयता कोही पनि सोधखोज गर्न आउँदैनन्, आफूले जानेको गरियो, केही लागेन ।’

    समय-समयमा कृषि परामर्श नपाउँदा पनि आफूहरू पछि परेको फलफूल किसानको गुनासो छ । जिल्लाको बर्दिबास, गौशाला, भंगाहा र जलेश्वर नगरपालिका क्षेत्र एवम् पिपरा गाउँपालिका क्षेत्रमा व्यवसायिकरूप आँप बगैँचा लगाइएको छ ।

    यहाँका सबैजसो क्षेत्रमा मधुवाले मज्जर डढाएर कालो बनाएपछि लागेका केही टिकोला पनि चाउरिएर नबढेको पीडित किसानले बताए । ’यसपालि आँपबाट आम्दानी लिने आस मर्‍यो’, मधुवाले डढाएर कालो बनाएको मज्जरतिर देखाउँदै पशुपतिनगरका फलफूल किसान सुरजसिंह कुशवाहाले भने ।

    आँपमा चिचिला खेल्ने समय चैत पहिलो सातामै मज्जरमा मधुवा लागेर कालो बनाएको छ । चैत सुरु भएसँगै मधुवाले आँपका मज्जर डढाएर कालो बनाएको गौशाला-८ बेलगाछीका किसान लालदेव महतोले  बताए ।

    आफ्नो बारीका ६० वटा आँपका रूखमध्ये आधाभन्दा बढी रुखको मज्जर मधुवाले डढाएको उनको भनाइ छ । ‘मधुवा नियन्त्रणका लागि उपचार गरिए पनि रोग नियन्त्रण हुन सकेको छैन तर सघन उपचार बढाइएपछि थप रुखमा भने मधुवा लागेको छैन ।’

    यसपालि जिल्लाका सबैजसो भेगमा आँपमा राम्रो मज्जर लागे पनि सबैतिर मधुवाको प्रकोप पनि फैलिएको छ । ’पहिले त पानीको फोहराले प्राकृतिक उपचार गरियो’, जलेश्वर-५ चौडियाका किसान रहिमन मण्डलले भने, ‘त्यसपछि एकपछि अर्को उपचार चलाइए पनि पूर्ण नियन्त्रण हुन सकेन ।’

    भङ्गाहा-६ सग्रामपुरका पूर्वकृषि विज्ञ राजकिशोर यादवले समयमै उपचार नगरिँदा मधुवाको प्रकोप बढेको बताए । लगातार सघन उपचार गरिँदै लगिए रुखका टिकोला अडाउन सकिने उनको भनाइ छ ।  यसैगरी आँपमा फूल खेल्न थालेकै बेला उपचार नगर्दा मधुवा लागेको अर्का फलफूल विज्ञ ज्ञानेन्द्र सिंह कुशवाहाको भनाइ छ ।

    आँपको रुखको जरा वरपर खनेर सिँचाइ गर्नाका साथै  फेदमा चुन दल्नेजस्ता प्राकृतिक उपचारले मधुवा रोक्न सकिने उनको सुझव छ । मधुवा लागिसकेपछि भने मज्जर बचाउन विषादिको प्रयोग गर्नुपर्नेमा कुशवाहाले जोड दिए ।

    लगातार फूलमा पानी छर्किएसँगै जरामा पर्याप्त सिँचाइ गरिए मधुवा नलाग्ने र फूलमा दाना राम्रो लाग्ने विज्ञको सुझाव छ । यसपाली हिउँदमा राम्रो पानी नपरेको र किसानले आँपको जरा वरिपरि खनेर किरा मार्ने उपचार नगर्दा मधुवाले किसानलाई चिन्तित बनाएको छ ।

    जिल्लामा १० हजार हेक्टर जग्गामा व्यवसायिकरूपमा आँपखेती रहेको स्थानीय तहको तथ्यांकले देखाएको छ । पछिल्ला केही वर्षयता गाउँघरमा कृषि कामदार पाउन छाडिएपछि अन्य खेती गर्न छाडेर फलफूल लगाउने क्रम ह्वात्तै बढ्दै गएको छ । खेती बढेसँगै राज्यपक्षबाट समुचित सेवा, सुविधा भने नबढ्दा आफूरूको ब्यथा जहाँको त्यहीँ रहेको आम किसानको भनाइ थियो  ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij