वेबटिभी खबर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अर्थतन्त्र समाप्त गरेको आरोप लगाएका छन् । एमाले नेतृत्वको सरकार सधैँ निर्माण कार्य गरेर अर्थतन्त्रको विकास गर्ने तर अहिलेको गठबन्धन सरकारले अर्थतन्त्र समाप्त गरेको उनको भनाइ छ ।
सोमबार बझाङ पुगेका अध्यक्ष ओलीले अहिलको वर्तमान सरकारले कुनै काम नगरेकोसमेत आरोप लगाए । सेती नदीमा आएको बाढीले बझाङ र बैतडीमा अथाह क्षति गर्दा पनि सरकारले कुनै काम नगरेको उनको आरोप छ ।
प्रधानमन्त्री, गृहमन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री बाढी प्रभावित ठाउँमा पुगे पनि कुनै काम नगरेको उनले बताए । उनले भने,‘सेती नदीमा तटबन्ध निर्माण गरी खेतीयोग्य फाँट जोगाउन एमाले प्रतिबद्ध छ । भत्केका घर एमालेले निर्माण गर्छ ।’
अध्यक्ष ओलीले बझाङका साथै सुदूरपश्चिममा पर्यटनको प्रचुर सम्भावना भएको पनि बताए । वर्तमान सरकार चुनाव सार्ने कोसिस गरिरहेको समेत अध्यक्ष ओलीकाे आरोप छ । पाँच दलीय गठबन्धन जति ठूलो भएपनि एमाले जति नपुग्ने उनले दाबी गरे ।
उनले सोमबार बझाङ जिल्लाका मतदातालाई सम्बोधन गर्दै विकासका लागि एमालेलाई मतदान गर्न आग्रह गरेका छन् । एमाले प्रतिपक्षमा भए पनि जनआर्कषर्ण भएको उनले बताए । नेकपा एमाले जनताको पार्टी भएकाले एमालेमा गोलबद्ध हुन उनले बझाङवासीलाई आग्रह गरेका हुन् ।
उनले एमाले बालबालिकादेखि वृद्धवृद्धाको पक्षधर पार्टी भएको बताए । उनले आफूहरू आधुनिक नेपाल निर्माणको अभियानमा लागेको बताएका थिए । उनले भने,‘जब एमाले पहिलो पटक सरकारमा सहभागी भयो, आफ्नो गाउँ आफै बनाऊँ अभियान, सामाजिक सुरक्षा भत्ता वितरणलगायतका उत्कृष्ट कार्यक्रम ल्यायो ।’
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij