वेबटिभी खबर
काठमाडौं । काठमाडौं उपत्यकाका सडक, चोक र नदी किनारमा फोहोरको थुप्रो लाग्दा वाग्मती लगायत नदीमा सिधै फोहोर मिसिन थालेको छ । नदीमा सिधै फोहोर मिसिन थाले पनि वाग्मती लगायत काठमाडौं उपत्यकाका नदी सफाइ अभियान भने जारी छ ।
सफाइ अभियानकर्मीले प्रत्येक हप्ता शनिबार बिहान स्वयंसेवा गर्दै सफाइ गर्छन् । सात दिनसम्म राजधानीका विभिन्न स्थानमा थुप्रिएको फोहोर भने नदीमा मिसिन्छ । नदी किनारमा हिँड्दा नाक थुनेर हिँड्नुपर्ने अवस्था छ ।
विगत १० वर्षदेखि सफाइ अभियान जारी रहेपनि नदी ढलमुक्त हुनसकेको छैन । फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिका लगायत राजधानीका अन्य स्थानीय तह सफल हुनसकेका छैनन् । फोहर व्यवस्थापन स्थानीय सरकारको प्राथमिकतामा नपर्दा यस्ताे भएकाे हाे ।
अभियानकर्मीले प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा नदीमा गएर सफाइ गरेपनि फोहोर व्यवस्थापनमा स्थानीय सरकारले ठोस नीति निर्माण गरेका छैनन् । जसका कारण अन्य देशका नागरिकको समेत पहिलो आँखा जाने राजधानी सहर प्रदूषित र दुर्गन्धित बनेको हो ।
गर्मी बढ्दै गएकाले ठाउँ-ठाउँमा थुप्रिएको फोहोरबाट रोगको महामारी फैलनेतर्फ सम्बन्धित पक्षको ध्यान नगएको धुलिखेल अस्पतालका डा.रोशन पोखरेल बताए । वाग्मती सफाइ महाअभियानको ४६६औँ हप्ता र तिलगंगा सफाइ अभियानको ३६६औँ हप्तामा शनिबार तिलगंगा पहेँलो पुलमा सफाइ गरेको छ ।
सफाइबाट पाँच मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले बताए । सफाइमा प्रमुख अभियानकर्मी एवं पूर्वमुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, तिलगंगा महिला समूह, रोयल बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० जनाको समूह सहभागिता रहेकाे थियाे ।
साथै, सिभिल क्यापिटल मार्केटस् प्रालिबाट ११ जनाको समूह, वाग्मती फोहोर उन्मूलन उपभोक्ता समिति, काठमाडौं महानगरपालिका वातावरण विभाग टेकु, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी, स्थानीयवासी एवम् वाग्मती अभियानकर्मीको रहेका थिए ।
सफाइ महाअभिायनका लागि सिभिल क्यापिटल मार्केट्स प्रालिबाट साढे एक दर्जन ठूलो पन्जा, दुई थान सावेल र डोको प्रदान गरिएको थियो । अर्को हप्ता ४६७औँ हप्ताको सफाइ सिनामंगल पुलको नदी किनारमा गरिने जनाइएको छ । २०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ ।
जाडो, गर्मी, वर्षा, चाडपर्व लगायत प्रतिकूल अवस्थामा पनि सफाइ महाअभियान रोकिएको छैन । महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान पनि सुरु भएको छ । हाल राजधानीमा २५ स्थानमा सफाइ भइरहेको छ ।
यसैगरी काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ । राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको जनाइएको छ । गुह्येश्वरीमाथिको वाग्मतीलगायत वाग्मतीका विभिन्न खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथका उत्तरी र पश्चिमी भागमा पनि सफाइ गरिएको जनाइएको छ ।
ललितपुरको गोदावरी खोला र भक्तपुरको हनुमन्तेमा पनि सफाइ जारी रहेको छ । अभियानकर्मीको सक्रियतामा देशव्यापी रूपमा सफाइ अभियान जारी रहेपनि स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन । फोहर व्यवस्थापन स्थानीय सरकारकै दायित्व भए पनि काम गर्ने रुचि देखाएका छैनन् ।
देशको राजधानी काठमाडौं उपत्यकामा एक महिनाभन्दा लामो समयदेखि फोहोर उठेको छैन । सांस्कृतिक सहरका रूपमा समेत विश्वमा परिचित काठमाडौंमा फोहोर नउठ्दा पर्यटकमा पनि नकारात्मक सन्देश गएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij