Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

ठेकेदार ठान्नेहरूबाट मधेस मुक्त भएको छ : अध्यक्ष ओली

ठेकेदार ठान्नेहरूबाट मधेस मुक्त भएको छ : अध्यक्ष ओली

  • 405
    SHARES
  • ठेकेदार ठान्नेहरूबाट मधेस मुक्त भएको छ : अध्यक्ष ओली

    काठमाडौं । आफूलाई मधेसकाे ठेकेदार ठान्नेहरूबाट मधेस मुक्त भएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताए ।

    शनिबार सर्लाहीको मलंगवामा एमाले जिल्ला कमिटीले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले अब आफूलाई कसैले मधेसको ठेकेदार नठान्न चेतावनी दिएका हुन् ।

    विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्दै ओलीले मधेसका नागरिकलाई मधेसको ठेकेदार ठान्नेहरूले नै शोषण गरेको दाबी गरे । २०४६ सालको आन्दोलनपछि २०४७ साल वैशाखमा सर्लाही सदरमुकाम मलंगवा आएको स्मरण गर्दै उनले ३२ वर्षपछि आउने अवसर जुरेको भन्दै खुसी व्यक्त गरे ।

    मधेसी जनताको आर्थिक, सामाजिक तथा समग्र विकासको लागि आफ्नै कार्यकालमा एमाले सरकारले ठूला योजना अघिसारेको उनले दाबी गरे । एमाले सरकारले कुरा नभई काम गरेर देखाउने गरेको ओलीले बताए । २२ वर्ष पहिला आफ्नो सरकारले ल्याएको हुलाकी सडकको अवधारणाले मधेशको विकासले काँचुली फेरेको ओलीले बताए ।

    जनकपुरबाट ढल व्यवस्थापन सुरु गरेको बताउँदै मधेसका सबै ठाउँमा ढल र पानीको सुविधा पुर्‍याउने उनले बताए । आफ्नै सरकारले सामाजिक सुरक्षा भत्ता वितरण सुरुगरेको उनको जिकिर छ । यसलाई एमालेको सरकारले बढाउँदै लैजाने उनले बताए ।

    उनले मधेसका नेकपा एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै यस पटक चुनावमा अत्यधिक बहुमतसहित विजयी हुने ठोकुवा गरे । फरक प्रसंगमा बोल्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धन विकास विरोधी भएको आरोप लगाएका छन् । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij