वेबटिभी खबर
कञ्चनपुर । जंगली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका-८का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जंगली हात्ती छिरेर नोक्सान पुर्याउन थालेपछि साइरन जडान गरिएको हो ।
‘बस्ती नजिकै हात्ती देख्ने बित्तिकै जडान गरिएको साइरनको स्विच थिचेर ठूलो आवाज निकालिन्छ,’ बैजनाथ सामुदायिक संस्थाका अध्यक्ष बहादुर सिंह महराले भने, ‘आवाज सुनेपछि स्थानीय बासिन्दा सतर्क रहेर बालीनालीसँगै ज्यान जोगाउन सजक हुन्छन् ।’
साइरन बजाउनका लागि एक कर्मचारीको व्यवस्था गरिएको छ । साइरनको आवाज तीन किलोमिटरसम्म सुन्न सकिन्छ । ‘साइरनको आवाजले हात्तीसमेत तर्सेर भाग्छ,’ अध्यक्ष महराले भने, ‘हात्तीको बथानले घर लगायतको भौतिक पूर्वाधारमा समेत क्षति पुर्याउन पाउँदैन ।’
सामुदायिक वन समन्वय समिति (सिएफसिसी) वाणी र तराई भूपरिधि कार्यक्रम (ताल)को सहयोगमा जंगली हात्ती नियन्त्रण पूर्व सूचना प्रणाली अन्तर्गत साइरन जडान गरिएको हो ।साइरन नगरपालिकाको बेलडाँडी, मणिकाधाम टोल, पारिफाँटालगायत तीन ठाउँमा जडान गरिएको छ ।
भारतको दुधुवा नेशनलपार्क हुँदै चुरे क्षेत्रसम्म आइपुग्ने जंगली हात्तीको बथानले स्थानीय किसानको खेतमा लगाइएको अन्नबाली खानाका साथै प्रतिवर्ष मानवीय र भौतिक क्षति पुर्याउँदै आएको छ । साइरन जडानले जंगली हात्तीका कारण हुने क्षति न्यूनीकरणमा टेवा पुग्ने बताइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij