वेबटिभी खबर
नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिका-३ धौलागिरिमा मगर घरबास (होमस्टे) सञ्चालनमा आएको छ । ‘एक पालिका एक घरबास’को अवधारणालाई अगाडि बढाउँदै दुई वर्षको निरन्तर प्रयासपछि गुरूङ र मगर बस्ती रहेको धौलागिरिमा नौमती सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको हो ।
मगर संस्कृति, संस्कार र सभ्यतामा रमाउन मगर समुदायले घरबास सञ्चालनमा ल्याएका हुन् । होमस्टे परामर्शदाता पूर्णचन्द्र उपाध्यायका अनुसार सुरूआतमा ९ वटा घरलाई घरबासका रूपमा सञ्चालनमा ल्याइएको छ ।
परामर्शदाता उपाध्यायले भने,‘यसलाई बढाउँदै लैजाने हो’, उनले मगर संस्कार र संस्कृतिको जगेर्नामा पनि यसले सहयोग गर्ने उल्लेख गर्दै होमस्टे सञ्चालनमा आएसँगै मगर कला, संस्कृति, रहनसहन र खानपानमा जोड दिइएको बताए ।
खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले होमस्टे आर्थिक समृद्धिसँग जोडिने भएकाले खजुराको समृद्धिमा यसले टेवा पुग्ने विश्वास व्यक्त गरे । नौमती सामुदायिक घरबास धौलागिरिका अध्यक्ष छविकला थापाले धौलागिरिमा पाहुना भएर आउनेलाई मगर संस्कृतिमा मनोरञ्जन गराइने बताए ।
संस्कृतिसँगै नजिकै रहेको किरणनालामा गोही हेर्ने र नौमती बाजाको धुनमा नाचगान गरी भरपुर मनोरञ्जन लिने व्यवस्था घरबास गाउँमा गरिएको उनले जानकारी दिए । उनले स्थानीय मगर अगुवा चित्रबहादुर रानामगरले मगर र गुरूङको खानपान, संस्कृतिलाई बचाउँदै भावी पुस्तालाई समेत संस्कार र संस्कृति बचाइराख्न प्रेरणा दिन खोजिएको बताए ।
‘हाम्रा पुर्खाले गरेका परम्परागत कुराको सिकाइ, संस्कार, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले घरबास सञ्चालन गरिएको हो’, उनले भने । घरबास महासंघका महासचिव कृष्ण चौधरीले घरायसी वातावरणमा बसोबास, आफ्नै खेतबारीमा उत्पादन भएका जैविक खानाका परिकारको स्वाद पस्कन घरबास प्रभावकारी हुने बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij