वेबटिभी खबर
काठमाडौं । मध्य तराईमा केही दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन प्रभावित बन्न थालेको छ । वैशाख महिनाको पहिलो सातादेखि नै उच्च गर्मी हुन थालेपछि यहाँका नागरिकहरूको दैनिकी प्रभावित बन्न थालको हो ।
गर्मीका कारण यस क्षेत्रका मानिसहरू अत्यावश्यक कामबाहेक बाहिर निस्कन छाडेका छन् । जसका कारण बजार क्षेत्र सुनसान देखिन थालेको छ । गर्मीका कारण किरा फट्याङ्ग्राले बालीनाली सखाप पार्ने चिन्तामा समेत किसान रहेका छन् ।
पछिल्लो केही वर्षयता जाडोयाममा अत्याधिक जाडो र गर्मीयाममा अत्याधिक गर्मी हुने भएकाले महोत्तरीलगायत मध्य तराईका जिल्लाको जनजीवन प्रभावित बन्दै गएको स्थानीय युवा विजय दासले बताए ।
उनकाअनुसार तापक्रमको अस्वभाविक घटबढले जनजीवनमा मात्रै परिवर्तन ल्याएको छैन अन्न उत्पादन समेत घटेको छ । महोत्तरी किसानगरका अब्दुल रसिदले किरा फट्याङ्ग्रा प्रकोपले बालीनालीमा यति ठूलो ह्रास आउँछ भन्ने नसोचेको बताए ।
गर्मीमा किरा लाग्ने र किसानले किरा मार्न रासायनिक मल तथा औषधि प्रयोगले गर्ने भएका कारण त्यसले स्वास्थ्यमासमेत गम्भीर असर परिरहेको उनको बुझाइ छ । तापक्रममा भइरहेको अस्वभाविक परिवर्तनले महोत्तरीमा प्राकृतिक विपत्तिको जोखिम पनि बढिरहेको छ । अस्वभाविक बर्षाद कै कारण बाढीपहिरो तथा डुबानको समस्या भइरहेको छ ।
जलवायु परिवर्तनको असर धमाधम सर्वसाधारणमा देखिन थालेपछि विज्ञहरुको सुझावअनुसार हरित अभियान सञ्चालन गरिएको छ । महोत्तरीका जनप्रतिनिधि तथा संघीय संसद गिरिराजमणि पोखरेलले महोत्तरीमा करिब एक लाख बिरुवा रोप्ने अभियान चलाएको बताए ।
बस्ती बढेसँगै अहिले महोत्तरीका हरिया जङ्गल अतिक्रमण हुन थालेका छन् । भू-माफियाको चलखेलले सामुदायिक वन क्षेत्रसमेत धमाधम अतिक्रमण गरेर बस्ती बस्न थालेको छ ।
मानवीय क्रियाकलाप कै कारण जलवायु परिवर्तनमा व्यापक हेरफेर भएको र यसलाइ न्यूनिकरणको लागि वृक्षारोपण तथा मानवका नकारात्मक क्रियाकलाप कम हुनु पर्ने विज्ञहरूको सल्लाह सुझाव रहेको नगरप्रमुख विदुर कार्की बताउँछन् ।
एक तथ्यांकअनुसार महोत्तरीको २० बर्षको तापक्रम हेर्दा अधिकतम तापक्रम र सामान्य तापक्रममा ६ डिग्री सेन्टिग्रेडको फरक पाइएको छ ।
वैज्ञानिकहरूले पृथ्वीको तापक्रम वृद्धि औद्योगिक क्रान्तिको बेलाको स्तरभन्दा १.५ डिग्री सेल्सियस मात्र बढी हुनुपर्ने सुझाव दिए पनि संसारमा हाल त्यो सीमाभन्दा निकै बढी (तीन डिग्री सेल्सियस) भइरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij