वेबटिभी खबर
धनुषा । जनकपुरधाममा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसीसी)ले २०० श्ययाको अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा विनयतारा फाउण्डेशन (अमेरिका)सँगको सहकार्यमा विनयतारा फाउन्डेशन क्यान्सर सेन्टर (बिटिएफसीसी)ले अत्याधुनिक क्यान्सर अस्पताल निर्माण गर्ने भएको फाउन्डेशनका अध्यक्ष डा.विनय शाहले जानकारी दिए ।
डा.शाहले नयाँ आगामी वर्ष २०७९ को वैशाख २ गते जनकपुरधाममा उक्त क्यान्सर अस्पताल भवनको शिलान्यास गर्ने तयारी गरिएको जानकारी दिए । उनले नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले अस्पतालको शिलान्यास गर्ने बताए ।
फाउन्डेशनका अध्यक्ष डा.शाहले भने, ‘यस अस्पतालको निर्माण गरिने भवन अमेरिकाको सान फ्रान्सिस्कोस्थित फोंग एण्ड चान आर्किटेक्ट्सद्वारा डिजाइन गरिएको छ । उनीहरूको नवीनतम् डिजाइन अस्पतालको कार्यक्षमतालाई प्रभावकारी बनाउने खालको छ’, डा.शाह भने ।
‘पहिलो चरणमा यो अस्पताल एक लाख वर्ग फिटमा सञ्चालन हुनेछ । हामी सन् २०२५ सम्ममा १०० श्ययाको भवन निर्माण गरिसक्ने छौं ।’ अस्पताल भवन निर्माणका लागि स्थानीय समर्थक तथा समाजसेवी विनोद ठाकुरले केही जग्गा दान गरेका छन् ।
बिटिएफसीसीले प्रतिवर्ष लगभग २५ हजार बिरामीलाई सेवा दिने लक्ष्य राखेको छ । विगतमा, यीमध्ये धेरै बिरामीले क्यान्सरको उपचारका लागि ८ घण्टा वा बढी यात्रा गर्नुपथ्र्यो । यस्तो यात्राका लागि स्रोतसाधन नभएकाले उपचार नै पाउँदैनथे । अहिले जनकपुरधाममा बिटिएफसीसीको २५ श्ययाको अस्पताल सञ्चालनमा रहेको छ ।
जनकपुरधामको कपिलेश्वर सडकमा भाडाको भवनमा रहेको सो अस्पतालका सेवामा मेडिकल ओन्कोलोजी, सर्जिकल ओन्कोलोजी, टाउको र घाँटीको क्यान्सर सर्जरी, प्रयोगशाला, फार्मेसी, आपत्कालीन कोठा, रेडियोलोजी, हिस्टोप्याथोलोजी, आइसियु र एनेस्थेसियोलोजी संञ्चालनमा छन् ।
डा.शाहले यो दक्षिण एशियाकै आधुनिक अस्पतालका रूपमा स्थापित हुने दाबी गरे । ‘हामी क्यान्सरको उपचारमा २१औँ शताब्दीको अत्याधुनिक टेक्नोलोजी प्रयोग गर्नेछौं’, डा.शाहले भने ।
‘यस अस्पतालमा डाक्टर र अनुसन्धानकर्ताले उच्च गुणस्तरको क्यान्सर उपचार प्रदान त गर्ने नै छन्, त्यसका साथसाथै यो संस्था क्यान्सर निदानका लागि उच्च स्तरको रिसर्च सेन्टरकारूपमा पनि काम गर्नेछ ।’
विनयतारा क्यान्सर ट्रष्ट (बिसिटी)का अध्यक्ष डा.योगेन्द्रप्रसाद सिंहका अनुसार यस क्षेत्रमा स्तरीय क्यान्सर सेन्टर खोल्नाले यस क्षेत्रका मानिसको स्वास्थ्य उपचारमा मात्र मद्दत गर्ने नभई आर्थिक, सामाजिक गुणस्तर र जीवनयापनमा पनि परिवर्तन ल्याउन सक्ने बताए ।
‘हामी अन्तर्राष्ट्रियस्तरको क्यान्सर उपचारलाई मधेसमा लिएर आउँदैछौं । यसलाई मधेस परिवर्तनको अभियानका रूपमा हामीले लिएका छौं । यहाँको अर्थतन्त्र मजबुद हुनेछ, मानिसले रोजगारी पाउनेछन् र स्वास्थ्य सेवाको लागि मधेस बिरामीको गन्तव्यस्थल हुनेछ ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij